हिजोका शासकहरु सडकमा पुगे, सडकका ‘जेन्जी’हरु सत्तामा पुगे । तर, भूईं मान्छेको नियति परिवर्तन भएन । परिणाम ! प्रेम प्रसादको ‘दूर्भाग्यपूर्ण उत्तराधिकारी’ बन्न गणेश नेपाली वाध्य भए ।
यो केवल प्रेमप्रसादको आत्मदाहबाट प्रेरित ‘कपी क्याट’ घटना हो कि नेपालको शहरी क्षेत्रमा केही दशक यता फैलिइरहेको ‘गिग इकोनोमी’ को असफलताको गम्भिर संकेत हो ? यसबारेमा गम्भीर विश्लेषणसहित उचित उपाय ननिकालेसम्म न नेपालको आर्थिक समस्याको समाधान हुन सक्छ, न त प्रेमप्रसाद र गणेश नेपालीको घटनाको चुरो पत्ता लाग्न सक्छ ।
के हो गिग इकोनोमी ?
गिग इकोनोमी (Gig Economy) यस्तो आर्थिक प्रणाली हो, जहाँ स्थायी जागिरको सट्टा अस्थायी, अल्पकालीन वा स्वतन्त्ररूपमा काम (Freelance Work) गर्ने चलन हुन्छ ।
यसलाई सजिलो भाषामा काम अनुसार दामको व्यवस्था भन्न सकिन्छ । यसमा कामदार र रोजगारदाता कम्पनीबीच कुनै दीर्घकालीन सम्झौता हुँदैन । जब काम चाहिन्छ, कम्पनीले कामदार खोज्छ र काम सकिएपछि सम्बन्ध सकिन्छ।
जस्तो कि पठाओ वा इनड्राइभरका राइडरहरूलाई लिन सकिन्छ, उनीहरू कम्पनीका स्थायी कर्मचारी होइनन्, महिना मरेपछि तलब पाउँदैनन् । उनीहरूले मन लागेको बेला काम गर्छन्, मन नलागेको बेला एप बन्द गरेर बस्छन् ।
यसमा राइड शेयरिङ मात्र पर्दैन, अनलाइन ट्युसन पढाउने, वेबसाइट डिजाइनर, कन्टेन्ट क्रिएटर, भिडियो एनिमेसन गर्नेदेखि घरको प्लम्बिङ र डेलिभरी गर्नेसम्मका कामहरू यसमा पर्छन्।
गिग इकोनोमीका मुख्य विशेषता
लचिलोपन
कामदार आफ्नै मालिक आफैं जस्ता हुन्छन् । कुन काम कति समय गर्ने भन्ने निर्णय उनीहरू आफैंले गर्छन् ।
डिजिटल माध्यम
यो अर्थतन्त्र पूर्णरूपमा प्रविधि र मोबाइल एपमा टिकेको हुन्छ। काम दिने र काम गर्ने दुवै पक्षलाई डिजिटल प्लेटफर्मले जोड्छ ।
के त्रिपुरेश्वर घटना गिग इकोनोमीको लागि खतराको संकेत हो ?
भूतपूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाका मुख्य आर्थिक सल्लाहकार तथा प्रिन्स्टन विश्वविद्यालयका प्रसिद्ध श्रम अर्थशास्त्री विज्ञ प्रा. एलन क्रुगर (Alan Krueger) भन्छन्ः
गिग वर्कको सफलता यसको लचिलोपनमा छ, जहाँ मानिसहरू आफ्नो समयको मालिक आफैं हुन्छन्। तर यसको ठूलो असफलता भनेको आयको अस्थिरता हो । नियमित आम्दानी नहुँदा र स्वास्थ्य बीमा जस्ता आधारभूत अधिकार नपाउँदा कामदारहरूमा क्रोनिक डिप्रेसन र मनोवैज्ञानिक समस्या तीव्ररूपमा बढ्छ ।
नेपालमा विगविगी मच्चाएका ‘कपी क्याट इकोनोमिष्ट’ हरुले स्वीकार गरुन, नगरुन विहिबार राइडर गणेश नेपालीले गरेको आत्मदाहको प्रयास पनि अर्थशास्त्री विज्ञ प्रा. एलन क्रुगरले भनेझैं नेपालको गिग इकोनोमीका लागि एउटा गम्भीर र डरलाग्दो खतराको संकेत हो ।
यो घटना केवल महानगर प्रहरी वा ट्राफिक प्रहरीको दादागिरीबाट पीडित युवकमा उत्पन्न भएको व्यक्तिगत आक्रोश मात्र होइन, यो प्रविधिको आडमा फस्टाइरहेको तर भित्रभित्रै खोक्रो बन्दै गएको हाम्रो श्रम बजारको अदृश्य संकटको विस्फोट हो ।
