प्रधानमन्त्री शाहले सोमबार प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म नेपाली सेनाले सञ्चालन गरेका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन्। प्रधान सेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिँदैछन्। त्यसैगरी प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै छलफल गर्ने कार्यक्रम छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा ठूलो संकट उत्पन्न भएपछि सरकारले सुरक्षा निकायलाई खोज तथा उद्धारमा परिचालन गरेको छ। प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल गरी हालसम्मको उद्धारको अवस्था, राहत व्यवस्थापन र आगामी कदमबारे जानकारी लिन थालेका हुन्।
प्रधानमन्त्री शाहले सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेबारे आवश्यक निर्णय गर्नेछन्। प्रधानमन्त्री कार्यालयका अनुसार आजै नेपाल प्रहरीका महानिरीक्षक कार्कीसँग पनि ब्रिफिङ लिएपछि बाढीबाट उत्पन्न संकटको समग्र अवस्थाबारे सुरक्षा निकायबाट प्राप्त विवरण एकीकृत गरिनेछ।