तीजकाे समयमा सुनकाे मूल्यमा उच्च उतारचढाव, एक हप्तामा ताेलामा ६ हजार ४०० रुपैयाँले घट्यो

Sep 12, 2026 05:42 AM Merolagani



तीजकाे समयमा सुनकाे मूल्यमा उच्च उतारचढाव भएकाे छ । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ६ हजार ४०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत भदौ २० गते शनिबार नेपाली बजारमा सुनको मूल्य ३ लाख ७ हजार ४०० रुपैयाँ रहेकोमा हप्ताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ६ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ३ लाख एक हजार रुपैयाँमा झरेको हो ।

महासंघका अनुसार, भदौ २१ गते आइतबार अघिल्लो दिनको तुलनामा ३ हजार १०० रुपैयाँले सुनको मूल्य घटेर उक्त दिन ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, भदौ २२ गते सोमबार पनि सुनको मूल्य घट्ने क्रम जारी रह्यो । उक्त दिन अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै, भदौ २३ गते मंगलबार भने सुनको मूल्य ३ हजार ५०० रुपैयाँले बढेर उक्त दिन ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । भदौ २४ गते बुधबार पुनः सुनको मूल्य घट्यो । उक्त दिन ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, भदौ २५ गते बिहीबार भने सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढेर ३ लाख ५ हजार ८०० रुपैयाँमा कारबोर भएको थियो । भदौ २६ गते शुक्रबार एकैदिन ४ हजार ८०० रुपैयाँले घटेर उक्त दिन सुन प्रतितोला ३ लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग, डलरको मूल्यमा हुने उतारचढाव र आर्थिक तथा राजनीतिक कारणले गर्दा स्थानीय बजारमा सुनको मूल्य घटबढ भइरहन्छ। सुन व्यवसायीका अनुसार, अहिले सुनको मूल्य बढ्नु पर्ने ठोस् कारण छैन ।

अमेरिका, इरान र रुसजस्ता मुलुकमा उत्पन्न टकराब, होर्मुज जलमार्गमा अवरोधलगायतका कारण विगतमा सुनको मूल्य केही बढेको थियो । अहिले भने टकराव र युद्ध स्थिर हुनसक्ने अपेक्षाका कारण सुनको मूल्य सन्तुलनामा आउन थालेको एक सुन व्यवसायीले मेरो लगानीलाई बताए ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।