शेयर बजारमा नेप्से परिसूचक भन्दापनि कम्पनीको सूचकलाई ख्याल गर्नु पर्ने हुन्छ। तर, पछिल्ला दिनमा कुनै पनि स्टक समेत ट्रेन्डिङमा आउन नसकेको लगानीकर्ताहरु बताउने गरेका छन्। कुनै एक दिन राम्रोसँग बढ्न सुरु गरेको कम्पनी अर्को दिन सोही दरमा घट्दा लगानीकर्ताहरु हैरान भएका छन्। बजारमा हुने गरेको यस्तो अस्थिरताले सम्भावना भन्दा पनि जोखिम बढाएको लगानीकर्ताहरूको बुझाइ छ। कुन कम्पनीमा लगानी गर्ने भन्नेमा आम लगानीकर्ताहरू अलमलमा छन्। यही अन्योलका कारण थप लगानी गर्ने सोचमा रहेका लगानीकर्ताहरू बजारमा भित्रिन डराइरहेका छन्।
नेप्सेको पछिल्लो १० कारोबार दिनको तथ्याङ्क हेर्दा नेप्से १९.३४ अङ्कले घटेको देखिन्छ। यो करिव ०.७३ प्रतिशतको गिरावट हो। यस अवधिमा नेप्से उच्चतम २६५१.२१ र न्यूनतम २६१८.७२ विन्दुको बीचमा मात्रै सीमित छ। यसले बजार स्पष्ट रूपमा साइडवेजमा रहेको पुष्टि गर्छ। कारोबार रकम पनि दैनिक तीन अर्बदेखि पाँच अर्ब रुपैयाँमा खुम्चिएको छ।
नेप्सेमा चलेका कम्पनीहरुमा समेत एकरुपता देखिएको छैन। सामान्यतया पछिल्ला कारोबार दिनमा सोलु हाइड्रोपावर, खानीखोला, एनआरएन, रिडी र रिलायन्स स्पिनिङ्ग जस्ता कम्पनीहरू चर्चामा आए। यद्यपि ति कम्पनीहरु समेत टिक्नेमा लगानीकर्तामा आशंका भएको लगानीकर्ताहरु बताउने गरेका छन्। अहिले लगानीकर्तामा बजार प्रति विश्वासको कमी छ।
विगतमा सूचक साईडवयजमा रहेतापनि कम्पनीहरु चल्दा लगानीकर्ताहरुले केही आर्जन गर्न सक्ने अवस्था थियो। तर पछिल्ला दिनमा कम्पनीहरु समेत ठप्प अवस्थामा हुँदा बजार झनै प्रभावित भएको लगानीकर्ता ललित ढुङ्गानाले बताए। नयाँ सूचीकृत कम्पनीमा शेयर आपूर्ति थोरै भएकै कारण मूल्य बढेपनि त्यो सर्वसाधारण लगानीकर्ताको पहुँचभन्दा बाहिर छ। त्यसैले बजारमा एक दिन चलेका कम्पनीमा समेत लगानीकर्ताको विश्वास नभएको हो। पूँजी बजारप्रति सरकारको दृष्टिकोण पनि खासै प्रष्ट छैन। सरकारले बजारबाट राजस्व मात्र उठाउन खोजेको तर लगानीकर्ताको हित नहेरेको बुझाइ लगानीकर्ताहरुमा छ।
पूँजीगत लाभकर वृद्धिले लगानीकर्ताको मनोबल गिरावट भएको लगानीकर्ता प्रदिप सिंखडाले बताए। सरकारको बोली र गराइमा ठूलो भिन्नता छ। दिउँसो अर्थमन्त्रीले लगानीकर्तालाई नडराउन भन्ने तर बेलुका व्यवसायीहरू पक्राउ पर्ने घटनाले त्रास पैदा गरेको छ। यस्तो द्वैध चरित्रले लगानीकर्तामा अन्योल र असुरक्षा महसुस गरेको उनको भनाई छ।
ब्याजदर केही घटेपनि ऋण लिएर शेयरमा लगानी गर्ने अवस्था अझै बनेको छैन। शेयरको कमाइबाट ब्याज तिर्न समेत नपुग्ने भएपछि लगानीकर्ताहरू पर्ख र हेरको स्थितिमा छन्। बजारमा अहिले कुनै पनि कम्पनीमा स्पष्ट अप–ट्रेन्ड देखिएको छैन। अर्को तर्फ नेप्सेमा देखिने गरेको प्राविधिक समस्याले पनि लगानीकर्तालाई पिरोलेको सिंखडाको बुझाई छ।
ब्रोकरको टीएमएस र नेप्सेको प्रणालीबीच तालमेल छैन। कतिपय अवस्थामा शेयर राफसाफमा विभेदकारी कार्यले बजारलाई प्रभावित पारेको छ। मुलुकमा देखिएको आर्थिक शिथिलता र स्पष्ट नीतिको अभाव नै निराशाको मुख्य कारण हो। अहिले कम्पनीहरूले दिने आकर्षक लाभांशको प्रभाव समेत नेप्सेमा देखिन छोडेको छ।
कुनै पनि स्टक वा बजार ट्रेन्डिङ हुनका लागि मूल्य र कारोबारमा स्पष्ट दिशा देखिनुपर्छ। यसका लागि प्राविधिक सूचकहरूमा सुधार आउनु जरुरी छ। लामो समयदेखिको अवरोध तोडेर मूल्य माथि जानुपर्ने लगानीकर्ताहरुको बुझाई छ। मूल्य वृद्धिलाई उच्च कारोबार रकमले साथ दिनुपर्छ। कम्पनीको उत्कृष्ट वित्तीय विवरण, राम्रो लाभांश र अनुकुल सरकारी नीतिले मात्र लगानीकर्तालाई आकर्षित गर्न सक्छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता र स्थिर ब्याजदरले नयाँ पूँजी भित्र्याउन मद्दत गर्छ। जब ठूला लगानीकर्ताले निश्चित क्षेत्रमा लगानी बढाउँछन्, तब मात्र बजारले लय समात्नेछ। अहिलेको अवस्थामा ट्रेन्डिङ स्टकको अभावले गर्दा बजारमा थप लगानी गर्नेहरूको उत्साह मरेको छ। लगानीकर्ताहरू अहिले ठोस सुधार र नीतिगत स्पष्टताको पर्खाइमा रहेका छन्।