भारतमा नयाँ निसान म्याग्नाइटको मूल्य सार्वजनिक, ५.९९ लाख भारुबाट बिक्री सुरु

Oct 27, 2026 01:30 PM merolagani



निसानले भारतीय बजारमा सन् २०२४ को नयाँ म्याग्नाइट फेसलिफ्ट सार्वजनिक गर्दै बिक्री सुरु गरेको छ । 

नयाँ म्याग्नाइटको सुरुवाती मूल्य ५ लाख ९९ हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीका अनुसार नयाँ म्याग्नाइट ६ वटा भेरियन्टमा उपलब्ध छ । भिसिया, भिसिया प्लस, एसेन्टा, एन कनेक्टा, टेक्ना र टेक्ना प्लस भेरियन्टको मूल्य ५ लाख ९९ हजारदेखि ११ लाख ५० हजार भारतीय रुपैयाँसम्म तोकिएको छ । यी मूल्य पहिलो १० हजार गाडीको डेलिभरीका लागि मात्र लागू हुने प्रारम्भिक मूल्य हुन् ।

यस अघिको म्याग्नाइटको मूल्य ५ लाख ९९ हजारदेखि ११ लाख २७ हजार भारतीय रुपैयाँसम्म थियो । नयाँ मोडलमा केही मूल्य वृद्धि भए पनि कम्पनीले सुरुवाती मूल्य भने यथावत् राखेको छ ।

डिजाइनमा परिवर्तन

नयाँ म्याग्नाइटको बाहिरी डिजाइनमा परिमार्जन गरिएको छ । यसमा पहिलेभन्दा ठूलो र फराकिलो फ्रन्ट ग्रिल, परिमार्जित एलईडी हेडलाइट, नयाँ एलईडी डेटाइम रनिङ लाइट तथा अगाडिको बम्परमा नयाँ डिजाइन दिइएको छ । पछाडिको भागमा नयाँ एलईडी टेललाइट र परिमार्जित बम्पर राखिएको छ । साथै, १६ इन्चका नयाँ अलोय ह्विल पनि उपलब्ध छन् ।

नयाँ मोडलमा सनराइज कपर ओरेन्ज नामको नयाँ रङ थपिएको छ । यद्यपि, गाडीको समग्र आकार र अन्य मुख्य आयाममा परिवर्तन गरिएको छैन ।

म्याग्नाइटको लम्बाइ ३ हजार ९९४ मिलिमिटर, चौडाइ १ हजार ७५८ मिलिमिटर र उचाइ १ हजार ५७२ मिलिमिटर छ । यसको ह्विलबेस २ हजार ५०० मिलिमिटर र ग्राउन्ड क्लियरेन्स २०५ मिलिमिटर रहेको छ ।

केबिन र फिचरमा सुधार

नयाँ म्याग्नाइटको भित्री भागमा कालो र सुन्तला रङको डुअल टोन डिजाइन दिइएको छ । सिटको अपहोल्स्ट्री, स्टेयरिङ ह्विल तथा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरमा पनि परिमार्जन गरिएको छ ।

यसमा टाइप–सी चार्जिङ पोर्ट, अटोमेटिक हेडलाइट, रिमोट स्टार्ट सुविधा भएको नयाँ की फोब तथा अटो डिमिङ इन्टेरियर रियर भ्यु मिरर थपिएका छन् ।

यसअघि उपलब्ध वायरलेस फोन चार्जर, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, जेबीएल साउन्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र ३६० डिग्री क्यामेरा जस्ता सुविधा पनि निरन्तरता दिइएको छ ।

सुरक्षाका लागि सबै भेरियन्टमा ६ वटा एयरब्याग, सबै सिटमा तीन बिन्दु भएको सिटबेल्ट, सिटबेल्ट रिमाइन्डर तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल उपलब्ध छन् ।

दुई इन्जिन विकल्प

नयाँ म्याग्नाइटमा पहिलेको जस्तै १.० लिटर नेचुरली एस्पिरेटेड र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध छन् ।

नेचुरली एस्पिरेटेड इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क उत्पादन गर्छ । यो इन्जिनमा पाँच गियरको म्यानुअल र एएमटी गियरबक्स विकल्प छन् ।

त्यस्तै, टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच गियरको म्यानुअल तथा सीभीटी अटोमेटिक ट्रान्समिसन विकल्प उपलब्ध छन् ।

कम्पनीले उपलब्ध गराएको विवरणअनुसार म्यानुअल गियरबक्समा प्रतिलिटर २० किलोमिटर र सीभीटी अटोमेटिकमा प्रतिलिटर १७.४ किलोमिटरसम्म माइलेज प्राप्त हुन्छ ।