बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेटका नाममा ठगी गर्ने चार जनालाई पक्राउ

Aug 18, 2026 06:01 PM Merolagani



नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेटका नाममा ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन् ।

साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कल गर्ने गरेका थिए ।

उनीहरूले केवाइसी अपडेट गर्नुपर्ने भन्दै पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने, ओटीपी कोड प्राप्त गर्ने वा ओटीपी कोड माग्ने र त्यसका आधारमा पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम अन्य खातामा रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको छ ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।

प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी ओटीपी, पासवर्ड, पिन तथा अन्य संवेदनशील विवरण मागेमा उपलब्ध नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । रासस




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।