साथै, नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशनानुसार सूचीकृत कम्पनीहरूको दैनिक १५ प्रतिशतसम्मको सर्किट ब्रेकर व्यवस्था पनि पुनरावलोकन गर्न सकिने स्पष्ट पार्दै नेप्सेले बोर्डलाई औपचारिक पत्र पठाएको छ। यसअघि लगानीकर्ताको चर्को विरोधपछि स्थगन गरिएको अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा क्लोजिङ सूचकाङ्क तय गर्ने व्यवस्था सेबोनको पछिल्लो निर्देशनसँगै पुनः चर्चामा आएको हो। सेबोनले नेप्सेलाई निर्देशन दिँदै अन्तिम १५ मिनेटको कारोबारलाई आधार मानी सूचकाङ्क गणना गर्ने पुरानो विधि पुनः लागू गर्न सकिने वा नसकिने सम्भाव्यता अध्ययन गर्न भनेको थियो।
यस विषयमा नेप्सेका एक उच्च अधिकारीले प्राविधिक प्रणाली पूर्ण रूपमा तयार रहेको पुष्टि गरेका छन्।“अन्तिम १५ मिनेटको कारोबारका आधारमा सूचकाङ्क तय गर्ने व्यवस्था सञ्चालनका लागि नेप्से प्राविधिक रूपमा सक्षम छ र हाम्रो सिस्टम तयारी अवस्थामा छ,” ती अधिकारीले भने, “बोर्डले दिएको निर्देशनानुसार १५ प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था पनि आवश्यकता अनुसार पुनरावलोकन गर्न सकिने व्यहोरासहित हामीले बोर्डलाई पत्र पठाइसकेका छौँ। अब कार्यान्वयनका लागि बोर्डबाट थप स्पष्ट नीतिगत निर्देशन आउन बाँकी छ, हामी त्यही निर्णयको प्रतीक्षामा छौँ।”
विगतमा बजार बन्द हुने अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई आधार बनाएर क्लोजिङ इन्डेक्स तय गर्दा सीमित कित्ताको कारोबारले समेत समग्र सूचकाङ्क अस्वाभाविक रूपमा प्रभावित भएको गुनासो लगानीकर्ताहरूले गरेका थिए। विशेषगरी बजारमा तीव्र उतारचढाव र मन्दी आएको समयमा यस व्यवस्थाले लगानीकर्ताको मनोबल कमजोर बनाएको भन्दै चर्को विरोध भएपछि नियामकले उक्त व्यवस्था खारेज गरेको थियो। तर, कारोबारको अन्तिम समयमा हुने सम्भावित अस्वाभाविक मूल्य फेरबदल नियन्त्रण गर्न तथा क्लोजिङ मूल्य निर्धारण प्रक्रियालाई थप वैज्ञानिक र पारदर्शी बनाउन यो व्यवस्था ब्युँताउनुपर्ने बहस नियामक वृत्तमा फेरि सुरु भएको हो।
सेबोनले सूचीकृत कम्पनीहरूको दोस्रो बजार कारोबारमा लागू दैनिक १५ प्रतिशतसम्मको मूल्य घटबढसम्बन्धी सर्किट ब्रेकर व्यवस्था हालको बजारको अवस्थाअनुसार उपयुक्त भए/नभएको अध्ययन गरी सुझाव पेस गर्न नेप्सेलाई भनेको थियो।

नेप्सेले बोर्डलाई पठाएको पत्रमा बोर्डको चाहना र निर्देशनअनुसार १५ प्रतिशतको सर्किट ब्रेकर सीमाको विद्यमान प्रावधानलाई पुनरावलोकन गर्न सकिने उल्लेख गरेको छ। यी दुवै विषय फरक प्रकृतिका हुन्; अन्तिम १५ मिनेटको भारित औसत मूल्यले बजार बन्द हुँदाको सूचकाङ्क निर्धारण गर्छ भने सर्किट ब्रेकरले शेयरको दैनिक अधिकतम उतारचढावको सीमा तोक्छ।
नेप्सेले आफ्नो तर्फबाट प्राविधिक तयारी पूरा भएको र सर्किट ब्रेकर पुनरावलोकन गर्न सकिने जानकारीसहितको पत्र पठाइसकेकाले अब अन्तिम निर्णयको बल धितोपत्र बोर्डको कोर्टमा पुगेको छ। बजारको पारदर्शिता कायम राख्ने, मूल्यको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्ने र लगानीकर्ताको विश्वास जोगाउने गरी सेबोनले कस्तो नीतिगत निर्णय लिन्छ, त्यसैका आधारमा १५ मिनेटको VWAP व्यवस्था पुनः लागू हुने र सर्किट ब्रेकरको सीमा हेरफेर हुने छ।