नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम करिब साढे ६ महिनायताकै उच्च

Oct 29, 2026 03:12 PM Merolagani



बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ६९ हजार ६१९ पटकको कारोबारमा ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँबराबरको २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिनको कारोबार रकम करिब साढे छ महिनायताकै उच्च हो। यस अघि गत बैशाख ३ गते नेप्सेमा करिब साढे ९ अर्बको शेयर खरिदबिक्री भएको थियो।

बेनी हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८० रुपैयाँ ५० पैसा बढेर ६१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य यस दिन ३.६५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ६१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।