साधारण सभा र लाभांशको समय, कुन कम्पनीले कति दिँदैछन् प्रतिफल?

Oct 29, 2026 03:03 PM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरूको वार्षिक साधारण सभाको सिजन सुरु भएको छ। कम्पनी ऐनको कानुनी व्यवस्था अनुसार सबै सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै अनिवार्य रूपमा आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्छ।

 

गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न, लाभांश वितरणको प्रस्ताव पारित गर्न र अन्य महत्त्वपूर्ण नीतिगत निर्णयहरू लिन कम्पनीहरूले अहिले साधारण सभा गर्ने समय हो। यस अवधिमा लगानीकर्ताहरूको मुख्य चासो कम्पनीले कति प्रतिशत लाभांश घोषणा गरेको छ, बोनस वा हकप्रद शेयर जारी गर्दैछ कि छैन र लाभांश प्राप्तिका लागि शेयरधनी दर्ता किताब बन्द हुने (बुक क्लोज) मिति कहिले तोकिएको छ भन्ने विषयमा बढी केन्द्रित हुने गर्दछ।

हालसम्म २८ वटा कम्पनीले वार्षिक साधारण सभा र ३ वटा कम्पनीले विशेष साधारण सभा आह्वान गरेका छन्। यसपटक सूचीकृत कम्पनीहरूले बोनस शेयरभन्दा पनि नगद लाभांश वितरणमा बढी जोड दिएको देखिएको छ।

साधारण सभा आह्वान गरेका यी कम्पनीहरूमध्ये रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सबैभन्दा आकर्षक नगद लाभांश वितरण गरेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई ३० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। यसका साथै, कम्पनीको सभाले वार्षिक वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने तथा सञ्चालकहरूको निर्वाचन गर्नेलगायतका महत्त्वपूर्ण प्रस्तावहरू पनि अनुमोदन गरेको छ।

नेपाल ल्युब आयल लिमिटेडको ३५औँ वार्षिक साधारण सभामा शेयरधनीहरूलाई ६.०५२६ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ। यसका साथै, कम्पनीले १:२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र हकप्रद शेयरबाट सङ्कलित पूँजीको प्रभावकारी उपयोग गर्ने प्रस्ताव पेस गरेको छ।

त्यसैगरी, कलिन्चोक दर्शन लिमिटेडको १२औँ वार्षिक साधारण सभामा ८.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ। कम्पनीले १:१ को बराबर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, जारी तथा चुक्ता पूँजी बढाउने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावहरू पनि अगाडि बढाएको छ।

यता, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले भने आफ्नो आठौँ वार्षिक साधारण सभामार्फत शेयरधनीहरूका लागि ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ।

बैंक तथा वित्तीय संस्थाका प्रतिफल प्रस्ताव

सिद्धार्थ बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभाले शेयरधनीहरूका लागि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअन्तर्गत १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर रहेको छ। यसका साथै, बैंकका अग्राधिकार शेयरधनीहरूका लागि ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत साधारण सभाबाट स्वीकृत भएको छ।

यता, कुमारी बैंक लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारण सभामार्फत २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गराई उक्त लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गरिसकेको छ।

माछापुच्छ्रे बैंकको २८औँ वार्षिक साधारण सभाले कुल ६ प्रतिशत लाभांश पारित गरी शेयरधनीहरूलाई वितरण गरिसकेको छ। जसअन्तर्गत ३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर रहेको छ। यसका साथै, बैंकका अग्राधिकार शेयरधनीहरूका लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ।

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभामा कुल ४ प्रतिशत लाभांशको प्रस्ताव गरिएको छ। जसअन्तर्गत ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ। त्यस्तै, सानिमा बैंकको २२औँ वार्षिक साधारण सभामा शेयरधनीहरूका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिएको छ। ग्लोबल आइएमई बैंकको २०औँ वार्षिक साधारण सभाका लागि कुल १० प्रतिशत लाभांश प्रस्ताव गरिएको छ। जसमा ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर रहेको छ।

विकास बैंक क्षेत्रतर्फ गरिमा विकास बैंकले आफ्नो २०औँ वार्षिक साधारण सभामार्फत शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गरेर वितरण गरेको छ। त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले २२औँ वार्षिक साधारण सभामार्फत ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गरिसकेको छ। यता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १८औँ वार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरी शेयरधनीहरूलाई बाँडेको छ।

कामना सेवा विकास बैंकको २०औँ सभामा १५ प्रतिशत नगद लाभांश र अग्राधिकार शेयर पुँजीमा ९ प्रतिशत नगद लाभांश प्रस्ताव सभाबाट पारित गरि वितरण गरेको छ। आईसीएफसी फाइनान्सको २३औँ सभामा १०.५२प्रतिशत नगद लाभांश प्रस्ताव थियो। यी कम्पनीका सभामा वार्षिक वित्तीय विवरण, लेखापरीक्षक नियुक्ति र सञ्चालक सम्बन्धी विषय पनि सभाबाट अनुमोदन गराएको छ।

जलविद्युत् कम्पनीहरूमा केबेली हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभामा १६.३१ प्रतिशत नगद लाभांश वितरण गरेको छ। माण्डु हाइड्रोपावरको १४औँ तथा १५औँ साधारण सभासम्बन्धी विवरणमा १२ प्रतिशत नगद लाभांश उल्लेख छ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २९औँ सभामा ०.२६३० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिएको छ।

सुपर मादी हाइड्रोपावरको १७औँ सभामा ०.७८प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर प्रस्ताव गरिएको थियो। कम्पनीले २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभाले पारित गरिसकेको छ। त्यसैगरी, माथिल्लो तमोर जलविद्युत् आयोजनाको निर्माणका लागि हकप्रद शेयर जारी गर्ने विषय एजेन्डा सभाबाट पास गराएको छ।

गराँस लघुवित्त वित्तीय संस्थाको ११औँ वार्षिक साधारण सभामा ०.५ प्रतिशत नगद लाभांश र ९.५ प्रतिशत बोनस शेयर प्रस्ताव गरिएको थियो। जीवन विकास लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका विशेष साधारण सभामा तीन संस्थाबीचको मर्जरसम्बन्धी प्रस्ताव राखिएको थियो। ड्यु डिलिजेन्स अडिट र शेयर स्वाप अनुपात अनुमोदन गर्ने विषय पनि एजेन्डामा थिए।

ओरियन्टल होटल लिमिटेडको २९औँ वार्षिक साधारण सभामा वित्तीय विवरण, लेखापरीक्षक नियुक्ति र इक्विटीमा परिवर्तनसम्बन्धी विषय राखिएको थियो। पियोर इनर्जी लिमिटेडको नवौँ सभामा वित्तीय विवरण, लेखापरीक्षक नियुक्ति र सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने प्रस्ताव थिए। मनकामना इन्जिनियरिङ हाइड्रोपावर, रिज लाइन इनर्जी, भुजुङ हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावरका शेयरधनीले यस पटक केही पाएनन।