यी दुई प्रतिस्पर्धी संस्थाले एउटै प्रदर्शनीस्थल भृकुटीमण्डपमा १५ दिनको अन्तरमा दुई वटा ठूला अटो मेला आयोजना गर्ने भएपछि बजारमा 'अब्बल' देखाउने होडबाजी स्पष्ट देखिएको छ। मुख्य सवारी आयातकर्ताहरूको समूह नाडाबाट बाहिरिएर नाइमा गठन भएपछि यी दुई संस्थाबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको थियो। अहिले आएर दुवै संस्थाले करिब एकै समयमा गाडीको कुम्भमेला आयोजना गरेर आफ्नो व्यावसायिक शक्ति प्रदर्शन गर्न लागेका छन्।
नाइमाको रणनीति: नाडाभन्दा पहिले नै मेला
नाडाबाट फुटेर बनेको नाइमाले आफ्नो पहिलो कार्यक्रम नै नाडाको वार्षिक अटो शोभन्दा १५ दिन अगाडि आयोजना गर्ने रणनीति लिएको छ। नाइमाले साउन २६ देखि ३२ गतेसम्म 'नाइमा मोबिलिटी एक्स्पो २०२६' आयोजना गर्दैछ। नाडाको नियमित शोभन्दा पहिले नै मेला गर्दा गाडी खरिद गर्न चाहने ग्राहकको पूँजी र ध्यान आफूतिर खिच्न सकिने नाइमाको बुझाइ देखिन्छ।

नाइमाले यस मेलामा भविष्यको प्रविधि र ४० वटा नयाँ मोडल सार्वजनिक गर्ने दाबी गरेको छ। जसमा ५५ वटा ब्रान्डका सवारी साधन र ५२ वटा स्टल रहने जानकारी दिएको छ। नयाँ ब्रान्ड र ईभी गाडीहरूको बाहुल्यता रहेको यस मेलाले आफूलाई आधुनिक र प्रविधिमैत्री देखाउन खोजेको छ।
नाडाको जवाफ: ५० वर्षको विरासत र 'स्वर्ण वर्ष'को तामझाम
पाँच दशक लामो इतिहास बोकेको नाडाले भने आगामी भदौ ९ देखि १४ गतेसम्म आफ्नो १८औं संस्करणको 'नाडा अटो शो २०२६' आयोजना गर्दैछ। आफ्नो स्थापनाको ५०औं वर्ष (स्वर्ण वर्ष) मनाइरहेको नाडाले विरासत र उपभोक्ताको भरोसालाई मुख्य हतियार बनाएको छ।
नाडाले डिजिटल टिकेटिङमा ५० प्रतिशतसम्मको 'अर्ली बर्ड' छुट दिएर उपभोक्तालाई आकर्षित गर्ने योजना बनाएको छ। लुब्रिकेन्ट्स, पार्टपुर्जा र टायर कम्पनीहरूको ठूलो हिस्सा अझै पनि नाडामै आवद्ध रहेकाले आफ्नो मेला नै आधिकारिक र पूर्ण भएको नाडाको तर्क छ।
अस्तित्वको लडाइँ र प्रतिष्ठाको होड
अटोमोवाइल क्षेत्रका जानकारहरूका अनुसार यो केवल गाडीको प्रदर्शनी मात्र नभएर कुन संस्था वास्तविक रूपमा अटो बजारको नेतृत्वकर्ता हो भन्ने देखाउने 'प्रतिष्ठाको लडाइँ' हो। नाइमाले नाडाभन्दा पहिले नै मेला गरेर नाडाको आकर्षण घटाउन खोजेको छ भने नाडाले भव्य आयोजनामार्फत आफ्नो वर्चस्व कायमै रहेको सन्देश दिन चाहेको छ।
एउटै प्रकृतिका दुई संस्थाले छोटो समयमै छुट्टाछुट्टै मेला गर्दा अटोमोवाइल कम्पनीहरूको बजार हिस्सा (शेयर) र लगानीकर्ताको पूँजी बाँडिने जोखिम समेत बढेको छ। व्यवसायीहरूबीचको यो खिचातानीले उपभोक्तालाई धेरै विकल्प र अफर त दिएको छ, तर सानो नेपाली बजारमा दुईवटा ठूला अटो मेला कत्तिको व्यावहारिक र सफल होलान् भन्ने चासो सर्वत्र बढेको छ। भृकुटीमण्डपको एउटै मैदानमा १५ दिनभित्रै हुने यी दुई मेलाले कुन संस्थाको पल्ला भारी हुन्छ, त्यो भने मेलाको समापनपछि मात्र प्रस्ट हुने देखिने छ।