केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू, लघुवित्त र पुर्वाधार बैंकलाई परिपत्र जारी गर्दै बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना र व्यवसायका साथै रसुवा भन्सार नाकाबाट हुने आयात तथा निर्यातमा आधारित व्यवसायका ऋणीहरूको कर्जा भुक्तानीको म्याद थप गर्न निर्देशन दिएको छ ।
बाढीका कारण बिक्री तथा आम्दानी, नगद प्रवाह र जगेडामा रहेको रकममा पारेको असर तथा कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाई भएका ऋणीहरूको विसं २०८३ असोज मसान्तमा बुझाउनुपर्ने सावाँ तथा ब्याजको किस्ता भुक्तानी गर्ने समयावधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले विसं २०८३ पुस मसान्तसम्म थप गर्न सक्ने व्यवस्था मिलाइएको छ. नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै एकीकृत निर्देशनमा संशोधन गरी यो व्यवस्था लागु गरिएको केन्द्रीय बैंकले जनाएको छ।