गिग इकोनोमीका लागि यो घटना किन खतराको संकेत हो भन्ने कुरालाई निम्न बुँदाहरूले प्रष्ट पार्छन्:
आकर्षक लचिलोपन भित्र लुकेको चर्को मानसिक तनाव
गिग इकोनोमीलाई संसारभरि नै आफ्नो समयमा काम गर्न पाइने, स्वतन्त्र भइने भनेर बजारमा रुचाइयो । तर त्रिपुरेश्वरको घटनाले के देखायो भने, यो स्वतन्त्रताभित्र चरम असुरक्षा र मानसिक दबाब लुकेको छ।
यहाँ कामदारको कुनै निश्चित मासिक तलब हुँदैन। उनीहरू दैनिक कमाइ र दैनिक खर्चको चक्रमा हुन्छन् । ती युवाको बाइकको ह्वील लक हुनुको अर्थ शायद उनको त्यो दिनको चुल्हो बल्ने बाटो बन्द हुनु र बेलुका तिर्नुपर्ने बाइकको किस्ता वा कोठाभाडा रोकिनु थियो । यो आर्थिक अनिश्चितताले युवाहरूलाई कुन हदसम्म मानसिक आवेगमा पुर्यायउन सक्छ भन्ने कुराको यो सबैभन्दा ठूलो प्रमाण हो । अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) काअनुसार यस्तो असुरक्षित श्रममा रहेका युवाहरूमा डिप्रेसन र एन्जाइटीको दर स्थापित जागिर भएकाहरूमा भन्दा ३ गुणा बढी छ । र, यो निरन्तर बढ्दो छ । त्यसको असर नेपाली युवाहरुमा पनि कति डरलाग्दोसंग देखिदैछ भन्ने कुराको प्रमाण त्रिपुरेश्वर घटना हो ।
संस्थागत अभिभावकत्वको पूर्ण अभाव
यदि कुनै बैंक, विद्यालय वा स्थापित कम्पनीमा काम गर्ने कर्मचारीलाई सडकमा गुड्दागुड्दै केही समस्या पर्यो वा अन्याय भयो भने उसको पक्षमा बोल्ने एउटा संस्था वा मानव संशाधन (HR) विभाग हुन्छ। तर गिग इकोनोमीमा त्यस्तो केही हुंदैन । सडकमा प्रहरीसँग विवाद हुँदा, दुर्घटना हुँदा वा बिरामी पर्दा उनीहरू पूर्ण रूपमा एक्लो हुन्छन् । कम्पनीले उनीहरू हाम्रा स्थायी कर्मचारी होइनन्, स्वतन्त्र साझेदार हुन् भनेर सजिलै हात झिकिदिन्छ ।
राज्यका नियामक निकायहरूको अनुदार दृष्टिकोण
काठमाडौँ महानगरपालिका वा ट्राफिक प्रहरीले अनौपचारिक क्षेत्रका यी कामदारहरूलाई व्यवस्थित गर्नुको सट्टा अपराधी वा सडकका शत्रु जस्तो व्यवहार गर्दा राज्य र युवा श्रम शक्तिबीच मुठभेडको स्थिति सिर्जना भएको छ । त्रिपुरेश्वरको आगो त्यही मुठभेड र राज्यको असंवेदनशीलताको उपज हो ।
‘कपी क्याट’ विद्रोहको जोखिम
यो घटना गिग इकोनोमीका लागि यसकारण पनि खतराको संकेत हो कि नेपालमा यसअघि व्यवसायी प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहपछि राज्यले केही नीतिगत सुधार गर्ने आश्वासन दिए पनि त्यो व्यवहारमा लागू हुन सकेन । खासगरि साना व्यवसायी र श्रमजीवीको अवस्था सुध्रिएन । अब सडकमा दुःख पाइरहेका मानिसहरु शान्तिपूर्णरूपमा कुरा सुनिँदैन, आफैलाई सिध्याएपछि मात्र राज्यको ध्यान जान्छ भन्ने गलत र आत्मघाती भाष्य स्थापित हुने जोखिम बढेको छ ।
सहकारी ठगी, मिटरब्याजीहरूको धम्की, र बैंकको चर्को ब्याजदर सहन नसक्दा मानिसहरू चरम मानसिक तनावमा छन् ।
व्यवसायिक असफलता र बेरोजगारी
