जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

Sep 21, 2026 04:33 PM Merolagani



स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको तालिम सञ्चालन गर्ने भएको छ।

तेस्रो तहको जलन उपचार सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको हो।

तालिममा शल्य चिकित्सक, चिकित्सा विशेषज्ञ, शल्यकक्ष तथा सघन उपचार कक्षका नर्स र आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मी सहभागी हुनेछन्।

तालिममा जलन भएका बिरामीको आकस्मिक तथा शल्य उपचार, घाउ व्यवस्थापन, छाला प्रत्यारोपण, सघन उपचार, संक्रमण नियन्त्रण, पोषण र दुखाइ व्यवस्थापनलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइनेछ।

पहिलो समूहको तालिम कीर्तिपुर अस्पतालमा दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म चल्नेछ। पहिलो समूहमा नारायणी अस्पताल र कर्णालीको प्रदेश अस्पतालबाट चार–चार जना गरी आठ जना सहभागी हुनेछन्।

यसअघि आधारभूत जलन उपचारसम्बन्धी तालिमबाट १९९ जना र प्राथमिक जलन उपचारसम्बन्धी तालिमबाट ३६४ जनाले तालिम प्राप्त गरिसकेका छन्।