७ देखि १० वर्षसम्म टिक्ने दाबी गरिएको ‘वेदर कोट अल गार्ड’ (Weather Coat All Guard) रङ लगाएको केही महिनामै खुइलिएपछि परेको मुद्दामा अदालतले उपभोक्ताको पक्षमा यस्तो निर्णय सुनाएको हो।
मुद्दाको पृष्ठभूमि र उपभोक्ताको सास्ती
भक्तपुरका दीपक राज गिरी, सिद्धान्त श्रेष्ठ र दयाराम कार्कीले बर्जर पेन्ट्सको आकर्षक विज्ञापन र वारेन्टीको विश्वासमा परी आफ्नो घरमा महँगो रङ लगाएका थिए। कम्पनीले सार्वजनिक सञ्चार माध्यम, ब्यानर र सामाजिक सञ्जालमार्फत उक्त रङ घाम र पानीबाट सुरक्षित रहने र कम्तीमा ७ देखि १० वर्षसम्म वारेन्टी हुने दाबी गरेको थियो।
तर, विडम्बना ! रङ लगाएको ६ देखि ८ महिनाभित्रै घरका भित्ताहरूमा दाग देखिने, रङ खुइलिने र उप्किने समस्या देखियो। उपभोक्ताहरूले यसबारे डिलर र कम्पनीलाई पटक-पटक जानकारी गराउँदा पनि कम्पनीले ‘प्राविधिक टोली पठाएर मर्मत गरिदिने’ आश्वासन मात्र दियो, तर काम गरेन। उल्टै वारेन्टीको सर्त देखाउँदै जिम्मेवारीबाट पन्छिन खोजेपछि पीडित उपभोक्ताहरू न्यायका लागि काठमाडौँस्थित उपभोक्ता अदालत पुगेका थिए।

अदालतको ठहर: विज्ञापनमा एउटा, गुणस्तरमा अर्कै
उपभोक्ता अदालतका सदस्यद्वय गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले गरेको फैसलामा बर्जर पेन्ट्सले उपभोक्तालाई भ्रममा पारेको स्पष्ट उल्लेख छ। अदालतले प्रमाणको रूपमा पेश गरिएका तस्बिर, भिडियो र साक्षी रामकुमार सोनारको बकपत्रलाई मुख्य आधार मानेको छ।
फैसलामा भनिएको छ, "उत्पादक कम्पनीले बर्जरको रङ ७-१० वर्षसम्म राम्ररी चल्छ भनी विज्ञापन गरेको तर सो अनुसार गुणस्तर कायम नहुँदा उपभोक्तालाई प्रत्यक्ष हानी पुगेको देखिन्छ।" अदालतले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७ र ११ बमोजिम उत्पादकले वस्तुको गुणस्तर र वारेन्टीप्रति पूर्ण जिम्मेवार हुनुपर्ने ठहर गरेको छ।
भ्रामक विज्ञापन र कम्पनीको गैरजिम्मेवारी
मुद्दाको सुनुवाइका क्रममा बर्जर पेन्ट्सले आफ्नो बचाउ गर्दै डिलरसँगको आन्तरिक सम्झौतामा ‘वारेन्टी नहुने’ उल्लेख भएको तर्क गरेको थियो। तर, अदालतले यस तर्कलाई खारेज गरिदिएको छ। फैसलाको ठहर खण्डमा भनिएको छ, "कम्पनीले आम सञ्चारमाध्यम र बट्टामा समेत वारेन्टी छ भनी विज्ञापन गर्ने तर पछि डिलरसँगको गोप्य सम्झौता देखाएर दायित्वबाट पन्छिन मिल्दैन।"
अदालतले यसलाई ‘सार्वजनिक मनसाय विपरीतको कार्य’ भनेको छ। विज्ञापनमार्फत दिइएको आश्वासन व्यापारिक करारको हिस्सा हुने र त्यसलाई पालना नगर्नु उपभोक्ताको अधिकारको हनन भएको अदालतको निष्कर्ष छ। कम्पनीले ४० लिटरभन्दा कम खरिद गर्नेलाई वारेन्टी नहुने जस्ता साना अक्षरमा लेखिएका अव्यवहारिक सर्तहरू राखेर उपभोक्तालाई झुक्याएको समेत अदालतले औंल्याएको छ।
१२ लाख ७८ हजार क्षतिपूर्तिको विवरण
अदालतले बर्जर पेन्ट्स र सम्बन्धित डिलर (फ्रेन्ड्स फरेभर ट्रेडिङ) बाट गरी कुल १२ लाख ७८ हजार ४०० रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।
फैसला अनुसार:
१. बर्जर पेन्ट्स (उत्पादक): कम्पनीले मात्रै १२ लाख १४ हजार ५०० रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ।
२. दिनेश गिरी (डिलर): विक्रेताको तर्फबाट ६३ हजार ९०० रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ।
पीडित उपभोक्ताहरूले पाउने व्यक्तिगत रकम:
-
सिद्धान्त श्रेष्ठ: रु. ६,३४,८००/-
-
दीपक राज गिरी: रु. ३,४६,१००/-
-
दयाराम कार्की: रु. २,९७,५००/-
कानूनी नजिर र उपभोक्ता संरक्षण
यो फैसलाले नेपालमा ठूला बहुराष्ट्रिय वा स्थापित कम्पनीहरूले गर्ने ‘भ्रामक विज्ञापन’ माथि ठूलो अंकुश लगाएको छ। अदालतले मुलुकी देवानी संहिता, २०७४ र उपभोक्ता संरक्षण ऐन, २०७५ का प्रावधानहरूलाई टेकेर कम्पनीलाई जिम्मेवार बनाएको हो।
फैसलामा उल्लेख भए अनुसार, उत्पादकले आफ्नो सामानको गुणस्तरबारे गरेको प्रचार-प्रसार नै उसको कानूनी दायित्व हो। यदि कुनै कम्पनीले सामान बेच्नका लागि झुट्टा आश्वासन दिन्छ र पछि सामान खराब निस्कन्छ भने उसले सम्पूर्ण आर्थिक भार बेहोर्नुपर्नेछ। यो निर्णयले बजारमा 'भ्रम फैलाएर सामान बेच्ने' प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वास गरिएको छ।
उपभोक्ता अदालतको यो निर्णयले नेपाली उपभोक्ताहरूलाई आफ्ना अधिकारप्रति सचेत हुन र ठगिएमा कानूनी उपचार खोज्न प्रोत्साहन दिएको छ। बर्जर पेन्ट्स जस्तो ठूलो ब्राण्डले विज्ञापनमा देखाएको चमकधमक व्यवहारमा उतार्न नसक्दा १२ लाख बढीको क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आउनु अन्य कम्पनीहरूका लागि पनि एउटा कडा चेतावनी हो।
अदालतले फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतको तहसील शाखालाई पत्र समेत लेखिसकेको छ। कम्पनीले ३० दिनभित्र चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन सक्ने बाटो खुला भए पनि हाललाई यो फैसलाले उपभोक्ताको जित र भ्रामक विज्ञापनको पराजयलाई प्रतिविम्बित गरेको छ।