आज बिहान त्रिशूली नदीमा आएको पानीको तीव्र बहावले धादिङको बेनीघाट रोराङ गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीले पुललाई चुँडालेर पूर्ण रूपमा क्षति पुर्याएको छ ।
गत बुधबार आएको ठूलो बाढीका बेला जोगिन सफल भएको यो पुल आज बिहानको बहावलाई भने थाम्न सकेन । रसुवास्थित भोटेकोशीमा पानीको बहाव बढेसँगै त्यसको प्रत्यक्ष असर तल्लो तटीय क्षेत्रको त्रिशूली नदीमा परेको हो ।
पुल बगेसँगै धादिङ र गोरखाका दुई गाउँपालिकाबीचको सिधा पदमार्ग सम्पर्क विच्छेद भएको छ ।
नदीको सतह अझै बढ्ने जोखिम रहेकाले जिल्ला प्रशासन र प्रहरीले त्रिशूली नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।