चीनमा विद्युतीय कारमै रात बिताउने नयाँ ट्रेन्ड, होटलको खर्च जोगाउँदै

Jul 26, 2026 05:17 PM Merolagani



आर्थिक शिथिलताका बीच चीनका युवाहरू महँगा विदेश भ्रमण र पाँचतारे होटलको साटो सातान्तमा कार-क्याम्पिङलाई सस्तो र रोमाञ्चक विकल्पका रूपमा रोज्न थालेका छन्। बजेटप्रति सचेत चिनियाँ पर्यटकहरूले होटलको महँगो भाडा तिर्नुको साटो प्रविधियुक्त विद्युतीय गाडीलाई नै गुड्ने बेडरुम बनाएपछि यसले चीनमा अर्बौँ डलरको नयाँ क्याम्पिङ अर्थतन्त्र जन्माएको छ।

उत्तरी चीनको हेबेई प्रान्तका जुन्या झेन र जी कुई दम्पतीले सन् २०२३ मा शिक्षण पेसा छाडेर देश भ्रमणको यात्रा सुरु गरे। यो जोडी महिनाौँदेखि चिनियाँ कार निर्माता कम्पनी ग्रेट वाल मोटरको हाइब्रिड एसयूभी 'वेय लानशान' मा नै सुत्ने र यात्रा गर्ने गरिरहेको छ। उनीहरू आफ्नो यो अनोखा सडक यात्रा र कार-क्याम्पिङका गतिविधि सोसल मिडियामा सेयर गर्छन्।

दिनको समयमा निरन्तर यात्रामा रहने यो जोडी गाडी चलाउँदा चलाउँदै लाइभस्ट्रिम गर्छ, बाटोमै दिउँसोको खाना पकाउँछ र कारको पछिल्लो सिटलाई सम्म पारेर आरामदायी ओछ्यान बनाई विश्राम गर्छ। दक्षिण-पश्चिम चीनको प्रसिद्ध पर्यटकीय स्थल युन्नान प्रान्तदेखि तिब्बतका विकट क्षेत्रसम्म फैलिएको उनीहरूको जीवनशैलीलाई धेरैले मन पराएका छन्। चीनका लोकप्रिय सामाजिक सञ्जाल शियाओहोङशू र दोयिनमा उनीहरूका पाँच लाख ७० हजारभन्दा बढी फलोअर्स भइसकेका छन्।

यो नयाँ संस्कृतिले महँगा होटलको विकल्प मात्र दिएको छैन, अटोमोबाइल क्षेत्रमा गाडी बिक्रीको नयाँ आधार पनि खडा गरिदिएको छ। चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनीहरू बीवाईडी, ली अटो, नियो र एक्सपेंगले आफ्ना कारहरूमा भेहिकल-टु-लोड प्रविधि दिइरहेका छन्। यसबाट गाडीको ठूलो ब्याट्री एउटा विशाल पावर बैंकजस्तै काम गर्छ। कार धनीहरूले गाडीकै ब्याट्रीबाट इन्डक्सन चुलो, कफी मेकर, मिनी फ्रिज, प्रोजेक्टर र इलेक्ट्रिक ग्रिल सजिलै चलाउन सक्छन्।

विद्युतीय सवारीसाधनमा पाइने क्याम्पिङ मोड र ठूलो ब्याट्रीका कारण इन्जिन नचलाईकन रातभरि एसी वा हिटर चलाउन सम्भव भएको छ। यस ट्रेन्डले एउटा नयाँ व्यावसायिक वातावरण तयार पारेको छ, जसका कारण कारका लागि विशेष प्रकारका गद्दा, पछाडि जोड्न मिल्ने टेन्ट, बाहिरी सिनेमाका लागि प्रोजेक्टर र पट्याउन मिल्ने भान्साका सामानको बिक्रीमा उल्लेख्य वृद्धि भएको छ।

अहिले चीनमा कारहरू केवल गति वा दूरी तय गर्ने क्षमताका आधारमा मात्र नभई जीवनशैली र साहसिक यात्रामा कति उपयोगी छन् भन्ने आधारमा बिक्री भइरहेका छन्। चिनियाँ विद्युतीय कार कम्पनीहरूले यस कार-क्याम्पिङ संस्कृतिलाई नै आफ्नो विज्ञापनको मुख्य विषय बनाउन थालेका छन्।

 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।