रेनो डस्टर गाडी खरिदमा १.८ लाखसम्म छुट, तिहारमा डस्टर हाइब्रीड पनि आउँदै

Sep 12, 2026 10:50 AM Merolagani



रेनो इन्डियाले आफ्नो नयाँ पुस्ताको रेनो डस्टर खरिद गर्ने ग्राहकका लागि आकर्षक छुट योजना सार्वजनिक गरेको छ।

कम्पनीले छनोट गरिएका भेरियन्टमा भारतीय रुपैयाँ १.८ लाखसम्मको लाभ उपलब्ध गराउने जनाएको छ।

योजनाअन्तर्गत ग्राहकले ३० हजार रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँसम्म एक्सचेन्ज वा स्क्र्यापेज बोनस तथा लोयल्टी बोनस पाउनेछन्। यद्यपि, कर्पोरेट तथा ग्रामीण क्षेत्रका ग्राहकका लागि उपलब्ध अतिरिक्त लाभ भने स्थान र ग्राहकको प्रोफाइलअनुसार फरक हुन सक्नेछ।

विशेषगरी, अर्को रेनो गाडीबाट नयाँ डस्टरमा अपग्रेड गर्ने ग्राहकले १० हजार रुपैयाँ लोयल्टी बोनस पाउनेछन्। पुरानो पुस्ताको डस्टरबाट नयाँ पुस्ताको डस्टरमा अपग्रेड गर्ने ग्राहकका लागि भने १ लाख रुपैयाँसम्म लोयल्टी बोनस उपलब्ध गराइएको छ।

१८.६९ लाख रुपैयाँसम्म मूल्य

मार्च २०२६ मा सार्वजनिक गरिएको तेस्रो पुस्ताको डस्टरको भारतमा एक्स–शोरुम मूल्य १०.४९ लाखदेखि १८.६९ लाख भारतीय रुपैयाँसम्म रहेको छ। रेनोको नयाँ प्लेटफर्ममा आधारित डस्टर दुईवटा टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ।

१.० लिटर टर्बो पेट्रोल इन्जिनले १०० बीएचपी शक्ति र १६० एनएम टर्क उत्पादन गर्छ। त्यस्तै, १.३ लिटर टर्बो पेट्रोल इन्जिनले १६३ बीएचपी र २८० एनएम टर्क उत्पादन गर्छ।

१.० लिटर इन्जिनमा ६–स्पीड म्यानुअल गियरबक्स उपलब्ध छ भने १.३ लिटर इन्जिनमा ६–स्पीड डुअल–क्लच अटोमेटिकको विकल्प पनि दिइएको छ।

यस्ता छन् प्रमुख फिचर

नयाँ डस्टरमा १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, डुअल–जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर र प्यानोरामिक सनरुफ जस्ता सुविधा छन्।

त्यस्तै, ६–वे पावर तथा भेन्टिलेटेड फ्रन्ट सिट, पावर्ड टेलगेट, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक, फ्रन्ट तथा रियर पार्किङ सेन्सर र लेभल–२ एडीएएस समेत उपलब्ध छन्।

डस्टर हाइब्रिड पनि आउँदै

रेनो इन्डियाले सन् २०२६ को तिहार पर्वको सिजनमा डस्टर हाइब्रिड सार्वजनिक गर्ने तयारी गरेको छ।

हाइब्रिड डस्टरमा १.८ लिटर स्ट्रङ हाइब्रिड पेट्रोल पावरट्रेन प्रयोग हुनेछ। यसमा १०९ बीएचपी पेट्रोल इन्जिन, ४९ एचपी इलेक्ट्रिक मोटर र २० एचपी हाइब्रिड स्टार्टर जेनेरेटर रहनेछ। १.४ किलोवाट–आवर ब्याट्रीसहितको यो प्रणालीले संयुक्त रूपमा १६० बीएचपी शक्ति र १७२ एनएम टर्क उत्पादन गर्ने बताइएको छ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।