विभागको स्थलगत निरीक्षण टोलीले भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरी तोकिएका सबै मापदण्ड पूरा भएको पाइएपछि रिसोर्टलाई यो प्रतिष्ठित मान्यता प्रदान गरेको हो। नेपालमा पर्यटन विभागबाट यसप्रकारको पाँचतारे डिलक्स मान्यता पाउने यो चौथो होटल वा रिसोर्ट बनेको छ।

केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित यस रिसोर्टले अन्तर्राष्ट्रिय होटल समूह ‘लुभ्र होटल्स् ग्रुप’ अन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौताअनुसार सेवा प्रवाह गर्दै आएको छ। सन् २०२५ जुलाईमा सफ्ट ओपनिङ भएको यो रिसोर्ट डिसेम्बर मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो। राप्ती नदीको समीप, जनकौली र कुमरोज सामुदायिक वन नजिकै ४.१२ एकड क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा आधुनिक कोठा रहेका छन्। यहाँ रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब, हेलिप्याड र रिभोल्भिंग रेस्टुरेन्टका साथै नेपालमै पहिलोपटक ‘तनावीबार’ र मध्यरातको मनोरञ्जनका लागि ‘स्पोर्ट्सबार’ सञ्चालन गरिएको छ। साथै, निर्माणमा स्थानीय काठ–फर्निचर, ढुंगा–टायल, जुटको गलैँचा र स्थानीय कला तथा सजावटका सामानहरूको व्यापक प्रयोग गरेर नेपालीपन झल्काउने प्रयास गरिएको छ।
यसैबीच, रिसोर्ट सञ्चालक कम्पनी केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता, अर्थात् कुल १५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। यस आईपीओका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। करिब १ अर्ब ७० करोड ५ लाख रुपैयाँ कुल परियोजना लागत रहेको यस कम्पनीले २०८१ असार २५ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा रूपान्तरण भई केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा सीईओ रामेश्वर शाहको नेतृत्वमा कारोबार अगाडि बढाइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस रिसोर्टले पाएको पाँचतारे डिलक्स मान्यताले सौराहालाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।