प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालका अनुसार विपद्पछिको संकलन नेपाली रुपैयाँमा करिब ३ अर्ब २३ करोड ७५ लाख र विदेशबाट २१ लाख ४७ हजार अमेरिकी डलर रहेको छ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको अमेरिकी डलरको खरिददर प्रतिडलर रु. १५२.३१ लाई आधार मान्दा २१ लाख ४७ हजार अमेरिकी डलर करिब रु. ३२ करोड ७० लाख ९ हजार हुन्छ। यसलाई नेपाली रुपैयाँमा प्राप्त ३ अर्ब २३ करोड ७५ लाखसँग जोड्दा पछिल्लो विपद्पछि संकलित रकम करिब रु. ३ अर्ब ५६ करोड ४५ लाख पुग्छ।
तर यो रकमलाई अहिले नै अन्तिम तथ्यांक भने मान्न नसकिने अर्यालले बताएका छन्। उनका अनुसार आइतबार बेलुकासम्म प्राप्त विवरण बैंक तथा सम्बन्धित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँगको मौखिक समन्वयका आधारमा तयार भएको हो। बैंकिङ कारोबारको क्लियरिङ हुन बाँकी रहेको, विदेशी मुद्राको विनिमय दर फरक पर्न सक्ने तथा कतिपय रकम तत्कालै प्रणालीमा प्रतिबिम्बित नहुने भएकाले तथ्यांकमा केही फरक पर्न सक्ने उनले बताए।
‘पछिल्लो डिजास्टरपछि कलेक्सन’ करिब ३ अर्ब २३ करोड ७५ लाख देखिएको अर्यालले कुराकानीमा बताएका छन्। उनका अनुसार यसअघि कोषमा रहेको रकमसमेत जोड्दा नेपाली रुपैयाँतर्फ करिब ५ अर्ब ४१ करोड रुपैयाँ देखिन्छ।
विदेशबाट आएको २१ लाख ४७ हजार डलरलाई सोमबारको नेपाल राष्ट्र बैंकको खरिददरमा रूपान्तरण गर्दा करिब ३२ करोड ७० लाख रुपैयाँ हुन्छ। त्यसलाई यसअघि रहेको ५ अर्ब ४१ करोड मौज्दातमा जोड्दा कोषमा रहेको तथा पछिल्लो संकलनसमेत समेटिएको रकमको प्रारम्भिक मूल्यांकन करिब ५ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुग्छ। तर यसमा पनि डलरको वास्तविक रुपैयाँ मूल्य रकम जम्मा भएको समयको विनिमय दरअनुसार फरक पर्न सक्ने भएकाले यो आजको विनिमयदरमा गरिएको हिसाब मात्र हो।
यसअघि अर्यालले प्रधानमन्त्री राहत कोषमा करिब ११ करोड रुपैयाँ र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ५ करोड रुपैयाँ मौज्दात रहेको बताएका थिए। तर ती रकम पछिल्लो रसुवा बाढीपछि गरिएको आह्वानबाट संकलित नभई कोषमा यसअघि नै रहेको मौज्दात भएको स्पष्ट गरेका थिए।
यसले पछिल्लो विपद्पछि संकलित रकम र कोषमा पहिलेदेखि रहेको रकमलाई छुट्टाछुट्टै हेर्नुपर्ने देखाउँछ। पछिल्लो संकलनलाई पुरानो मौज्दातसँग मिसाएर एउटै शीर्षकमा प्रस्तुत गर्दा नयाँ रूपमा उठेको रकमबारे भ्रम उत्पन्न हुन सक्ने भएकाले दुवै रकम अलग देखाउनु आवश्यक छ।
सहयोगदाताको नामावली पनि सार्वजनिक गर्ने तयारी
सरकारले राहतका लागि सहयोग गर्ने व्यक्ति तथा संस्थाको नाम र रकमसहितको विवरण सार्वजनिक गर्ने तयारीसमेत गरेको छ। अर्यालका अनुसार अहिले बैंकहरूसँग विवरण समन्वय भइरहेको छ। सहयोग गर्ने सबैको नाम सार्वजनिक गर्ने कि नगर्ने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताएका छन्।
बैंकबाट प्राप्त विवरण पूर्ण रूपमा समेटिएपछि एक–दुई दिनभित्र सहयोगदाताको नामावली सार्वजनिक गर्ने विषयमा टुंगो लाग्ने उनको भनाइ छ। सहयोगदाताको नाम र रकम सार्वजनिक भएमा राहतका लागि संकलित रकमको पारदर्शिता बढ्नेछ।
हालसम्मको तथ्यांक हेर्दा पछिल्लो विपद्पछि संकलन भएको रकम उल्लेख्य देखिए पनि त्यसको वास्तविक आकार भने बैंकिङ प्रणालीबाट प्रमाणीकरण भएपछि मात्र यकिन हुनेछ। विशेषगरी विदेशबाट आएको डलर रकमको नेपाली रुपैयाँमा मूल्यांकन र क्लियरिङ हुन बाँकी रकमका कारण अहिलेको हिसाबलाई प्रारम्भिक विवरणका रूपमा लिनुपर्ने देखिन्छ।
यसरी उपलब्ध विवरणअनुसार पछिल्लो विपद्पछि मात्रै करिब ३ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ बराबरको सहयोग संकलन भएको देखिन्छ, जबकि पहिलेदेखिको मौज्दातसमेत जोड्दा रकम करिब ५ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुग्छ। तर दुवै रकम अन्तिम बैंकिङ प्रमाणीकरणपछि मात्र एकिन हुनेछन्।
नोट: अमेरिकी डलरको रूपान्तरण सोमबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिडलर रु. १५२.३१ को खरिददरमा गरिएको हो। बैंकहरूको वास्तविक कारोबार दर फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।