यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता फ्लोट इण्डेक्स ३.७८ प्रतिशत बढेको छ भने सेन्सेटिभ इण्डेक्स ३.८५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४९.४१ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५२.७० प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २३ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ३.४३ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ५० अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.७५ प्रतिशत बढेको छ। गत साता ११ हजार २९९.२५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६४९.३६ अंक बढेर ११ हाजर ९४८.६१ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सबैभन्दा बढी सोही उपसमूहको परिसूचक बढेको हो।
यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.८७ प्रतिशत बढेको छ। गत साता १९.५० विन्दुमा रहेको सो उपसमूहको परिसूचक, यस साता ०.१७ अंक बढेर १९.६७ विन्दुमा पुगेको छ।

यस साता नेप्सेमा १ करोड ९१ लाख २६ हजार ३१९ कित्ता शेयर सूचीकृत भएको छ। यस साता पोखरा फाइनान्सको मर्जरपश्चातको शेयर र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २२.४१ प्रतिशत बढेको छ। गत साता ८७० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे २० प्रतिशत बढेको छ भने स्नो रिभर्सको शेयरमूल्य करिब १९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस साता सर्वाधिक १७.९३ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३, बोटलर्स नेपाल (तराई), यूनिलिभर नेपाल लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने शुभम पावर कम्पनी, मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेष्टमेन्ट लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

