यसअघि इन्ड्राइभले माग सम्बोधन गर्न तयार भएकाले छलफलमा बोलाए पनि माग सम्बोधन नभएको भन्दै उनीहरु पुनः आन्दोलित भएका हुन् ।
वैज्ञानिक भाडादर निर्धारण र श्रम शोषण अन्त्यको माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभका चालक तथा राइडरहरू आन्दोलनमा उत्रिएका हुन् ।
स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा चालकहरूले राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत सुधार, उचित पारिश्रमिक र श्रमिकको हकहित तथा संरक्षण सुनिश्चित गर्न माग गरेका छन्।
चालकहरूले डिजिटल राइड–सेयरिङ क्षेत्रमा वैज्ञानिक तथा न्यायपूर्ण भाडादर कायम गर्नुपर्ने, श्रम शोषण तत्काल अन्त्य गर्नुपर्ने र चालक तथा राइडरको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।
आन्दोलनका क्रममा मंगलबार चालकहरूले काठमाडौंमा बाइक र्यालीसमेत निकालेका छन्। फाउन्डेसनले आफ्ना माग सम्बोधन गर्न सम्बन्धित निकाय र राइड सेयरिङ कम्पनीलाई दबाब दिने उद्देश्यले विरोध कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।