लगानी डुब्नु, व्यापार ठप्प हुनु र युवाहरूले सोचे जस्तो रोजगारी नपाउँदा उत्पन्न हुने क्रोनिक डिप्रेसनले आत्मघाती निर्णयतर्फ धकेलिरहेको छ।
प्रेम प्रसाद र गणेश नेपाली थप नजन्मिन चाल्नु पर्ने कदम
यदि गिग इकोनोमीलाई नेपालमा मर्यादित र सुरक्षित बनाउने हो भने अब पुरानो तरिकाले चल्दैन।
तत्काल केही सुधार गर्नु आवश्यक छ:
श्रम ऐनमा संशोधनस् राइड शेयरिङ वा डेलिभरी कम्पनी लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको उनीहरूको न्यूनतम कार्यघन्टा, स्वास्थ्य बीमा र दुर्घटना बीमाको ग्यारेन्टी कम्पनीले नै गर्नुपर्ने कानुनी बाध्यता राज्यले बनाउनुपर्छ।
सडकमा मानवीय व्यवहार
ट्राफिक वा नगर प्रहरीले नियम मिच्ने राइडरलाई कारबाही गर्दा जरिवानाको रसिद काट्ने वा प्रविधिको प्रयोग गर्ने हो, सडकमै उनको गरीखाने भाँडो (सवारी साधन) खोसेर वा लक गरेर अपमानित गर्ने होइन । नियममा मानवीय संवेदनशीलता थपिनुपर्छ।
अनौपचारिक क्षेत्रमा रहेका यी लाखौँ युवाहरूलाई राज्यको सामाजिक सुरक्षा कोषमा अनिवार्य समेट्नुपर्छ, ताकि उनीहरूमा भोलि मेरो जीवन संकटमा परे राज्य छ भन्ने भरोसा रहोस्।
सबैभन्दा महत्वपूर्ण कुरा आर्थिक काउन्सिलिङ हो ।
बैंक, वित्तीय संस्था वा राज्यले ऋण प्रवाह गर्दा वा व्यवसाय डुब्ने अवस्थामा पुग्दा आर्थिक पुनर्उत्थान र मनोपरामर्श दिने संयन्त्र बनाउनुपर्छ ।
आर्थिक संकटमा परेका व्यक्तिहरूलाई बेलैमा पहिचान गरी उनीहरूलाई डिप्रेसनबाट जोगाउन हटलाइन र परामर्श केन्द्रहरू स्थानीय तहसम्म विस्तार गरिनुपर्छ ।
निष्कर्ष:
त्रिपुरेश्वरको घटनाले गिग इकोनोमीको सुन्दर चमकभित्र लुकेको एउटा कुरुप सामाजिक आर्थिक वास्तविकतालाई नाँगो पारिदिएको छ। संगसंगै ‘कपी क्याट इकोनोमिष्ट’ हरुको त्यस्तो क्रुर अनुहारलाई पनि छर्लंग पारेको छ, जो अर्थतन्त्रको सूक्ष्म विश्लेषण गरेर समस्या समाधानको लागि पहल गर्ने वा राज्य संयन्त्रलाई दबाब दिने हैसियत राख्दैन, केवल कहिले ओली—देउवा, प्रचण्डहरु त कहिले बालेन—रवि—सुधनहरुको चाकरी गरेर नियुक्ति लिन वा सामाजिक संजालमा १० थरि ‘विज्ञ’ भन्दै भाइरल बन्न तथ्यतथ्याँकहरुमाथि खेलवाड गर्छ । राजनीतिक नेतृत्वलाई खबरदारी गर्नुको साटो नियुक्ति पाउने लालसामा वौद्धिकतालाई बन्धकी राखेर तथ्यहरु तोडमरोड गरेर विकास प्रकृयामै धमिलो पानी बगाउन खोज्छन्, मुख्य दोषी त त्यस्ता ‘कपी क्याट अर्थशास्त्री’ र वौद्धिक भनिनेहरुको जमात हो ।
त्यसैले ‘कपी क्याट अर्थशास्त्री’लाई निषेध गर्दै यदि समयमै कम्पनी र राज्यले यी युवाहरूको आर्थिक र मानसिक सुरक्षाको ग्यारेन्टी गरेनन् भने, यो प्लेटफर्म अर्थतन्त्र देशका युवाहरूलाई रोजगारी दिने थलो होइन, बरु चरम निराशा र विद्रोह जन्माउने कारखाना बन्ने खतरा निश्चित छ। त्यो अवस्था आउन नदिन राज्यले हरेक नागरिकको आर्थिक अवस्था र मानसिक स्वास्थ्य दुवैको सुरक्षा गर्न ढिला गर्नु हुँदैन।
( यी बिचार लेखकका निजी हुन् )