विगतका वर्षहरूमा निश्चित अङ्क (क्याप) तोकेर शेयर धितो कर्जा नियन्त्रण गर्दै आएको केन्द्रीय बैंकले यसपटक ‘कम्पनीको स्वास्थ्य र सुशासन’लाई आधार बनाएर सीमा तय गर्ने रणनीतिक बाटो रोजेको छ। तर, राष्ट्र बैंकको यो ‘पुरस्कार र दण्ड’ को नीतिलाई लगानीकर्ताले तत्कालका लागि भने सहजै पचाएनन्।

मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टै साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३०.०९ अंकको गिरावट आएको छ। १.१३ प्रतिशतले घटेर नेप्से परिसूचक २,६२१.५९ बिन्दुमा झर्दा बजारमा ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। आजको बजारको यो प्रवृत्तिले राष्ट्र बैंकको नीतिप्रति लगानीकर्ताहरू उत्साहित हुनुभन्दा पनि ‘पर्ख र हेर’ को मुडमा रहेको स्पष्ट देखिन्छ।
यसअघि राष्ट्र बैंकले व्यक्तिगत र संस्थागतका लागि सीमा तोकेको थियो। तर, यसपटकको मौद्रिक नीतिमा अङ्क तोकिएको छैन। बरु, "बैंक तथा वित्तीय संस्थाको सबलता र संस्थागत सुशासनका आधारमा शेयर धितो कर्जाको सीमालाई पुनरावलोकन गरिनेछ," भन्ने वाक्यांश प्रयोग गरिएको छ।
यसको अर्थ राष्ट्र बैंकले अब 'सेलेक्टिभ' नीति अपनाउँदैछ। राष्ट्र बैंककका प्रवक्त गुरु प्रसाद पौडेल भन्छन् "हामीले संस्थागत सबलता भन्दाखेरि जुन कम्पनीको शेयर धितो राखिन्छ, त्यसको गुणस्तर भन्न खोजेका हौँ । एलटीभी (LTV) रेसियो र जोखिम भारको सन्दर्भमा अब कम्पनीको नेटवर्थ, लाभांश इतिहास र सुशासन हेरिनेछ ।"
यसको अर्थ, यदि तपाईंले नबिल बैंक वा एभरेष्ट बैंक जस्ता 'ब्लू चिप' कम्पनीको शेयर धितो राख्नुभयो भने तपाईंले बढी ऋण (High LTV) र कम जोखिम भारको सुविधा पाउन सक्नुहुनेछ। तर, यदि वित्तीय अवस्था नाजुक भएका वा भर्खरै आएका कमजोर हाइड्रोपावर वा अन्य कम्पनीको शेयर धितो राख्नुभयो भने राष्ट्र बैंकले त्यसमा कसिलो नीति (Low LTV) अपनाउनेछ। प्रवक्ताको यो भनाइले बजारलाई एउटा सन्देश दिएको छ—"अब जस्तोसुकै कम्पनीमा आँखा चिम्लेर लगानी गर्ने र त्यसकै भरमा ऋण चलाउने दिन गए ।"
मौद्रिक नीतिले ७ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्य राखेको छ भने मुद्रास्फीतिलाई ५.५ प्रतिशतमा सीमित गर्ने अठोट लिएको छ। समग्रमा मौद्रिक नीति लचिलो देखिए पनि शेयर बजारका लगानीकर्ताले प्रत्यक्ष लाभको अपेक्षा गरेका थिए। तर, राष्ट्र बैंकले प्राविधिक विषयहरूलाई अझै ‘सर्कुलर’ वा एकीकृत निर्देशनमार्फत सम्बोधन गर्ने भनेर थाँती राखेपछि बजारमा त्यसको नकारात्मक प्रभाव देखियो।
आजको कारोबारमा नेप्सेमा सूचीकृत २६२ मध्ये २४७ कम्पनीको शेयर मूल्य घटेको छ भने मात्र २५ कम्पनीको मूल्य बढेको छ। बैंकिङ उप–सूचक १७.१२ अंकले घट्दा जलविद्युत उप–सूचकमा ६२.७८ अंकको पहिरो गएको छ। विकास बैंक र फाइनान्स कम्पनीहरूमा क्रमशः १.४६ र १.४३ प्रतिशतको गिरावट आउनुले साना लगानीकर्ताहरू बढी त्रसित भएको संकेत गर्छ।
अहिले शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत छ। राष्ट्र बैंकले नीतिगत दरलाई सन्तुलित राख्न खोजेको मौद्रिक नीतिबाट देखिन्छ। तर, आजको बजारले यो संकेतलाई सकारात्मक भन्दा पनि ‘अनिश्चितता’को रूपमा बुझेको देखिन्छ।
हिजोको मौद्रिक नीतिले "एउटै लौरोले सबैलाई बाँध्ने" विगतको परम्परालाई तोडेको छ। यो नीतिले राम्रो प्रदर्शन गरिरहेका सूचीकृत कम्पनीहरुको शेयर बजारमा बढी कर्जा दिन बाटो खोलिदिने सम्भावना छ। तर, यसले कमजोर र सुशासन नभएका कम्पनीहरुलाई झन् समस्यामा पार्न सक्छ।
अहिले नेप्सेमा हाइड्रोपावर क्षेत्रको कारोबार उच्च छ। जसले बजारमा अझै पनि अल्पकालीन लगानी हाबी रहेको देखाउँछ। तर तीनको वित्तीय अबस्था त्यति राम्रो देखिदैन। जसले ऋण क्षमता पनि घटाउन सक्छ। यहि कारण संस्थागत लगानीकर्ता र ठूला खेलाडीहरू अहिले राष्ट्र बैंकले जारी गर्ने एकीकृत निर्देशनको प्रतिक्षामा छन्। जबसम्म सर्कुलरमार्फत कर्जाको ठोस अंक तोकिँदैन, तबसम्म बजारमा यस्तै अस्थिरता कायम रहने विश्लेषकहरूको ठम्याई छ।
मौद्रिक नीतिले नयाँ बाटो देखाएको छ। तर गन्तव्य भने अब आउने निर्देशनहरूले तय गर्नेछन्।
अहिलेको ३० अंकको गिरावटलाई धेरै लगानीकर्ताले ‘प्रि–पोलिसी प्रोफिट बुकिङ’ र केही संशयको उपजका रूपमा लिएका छन्। ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र ५.५ प्रतिशतको मुद्रास्फीतिको प्रक्षेपणले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको देखाउँछ, जुन शेयर बजारका लागि दीर्घकालीन रूपमा सुखद खबर हो। तर, आजको रातो रंगले लगानीकर्तालाई एउटा कुरा प्रष्ट भनिदिएको छ– "अब जस्तोसुकै कम्पनीमा आँखा चिम्लेर लगानी गर्ने र त्यसकै भरमा ऋण चलाउने दिन गए ।"