विशेषगरी कठिन भू-भागमा समेत उच्चस्तरीय अफरोड क्षमता खोज्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले नयाँ भेरियन्टको एसयूभी सार्वजनिक गरेको हो ।
‘अफरोड प्रो’ जी ६३ को पहिलो अफरोड–केन्द्रित भेरियन्ट हो। यसमा एएमजीको विशेष अफरोड प्रविधिसँगै लामो दूरीको यात्राका लागि उपयुक्त डिजाइन तथा उपकरण समावेश गरिएको छ। यसले जी ६३ को उच्च प्रदर्शन र विलासी विशेषतालाई भने कायम राखेको कम्पनीले जनाएको छ।
नयाँ भेरियन्टमा एएमजी एक्टिभ राइड कन्ट्रोल सस्पेन्सन उपलब्ध छ। यससँगै एएमजी ट्र्याक्सन प्रो र एएमजी एक्टिभ ब्यालेन्स कन्ट्रोलजस्ता विशेष अफरोड मोड दिइएको छ। यी प्रविधिले कठिन भूभागमा पाङ्ग्राको चाल, ट्र्याक्सन र गाडीको स्थिरता सुधार गर्न सहयोग गर्ने कम्पनीको दाबी छ।
अफरोड प्रोमा प्रोफेसनल रूफ लगेज र्याक र २० इन्चका एएमजी ५–ट्विन–स्पोक म्याट ब्ल्याक अलोय ह्विल प्रयोग गरिएको छ। यी उपकरणले गाडीलाई थप ‘एक्सपेडिसन–रेडी’ अर्थात् लामो तथा कठिन यात्राका लागि तयार स्वरूप प्रदान गर्छन्।

गाडीमा हस्तनिर्मित ४।० लिटर भी–८ बाइटर्बो पेट्रोल इन्जिन छ। ४८ भोल्टको माइल्ड हाइब्रिड प्रविधिसहितको उक्त इन्जिनले ५८५ हर्सपावर र ८५० एनएम टर्क उत्पादन गर्छ। एएमजी पर्फर्मेन्स ४म्याटिक अल–ह्विल ड्राइभ प्रणालीले सडक तथा अफरोड दुवै अवस्थामा गाडीको क्षमता बढाउने कम्पनीले जनाएको छ।
नयाँ अफरोड ककपिटमार्फत चालकले अफरोडसम्बन्धी प्रमुख फङ्सन र गाडीको जानकारी सहज रूपमा हेर्न सक्नेछन्। गाडीमा नयाँ एमबीयूएक्स एनटीजी७ इन्फोटेनमेन्ट सिस्टम पनि छ, जसमा अग्मेन्टेड रियालिटी नेभिगेसनलगायतका सुविधा उपलब्ध छन्। साथै, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) अन्तर्गत थप सुरक्षा सुविधा समावेश गरिएको छ।
भित्री भागमा नप्पा लेदर, प्रिमियम सामग्री र आफूअनुकूल परिवर्तन गर्न सकिने एम्बियन्ट लाइटिङजस्ता सुविधा छन्। बाहिरी डिजाइनमा भने जी–क्लासको परम्परागत स्वरूपलाई कायम राख्दै एएमजीका विशेष डिजाइन, फ्लेयर्ड ह्विल आर्च, विशेष बम्पर र नयाँ फ्रन्ट फेसिया प्रयोग गरिएको छ।
मर्सिडिज–बेन्ज इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष अय्यरले जी–क्लास चार दशकभन्दा लामो समयदेखि विश्वभरका अटोमोबाइल प्रेमीका लागि प्रतिष्ठित गाडीका रूपमा रहँदै आएको बताए। उनका अनुसार नयाँ ‘अफरोड प्रो’ ले थप अफरोड प्रविधि, उच्च प्रदर्शन र विशिष्ट डिजाइनमार्फत जी–क्लासको विरासतलाई अगाडि बढाएको छ।
उनले सीमित संख्यामा ‘अफरोड प्रो’ सार्वजनिक गर्नु कम्पनीको उच्चस्तरीय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने रणनीतिको हिस्सा भएको बताए। नयाँ संस्करणले जी ६३ का ग्राहक तथा प्रशंसकलाई आकर्षित गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
मर्सिडिज–एएमजी जी ६३ ‘अफरोड प्रो’ को भारतमा मूल्य ३ करोड ८० लाख भारुबाट सुरु हुन्छ। यो भारतभरका लागि एक्स–शोरुम मूल्य हो। सीमित संख्यामा मात्र उपलब्ध हुने भएकाले यसको बिक्री नियमित जी ६३ भन्दा फरक हुने कम्पनीले जनाएको छ।