श्रमिकलाई एक महिनाको आधारभूत तलबबराबर चाडपर्व खर्च अनिवार्य दिन विभागको निर्देशन, नदिए उजुरी गर्न आग्रह

Oct 12, 2026 02:45 PM Merolagani



सरकारले सबै रोजगारदाता तथा औद्योगिक–व्यावसायिक प्रतिष्ठानहरूलाई आफ्ना श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक विज्ञप्ति जारी गर्दै श्रम ऐनको व्यवस्थाअनुसार श्रमिकहरूले पाउने चाडपर्व खर्च नरोक्न सचेत गराएको हो।

विभागका अनुसार ‘श्रम ऐन, २०७४’ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक (बेसिक स्यालरी) बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने स्पष्ट कानुनी व्यवस्था छ।

उक्त कानुनी व्यवस्थाको पूर्ण पालना गर्न रोजगारदाताहरूलाई आग्रह गर्दै विभागले कुनै पनि श्रमिकलाई यस सुविधाबाट वञ्चित नगर्न भनेको छ।

नपाए उजुरी दिन सकिने

यदि कुनै रोजगारदाता वा प्रतिष्ठानले चाडपर्व खर्च उपलब्ध नगराएमा पीडित श्रमिकले सिधै कानुनी उपचार खोज्न सक्ने व्यवस्था मिलाइएको छ। सुविधा नपाउने श्रमिकले सम्बन्धित प्रतिष्ठान रहेको कार्यक्षेत्रमा पर्ने श्रम तथा रोजगार कार्यालय वा सिधै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने विभागका उप-महानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

श्रमिकहरूको सहजताका लागि विभागले उजुरी दिन मिल्ने क्यूआर (QR) कोड समेत सार्वजनिक गरेको छ। साथै, विभागको वेबसाइट (www.dolos.gov.np) वा इमेल (info@dolos.gov.np) मार्फत पनि श्रमिकहरूले आफ्ना उजुरी दर्ता गराउन सक्ने जनाइएको छ।