यतिसम्म कि, आयोजना विस्तारका लागि यसअघि तीन पटकसम्म म्याद थप गरिए पनि निर्माण कार्य पूरा हुन सकेन् । तेस्रो पटक थपिएको म्याद भित्र सडक विस्तारको काम नसकिएपछि आयोजनाको म्याद चौथोपटक थपिएको छ । थपिएको म्याद २०८३ असार १५ सम्म रहे पनि सडक विस्तार कार्य नसकिएपछि चौथो पटक म्याद थप गरिएको हो ।

अब आयोजना सम्पन्न गर्ने अन्तिम समय सीमा आगामी मङ्सिर १० गते सम्म तोकिएको आयोजनाले जनाएको छ । तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८.७१ किलोमिटर लामो यस खण्डको हालसम्मको भौतिक प्रगति ८२.३७ प्रतिशत रहेको छ ।
कहिले कहिले थपिएको थियो म्याद ?
उक्त सडकखण्डको निर्माणको जिम्मा चिनियाँ कम्पनी ’यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन’ ले पाएको थियो । कुल ७ अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको उक्त सडकखण्ड निर्माणको काम २०७८ भदौ १२ देखि सुरु भएको थियो ।
तीन वर्षमा सम्पनन गर्ने सम्झौता भए पनि विभिन्न कारणले आयोजना निर्माणमा ढिलाई हुँदै गयो । फलतः निर्माण व्यवसायीले म्याद थपको अस्त्र अघि सार्दै गयो ।
निर्माण व्यवसायीले पहिलो पटक १०१ दिन म्याद थप गरेका थिए । उक्त म्याद २०८१ मंसिर २१ मा सकिएको थियो । दोस्रो पटक ३९० दिनका लागि थपिएको म्याद २०८२ पुस १६ पनि गुज्रिसक्यो । दोस्रो म्याद थपिँदा पनि निर्माण कार्य पूरा नभएपछि तेस्रो पटकका लागि २०८३ असार १५ सम्म म्याद थपिएको छ ।
मुग्लिन–पोखराखण्डको पश्चिमखण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, हालसम्म मुख्य सडकको अधिकांश भागमा कालोपत्रे भइसकेको छ । दोस्रो तहको कालोपत्रे ३४ किलोमिटर सकिएको छ भने ६ किलोमिटर मात्र बाँकी छ । त्यस्तै, १२ वटा पुलमध्ये ११ वटाको निर्माण सम्पन्न भइसकेको छ ।
तर, सर्भिस लेन र सडक सुरक्षाका कामहरू अझै बाँकी छन् । कुल ३६ किलोमिटर सर्भिस लेनमध्ये हालसम्म ६ किलोमिटर मात्र पूरा भएको छ । पोखरा विश्वविद्यालय अगाडिको एकतर्फी कालोपत्रे र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सर्भिस लेन निर्माण अझै प्रभावित छ । अहिले करिब १० किलोमिटर सर्भिस लेन, ट्राफिक सुरक्षा संरचना, सडक मार्किङ र ’डब्लु बिम रोड सेफ्टी ब्यारियर’ जडानको काम तीव्र पारिएको आयोजनाले जनाएको छ ।
किन भइरहेको छ ढिलाइ ?
आयोजनाले निर्माण कार्य सुस्त हुनुमा मुख्यतया बाह्य र प्राविधिक कारणहरूलाई जिम्मेवार ठहर्याएको छ । पोखरा विमानस्थल क्षेत्रका विद्युतीय पोल स्थानान्तरण हुन नसक्नु, खानेपानीका पाइप हटाउन समस्या, सेती पुलको उत्तरी क्षेत्रमा पर्ने मगर समाज लगायतका तीनवटा घर भत्काउन नसक्दा काम रोकिएको आयोजनाले जनाएको छ ।
त्यस्तैगरी,वर्षात्, मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पनि कामको गति प्रभावित भएको आयोजनाको भनाइ छ ।
सेती पुल निर्माणमा पनि समस्या
आयोजनाअन्तर्गत छुट्टै विशिष्ट संरचनाका रूपमा रहेको सेती पुलको निर्माण कार्य पनि जारी छ । जसमध्ये सेती पुल निर्माणमा पनि उस्तै ढिलासुस्ती देखिएको छ ।
कुल १ अर्ब ७ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको यस पुलको हालसम्म ६५ प्रतिशत काम सकिएको छ । यो पुल २०८३ वैशाख २१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि हालसम्म पनि पूरा हुन सकेको छ्न ।
अब म्याद नथपिने चेतावनी
आयोजना प्रमुख कुँवरले अहिले थपिएको मङ्सिर १० गतेसम्मको समय अन्तिम भएको र अब म्याद थप नहुने बताएका छन् । ‘धेरै काम बाँकी नरहेकाले तोकिएको समयमा सम्पन्न गर्न निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ,’ उनले भने ।
पोखरालाई काठमाडौँसँग जोड्ने यो लाइफलाइन सडकको विस्तारले यात्रा सहज बनाउने अपेक्षा गरिए पनि बारम्बारको ढिलाइले सर्वसाधारण र व्यवसायीहरूलाई भने सास्ती भइरहेको छ ।