लामो समयसम्म निर्माण कार्यले अपेक्षित गति लिन नसकेपछि सडक डिभिजन इलामले ९.५ किलोमिटर सडक खण्डको ठेक्का तोडेको हो ।
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको मेची करिडोरको उक्त खण्ड निर्माणका लागि २०७८ असार २९ गते सम्झौता भएको थियो । २०८० पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि पटक–पटक म्याद थप गर्दै कुल ६३ महिना समय उपलब्ध गराउँदा पनि भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएको थियो ।
निर्माण कार्यमा अपेक्षित प्रगति नभएपछि सडक डिभिजन इलामले २०८३ कात्तिक ११ गते ठेक्का सम्झौता अन्त्य गरेको हो । पछिल्लो सात महिनामा निर्माणको प्रगति ३ प्रतिशतभन्दा कम रहेपछि ठेक्का तोड्ने निर्णय गरिएको जनाइएको छ ।
यसैबीच, सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । निर्माण कार्यमा ढिलाइ तथा सम्झौता अनुसार काम नभएका ठेक्कामाथि कारबाही अघि बढाउने क्रममा पेश्की रकमसमेत असुल गरिएको छ ।
डिभिजनका अनुसार ठेक्का सम्झौता अन्त्य गरिएका आयोजनामध्ये पेस्कीबापत २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ । त्यस्तै, कार्यसम्पादन जमानत बापतको ६ करोड ७९ लाख रुपैयाँ जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ ।
कानुन तथा ठेक्का सम्झौताबमोजिम असुल गर्नुपर्ने अन्य सरकारी बाँकी रकमसमेत असुल गरिने सडक डिभिजन इलामले जनाएको छ ।
मेची करिडोरअन्तर्गतको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको निर्माणमा भएको ढिलाइले स्थानीयवासी तथा यस क्षेत्रका यात्रुको आवागमनमा असर पर्न सक्ने भएकाले बाँकी निर्माण कार्य कसरी अघि बढाइन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ ।