प्रधानमन्त्री बालेनकाे घुम्न गएकाे बिषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङको खम्पा गुम्बा दर्शनका लागि निजी भ्रमणमा गएको दाबी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै शाहीले यस्तो दाबी गरेका हुन्। उनले सो क्रममा मुस्ताङ भ्रमणलाई लिएर सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति आपत्ति समेत जनाएका छन्।
शाहीले निजी भ्रमणमा सुरक्षाकर्मीको ठूलो लावालस्कर लिएर हिँड्नैपर्ने आवश्यकता नरहेको बताए।
उनले प्रधानमन्त्रीको निजी भ्रमणलाई अनावश्यक रूपमा राजनीतिक विषय बनाउन नहुने धारणा व्यक्त गरे।
'प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो। निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन,' शाहीले भनेका छन्।
उनले प्रधानमन्त्रीलाई कम्तीमा केही समय आफ्नै निजी समय र व्यक्तिगत जीवनमा स्वतन्त्र रूपमा हिँड्डुल गर्न दिनुपर्ने बताएका छन्। हरेक विषयलाई राजनीतिक रंग दिएर प्रचार गर्नु आवश्यक नरहेको उनको भनाइ छ।