विभागले आर्थिक वर्ष २०८२/८३ मा गरेको बजार अनुगमन र नमुना परीक्षणका क्रममा मापदण्डविपरीत पाइएका ती फर्महरूविरुद्ध मुद्दा चलाएको हो ।
परीक्षण गरिएका मध्ये १२७ नमुना फेल
विभागका अनुसार गत आर्थिक वर्षमा देशभरका विभिन्न उद्योग र बजारबाट जम्मा ३ हजार ३६५ नमुना संकलन गरिएको थियो । तीमध्ये २ हजार ९४८ नमुनाको विस्तृत विश्लेषण र परीक्षण गर्दा १२७ वटा नमुना (अर्थात् ४.३० प्रतिशत) मापदण्डविपरीत तथा प्रतिकूल पाइएका छन् । ती गुणस्तरहीन नमुनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
कुन कुन सामग्रीमा बढी कैफियत ?
विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै खाद्यान्न र दैनिक उपभोग्य वस्तुमा कैफियत देखिएको छ ।
-
खाद्यान्न तथा दलहन: ४७ वटा नमुना फेल
-
प्रशोधित पिउने पानी: २१ वटा नमुना फेल
-
दूध तथा दुग्ध पदार्थ: १७ वटा नमुना फेल
-
तेल तथा घ्यू: ९ वटा नमुना फेल
-
अन्य: फलफूल, सागपात, दाना, मसला र मिठाईजन्य पदार्थमा पनि मापदण्डविपरीतका अंश भेटिएका छन् ।
बजारबाट २९ पटक सामग्री फिर्ता (रिकल)
अनुगमनका क्रममा गम्भीर कैफियत देखिएपछि विभागले विभिन्न खाद्य पदार्थहरू बजारबाट फिर्ता गर्न २९ पटक आदेश जारी गरेको छ । बजारबाट फिर्ता गरिएका सामग्रीहरूमा प्रशोधित पिउने पानी, दालमोठ, भुजिया, बिस्कुट, आइसक्रिम, मह, तोरीको तेल र मसला लगायतका वस्तुहरू रहेका छन् । खाद्य ऐनको दफा ३८ बमोजिम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने यस्ता सामग्री बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याइएको विभागको भनाइ छ ।
मोबाइल भ्यानमार्फत तत्काल परीक्षण
विभागले मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत १२३ पटक बजार अनुगमन र नमुना परीक्षण गरेको थियो । यस अवधिमा विभाग र मातहतका कार्यालयहरूले एकल तथा संयुक्त रूपमा १२ हजार ८०६ पटक निरीक्षण अनुगमन गरेका थिए । अनुगमनका क्रममा सामान्य कैफियत देखिएका उद्योगहरूलाई सुधारका लागि निर्देशन दिइएको छ भने गम्भीर लापरबाही गर्नेहरूलाई मुद्दा चलाइएको हो ।
विभागले उपभोक्ताहरूलाई खाद्य सामग्री खरिद गर्दा लेबल, उत्पादन मिति र गुणस्तर सुनिश्चित गरेर मात्र खरिद गर्न र शङ्का लागेमा विभागमा जानकारी गराउन समेत आग्रह गरेको छ ।