यस दिन नेप्से परिसूचक ७.७९ अंक घटेर २६८८.८८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।
नेप्सेजस्तै कारोबार रकमले पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४३ स्टकको ४८ हजार पटकको कारोबारमा ४ अर्ब २ करोड ९४ लाख रुपैयाँबराबरको ९७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलरको शेयरमूल्य निरन्तर आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य १२९ रुपैयाँ १० पैसा बढेर ९९० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन कालिन्चाेक हाइड्राेपावरकाे शेयरमूल्य करिब साढे १२ प्रतिशत बढेकाे छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन खानी खोला हाइड्रोपावरको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। बाँकी ११ उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।