रास्वपाले उक्त घटना र त्यसले निम्त्याएको तनावपूर्ण स्थितिप्रति सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको रास्वपा पार्टी सभापति रवि लामिछानले उल्लेख गरेका छन । घटनामा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनमा समवेदना प्रकट गरिएको छ। साथै, घटनामा घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
रास्वपाले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने आफ्नो स्पष्ट मान्यता रहेको बताएको छ। नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौँदेखिको सामाजिक सद्भाव रहेको बताइएको छ । सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न आम नागरिक, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गरेको छ।
रास्वपाले यस संवेदनशील परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न र स्थितिलाई सामान्यीकरण गर्न आफूहरू नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको जनाएको छ। पार्टीले घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न माग गरेको छ। साथै, पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
सभापति लामिछानेले यस दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गरेका छन्।