विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

Sep 23, 2026 01:51 PM Merolagani



सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो।

नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढंगले काम गर्न अध्यक्ष श्रेष्ठलाई निर्देशन दिए। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

मन्त्री तिमिल्सिनाले बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित हुने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्न निर्देशन दिएका छन्।

विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु चुनौती रहेको उल्लेख गर्दै उनले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए।

यस्तै, लोककल्याणकारी विज्ञापन वितरणलाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउनुपर्नेमा पनि मन्त्री तिमिल्सिनाले जोड दिए। सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सुशासन, सहज सेवा प्रवाह तथा विज्ञापन क्षेत्रको प्रभावकारी नियमन र व्यवस्थापनलाई केन्द्रमा राखेर नयाँ कार्ययोजना अघि बढाउने बताए।

श्रेष्ठ नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत हुन्। उनीसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव रहेको छ।