भट्टराईका अनुसार पैसाको विषयमा हरेक व्यक्तिको सोच, व्यवहार र प्राथमिकता फरक हुन्छ । कोही धेरै कमाउन र खर्च गर्न चाहन्छन् भने कोही बचत तथा लगानीमार्फत सम्पत्ति निर्माण गर्न चाहन्छन् । तर, आर्थिक जीवनमा महत्त्वपूर्ण कुरा पैसा कति कमाइयो भन्ने भन्दा पनि पैसासँग हाम्रो व्यवहार कस्तो छ भन्ने हो ।
राम्रो आम्दानी गर्ने व्यक्ति पनि उचित आर्थिक व्यवस्थापनको अभावमा आर्थिक रूपमा कमजोर हुन सक्ने तर सीमित आम्दानीबाट सुरु गरेको व्यक्तिले सही बानी, अनुशासन, समय र लगानीको माध्यमबाट दीर्घकालमा ठूलो सम्पत्ति निर्माण गर्न सक्ने उनले बताएका छन् ।
‘धनको बाटो'मा बचतलाई केवल पैसा जम्मा गर्ने विषयका रूपमा नभई आर्थिक अनुशासन र भविष्य निर्माणको आधारका रूपमा प्रस्तुत गरिएको छ । पुस्तकमा खर्च व्यवस्थापन, अनावश्यक तथा अनुकरणात्मक खर्चबाट बच्ने उपाय, संगतको प्रभाव, महिला तथा पुरुषको खर्च र बचत व्यवहारलगायतका विषयलाई समेत समेटिएको छ ।
लेखकले समय र कम्पाउन्डिङलाई आर्थिक सफलताको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार एकपटकको ठूलो प्रयासभन्दा नियमित रूपमा गरिने सानो प्रयासले दीर्घकालमा ठूलो परिणाम दिन सक्छ । आज सामान्य लाग्ने सानो बचत वा लगानी पनि समयसँगै महत्वपूर्ण सम्पत्तिमा परिणत हुन सक्ने उनको धारणा छ ।
आवरणमा देखाइएको ‘कमाइ– बचत– सम्पत्ति र समृद्धि’को यात्राले पुस्तकको मूल अवधारणालाई प्रतिबिम्बित गरेको छ ।
सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट गरेका छन् । उनले सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स तथा बिमाका बारेमा जीवन बिमा कोर्ससमेत गरेका छन् ।
उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, सेयर सूत्र, वित्तीय स्वतन्त्रता, हाउ टु इन्भेस्ट इन स्टक मार्केट, जीवन बिमा जस्ता किताबहरु लेखेका छन् ।