६९ दिनसम्म पृथ्वीमुनि : चिलीले संसारलाई सिकाएको सबैभन्दा ठूलो पाठ
५ अगस्ट २०१०
चिलीको सान होसे तामा तथा सुनखानीमा ठूलो दुर्घटना भयो । ३३ जना कामदार करिब २,३०० फिट अर्थात् लगभग ७०० मिटर तल फसे। पहिलो केही दिन उनीहरू जीवित छन् कि छैनन् भन्ने नै निश्चित थिएन।
१७ दिनपछि मात्र उद्धार टोलीले उनीहरू जीवित रहेको पत्ता लगायो । त्यसपछि सुरु भयो संसारकै सबैभन्दा चर्चित भूमिगत उद्धार अभियानमध्ये एक ।
तर उनीहरूलाई निकाल्न तुरुन्तै सम्भव थिएन । उद्धारकर्ताले पहिले उनीहरूसम्म सानो प्वाल बनाएर सम्पर्क स्थापित गरे। खाना, पानी र औषधि पठाइयो। त्यसपछि ठूलो उद्धार प्वाल बनाउने योजना अघि बढ्यो।
अन्ततः ६९ दिनपछि सबै ३३ जना जीवित बाहिर आए।
यो उद्धारमा एउटा रोचक पक्ष थियो—अन्तरिक्षमा मानिसलाई लामो समयसम्म सीमित वातावरणमा राख्ने अनुभव भएको NASA का विशेषज्ञसमेत सहभागी भए । NASA टोलीले चिकित्सा, पोषण, मनोवैज्ञानिक अवस्था र उद्धार क्याप्सुलको डिजाइनमा प्राविधिक सल्लाह दिएको थियो।
चीन : पानीले निलिसकेको सुरुङबाट ११५ जीवन फिर्ता
रसुवासँग सबैभन्दा नजिक तुलना गर्न मिल्ने घटनामध्ये एक हो—२०१० को चीनको Wangjialing कोइला खानी उद्धार।
२८ मार्च २०१० मा खानी निर्माणका क्रममा पुरानो पानी भरिएको भागमा सुरुङ पुग्दा ठूलो मात्रामा पानी भित्र पस्यो। त्यतिबेला भूमिगत २६१ जना कामदार थिए। १५३ जना फसे।
उद्धारकर्ताले पानी निकाल्न थाले। हजारौँ मानिस परिचालन भए। सुरुङभित्र जीवनको संकेत खोजियो।
केही दिनपछि उद्धारकर्ताले पानी पम्प गरे, drilling गरे, अक्सिजन र ग्लुकोज पठाए र अन्ततः ११५ जनालाई ८ दिनभन्दा बढी समयपछि जीवित बाहिर निकाले । करिब ५,००० उद्धारकर्ता अभियानमा संलग्न भएका थिए।
थाइल्यान्ड : सुरुङ होइन, बाढीग्रस्त गुफा—तर पाठ उस्तै
२०१८ को थाइल्यान्डको Tham Luang गुफा उद्धार संसारले प्रत्यक्ष हेरेको अर्को ऐतिहासिक घटना हो। १२ जना बालक र उनीहरूका प्रशिक्षक गुफाभित्र गए । त्यसपछि भारी वर्षा भयो । गुफाभित्र पानी भरिँदै गयो। उनीहरू बाहिर आउन सकेनन्।
गुफा प्रणाली धेरै किलोमिटर लामो थियो र पानी तथा कमजोर दृश्यताले उद्धार अत्यन्त कठिन बनाएको थियो। नौ दिनपछि मात्र उनीहरू जीवित रहेको पत्ता लाग्यो। करिब १,००० जना सैनिक, उद्धारकर्मी र अन्तर्राष्ट्रिय विशेषज्ञहरू परिचालन भए।
बेलायत, अस्ट्रेलियाका विशेषज्ञ र विभिन्न देशका उद्धार टोली एउटै अभियानमा जोडिए। १८ दिनपछि सबैलाई सकुसल उद्धार गरिएको थियो ।
अस्ट्रेलिया : एक किलोमिटर तलबाट १४ दिन पछि उद्धार
२००६ मा अस्ट्रेलियाको Tasmania स्थित Beaconsfield Gold Mine मा चट्टान खस्यो। तीन कामदार फसे । एक जनाको मृत्यु भयो । तर तर, दुई जना जीवित थिए । उनीहरू जमिनमुनि करिब ९२५ मिटर तल थिए । प्रत्यक्ष बाटोबाट उद्धार गर्न सम्भव भएन।
त्यसपछि उद्धारकर्ताले लगातार drilling, boring र blasting गर्दै उद्धार टोली उनीहरूसम्म पुग्यो।अन्ततः १४ दिनपछि दुवै कामदार बाहिर आए।
अमेरिका : ७७ घण्टा पछि उद्धार
२००२ मा अमेरिकाको Quecreek Mine मा नौ जना कामदार भूमिगत फसे । पानी र अँध्यारोले उनीहरूलाई घेर्यो । उनीहरू ७७ घण्टासम्म जमिनमुनि रहे।
उद्धारकर्ताले माथिबाट drilling गरेर अन्ततः सबै नौ जनालाई बाहिर निकालियो। उनीहरू करिब २४० फिट तल थिए।