फुर्केखोलाको पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङवेशी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो । संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालकाअनुसार बाढीले फुर्के खोलाको पुल ‘वास आउट’ भएपछि धादिङ सदरमुकामसँगको सडक सम्पर्क विच्छेद भएको थियो ।
त्यसपछि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङबेंसी जोड्ने सडक खुलाएको उनले जानकारी दिए । उनकाअनुसार हाल साना सवारी साधनहरू धादिङबेसीसम्म सञ्चालन हुन थालेका छन् । ठूला सवारीसधान सञ्चालनको लागी भने सडकलाई सहज बनाउन बाढीबाट क्षति पुगेका तथा लेदो र हिलो भरिएका खण्डमा ग्राभेल राख्ने काम भइरहेको उनले जानकारी दिए ।
खोल्सी तथा पानी बग्ने स्थानमा ढुंगा मिलाएर सवारीसाधन पार गर्न सकिने बनाइएको उनको भनाई छ । केही खण्डमा सडक सामान्य अवस्थामा रहेपनि बाढीले वास आउट गरेका स्थानमा भने सवारी सञ्चालनमा कठिनाइ रहेको उनले बताए। ती खण्डमा लेदो हटाउने, ग्राभेल राख्ने र आवश्यक स्थानमा अस्थायी संरचना बनाउने काम भइरहेको उनको भनाई छ ।
उनले भने, ‘बाढीले धादिङबेसी जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ सदरमुकामसँगको हाम्रो सडक सम्पर्क विच्छेद भएको अवस्था थियो । त्यसपछि धादिङबेसीलाई वैकल्पिक रूपमा जोड्नका लागि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरेर राइट बैंकतर्फबाट बाटो सञ्चालन गर्ने प्रयास गरिरहेका छौँ । अहिले मोटामोटी रूपमा काम सम्पन्न भइसकेको छ, मेसिनहरू शुक्राबार देखि नै परिचालन गरिएका थिए । अहिले साना सवारीसाधनहरू यही बाटो हुँदै धादिङबेंसीसम्म पुग्न सक्ने गरी सडक सम्पर्क स्थापित भइसकेको छ । यसलाई अझ सहज बनाउने प्रयास भइरहेको छ । अप्ठ्यारा खण्डहरूमा समेत ग्राभेल राखेर साना सवारीसाधनका लागि सहज हुने गरी काम अगाडि बढाइरहेका छौँ । खोला भएका स्थानमा कल्भर्ट बनाउनुपर्ने अवस्था भएमा ढुङ्गा मिलाएर त्यहाँबाट सवारीसाधन सहज रूपमा पार हुने व्यवस्था गरिरहेका छौँ । केही स्थानमा ग्राभेल आवश्यक पर्ने देखिएको छ । नजिकै ग्राभेलको स्रोत भेटिएमा त्यसलाई उपयोग गरेर लेदो र हिलो भएका स्थानमा ग्राभेल हाल्दै सवारीसाधनको आवतजावत सहज बनाउने तयारी भइरहेको छ । अहिले दुईवटा मेसिन साइटमै छन् भने अन्य साइटहरूमा पनि आवश्यक उपकरणहरू परिचालन भइसकेका छन् । साना सवारीसाधनका लागि बाटो खुलिसकेको छ । अन्य सवारीसाधनलाई समेत सहज हुने गरी काम अगाडि बढाइरहेका छौँ ।’
सडक डिभिजन नुवाकोटका प्राविधिक टोलीसहित दुईवटा मेसिन वैकल्पिक सडक संचालन गर्नको लागी परिचालन गरिएको उनले जानकारी दिए। अन्य क्षतिग्रस्त स्थानमा समेत आवश्यक उपकरण परिचालन गरिएको उनको भनाई छ ।