काठमाडौँको आपूर्ति धान्ने मुख्य राजमार्ग अवरुद्ध, तरकारी र पेट्रोलियम पदार्थमा दबाब, मूल्य बढ्न सक्ने

Aug 31, 2026 12:02 PM Merolagani



सुवास निरौला

बाढी पहिरोका कारण काठमाडौँलाई देशका प्रमुख आपूर्ति केन्द्रसँग जोड्ने मुख्य सडक अवरुद्ध भएपछि राजधानीको बजारमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुने जोखिम बढेको छ। 

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा आएको क्षतिले तरकारी, खाद्यान्न, ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध सिर्जना गरेको हो। मुख्य सडक बन्द भएपछि सरकारले र सडक विभागले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे पनि ती मार्गबाट सामान ल्याउँदा समय र ढुवानी लागत बढ्ने व्यवसायीहरूको भनाइ छ। काठमाडौँको बजारमा अहिले नै सबै वस्तुको अभाव सुरु भइसकेको अवस्था भने होइन। केही दिन सडक अवरुद्ध हुँदैमा खाद्यान्नको मूल्यमा ठुलो असर पर्ने सम्भावना भने कम छ।

तर आपूर्ति अवरोध लम्बिँदै गए खाद्यान्नमा पनि दबाब पर्न सक्छ। भारत तथा तराईका विभिन्न बजारबाट काठमाडौँ आउने चामल, दाल, तेललगायत वस्तु बोकेका सयौँ मालवाहक सवारी मुख्य राजमार्गमै रोकिएका छन्। नयाँ सामान भित्रिन नसक्दा अहिलेको मौज्दात क्रमशः घट्दै जानेछ। त्यसपछि व्यापारीले नयाँ सामान ल्याउन थप खर्च गर्नुपर्ने हुन्छ। त्यही अतिरिक्त लागत अन्ततः थोक हुँदै खुद्रा मूल्यमा पुग्ने सम्भावना हुन्छ।

तरकारीमा भने प्रभाव तुलनात्मक रूपमा छिटो देखिन सक्छ 

तरकारी नाशवान वस्तु भएकाले लामो समय ढुवानी रोकिँदा बाटोमै बिग्रने वा बजारमा आउने परिमाण घट्ने जोखिम हुन्छ। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँको कालीमाटी बजारमा तरकारी तथा फलफूलको दैनिक आपूर्ति घटेको रिपोर्ट छ। भारत हुँदै आउने कतिपय बस्तुको दैनिक आगमन ९२ प्रतिशतसम्म घटेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ। जुन दैनिक प्रकाशित हुने आगमन सूचिमा समेत हेर्न सकिन्छ। 

काठमाडौँको तरकारी बजार ठुलो मात्रामा बाहिरी जिल्लाको उत्पादन र लामो दूरीको ढुवानीमा निर्भर छ। त्यसैले मुख्य सडकमा समस्या आउँदा बजारमा सामानको मात्रा मात्र घट्दैन, ढुवानीको लागत पनि बढ्छ। व्यापारीले वैकल्पिक सडक प्रयोग गर्दा बढी इन्धन, चालक खर्च र समय लाग्छ। त्यसको असर तरकारीको थोक मूल्य हुँदै उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा पर्न सक्छ।

यसको अर्को पक्ष किसानसँग सम्बन्धित छ। काठमाडौँमा तरकारी महँगो हुँदैमा किसानले त्यही अनुपातमा बढी मूल्य पाउने अवस्था हुँदैन। सडक अवरुद्ध हुँदा उत्पादन क्षेत्रबाट बजारसम्म सामान पुर्‍याउन नसकिए किसानको उत्पादन खेतमै वा स्थानीय बजारमा थुप्रिन सक्छ। काठमाडौँमा भने त्यही वस्तुको अभाव हुन सक्छ। यसले उत्पादक र उपभोक्ताबिचको मूल्य अन्तर झनै फराकिलो बनाउन सक्छ।

ग्यास आपूर्तिमा जोखिम अझ संवेदनशील देखिएको छ

खाना पकाउने एलपी ग्यासको आपूर्ति पहिल्यै दबाबमा रहेको अवस्थामा बाढी पहिरोले मुख्य सडक अवरुद्ध गरेपछि समस्या थपिएको व्यवसायीले बताएका छन्। उद्योगमा रहेको मौज्दातका आधारमा मात्रै बजारमा सिलिन्डर पठाउनुपर्ने अवस्था आएको र मागअनुसार आपूर्ति गर्न कठिन भएको ग्यास व्यवसायीको भनाइ छ।

त्यसैले सडक अवरुद्ध हुँदा ग्यासको आधिकारिक मूल्य तत्काल बढ्नैपर्छ भन्ने होइन। तर उपलब्धता घट्नु र वितरण लागत बढ्नु ठुलो जोखिम हो। यही कारण नेपाल आयल निगम र ग्यास उद्योगहरूले वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास तथा पेट्रोलियम पदार्थ पुर्‍याउने योजना अघि सारेका छन्।

सडक विभागले ग्यास तथा अत्यावश्यक मालवाहक सवारीका लागि वीरगन्ज–हेटौंडा–भैँसे–पालुङ–नौबिसे हुँदै आउने त्रिभुवन राजपथसहित बीपी राजमार्ग, कान्तिलोकपथ र कुलेखानी क्षेत्रका मार्ग प्रयोग गर्न सुझाएको छ। तर वैकल्पिक मार्ग मुख्य राजमार्गको पूर्ण विकल्प बन्न नसक्ने भएकाले ढुवानीको क्षमता र लागत दुवै चुनौतीका रूपमा देखिएका छन्।

अर्कोतर्फ, चाडबाड नजिकिँदै गर्दा बजारमा माग बढ्ने सम्भावना छ। सामान्य अवस्थामा आपूर्ति घट्दा मात्र मूल्यमा दबाब पर्छ, तर माग पनि बढ्यो भने प्रभाव अझ तीव्र हुन सक्छ। खाद्यान्न, तरकारी, ग्यासलगायत दैनिक उपभोग्य वस्तुको माग बढिरहेको समयमा ढुवानी प्रणाली कमजोर भयो भने व्यापारीको लागतसँगै बजारमा अभावको मनोविज्ञानसमेत पैदा हुन सक्छ।

व्यवसायीहरू भने अहिले नै उपभोक्ताले आत्तिएर अत्यधिक सामान सञ्चय गर्नुपर्ने अवस्था नरहेको बताउँछन्। पर्याप्त मौज्दात रहेको अवस्थामा केही दिनको सडक अवरोधले तत्काल ठुलो संकट नआउने उनीहरूको भनाइ छ।

तर समस्या सडक खुल्ने समयसँग जोडिएको छ। मुख्य सडक छिट्टै सञ्चालनमा आयो भने मौज्दात र वैकल्पिक आपूर्तिले बजार धान्न सक्छ। अवरोध लम्बियो भने अहिलेको मौज्दात घट्दै जाने, ढुवानी लागत बढ्ने र चाडबाडको अतिरिक्त माग थपिने भएकाले मूल्यमा दबाब बढ्न सक्ने आकलन गरिएको छ।




माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।