नेशनल लाइफले उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरणबारे प्रशिक्षण

Sep 21, 2026 05:08 PM Merolagani



नेशनल लाइफ इन्स्योरेन्सले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल माध्यमको प्रयोगबारे प्रशिक्षण दिएको छ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूको सम्मान तथा सदस्यता वितरणका लागि भैरहवास्थित होटल सिद्धार्थ भिलासामा वार्षिक कार्यक्रम आयोजना गरेको हो। तीन दिन चलेको कार्यक्रममा कम्पनीका विभागीय, प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीसहित ५६५ जनाको सहभागिता थियो।

कार्यक्रममा चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूलाई सम्मान गर्नुका साथै नेपालभर उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद साडारीले बीमालाई समेत माध्यम बनाएर सम्पत्ति शुद्धीकरणका गतिविधि हुन सक्ने भन्दै शंकास्पद गतिविधिको निगरानी, आवश्यक पहिचान र प्रचलित कानुनको पालना गर्न बीमा क्षेत्रका सबै पक्ष सचेत हुनुपर्ने बताए।

यस्तै, प्रशिक्षक विश्वराज पौडेलले एआईलाई ग्राहक सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनमा प्रयोग गर्न सकिनेबारे प्रशिक्षण दिए। अर्का प्रशिक्षक संजोग कोइरालाले डिजिटल माध्यमको प्रभावकारी प्रयोगबाट बीमा व्यवसाय विस्तार गर्न सकिने बताए।

कार्यक्रममा चेयरपर्सन श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहले अभिकर्ताको सीप, क्षमता र नेतृत्व विकासका लागि कम्पनीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको व्यावसायिक उपलब्धि सामूहिक सफलता भएको बताउँदै अभिकर्ता सञ्जाल मजबुत बनाउने र ग्राहक सेवाको गुणस्तर सुधारमा जोड दिए।