बहुपक्षीय रुपमा अर्थतन्त्रलाई चलायमान बनाउदैँ अन्तिम चरणमा पुग्यो एनपीएल

Nov 20, 2026 05:14 PM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तिम चरणमा पुगेको छ ।

यो प्रतियोगिताको आर्थिकलगायतका पक्षहरु कस्ता रहे, त्यो केही समयपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गर्नेछ भन्ने आशा गरौं ।

आठ फ्रेन्चाइज टिम सहभागी प्रतियोगिताले यसपटक एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्ने नेपाल क्रिकेट संघ (क्यान)को अनुमान छ। अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता, प्रसारण अधिकारको बिक्री, प्रायोजन, टिकट, होटल तथा अन्य व्यावसायिक गतिविधिले एनपीएललाई नेपाली क्रिकेटको सबैभन्दा ठूलो व्यावसायिक आयोजनामध्ये एक बनाएको छ।

 

अक्टोबर २६ देखि सुरु भएको प्रतियोगिताको फाइनल नोभेम्बर २१ अर्थात अगामी शनिबार हुनेछ।

यसपटकको विजेताले एक करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख, तेस्रो हुने टिमले ४० लाख र चौथो हुने टिमले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । कुल पुरस्कार रकम तीन करोड रुपैयाँ हो । अघिल्ला दुई संस्करणमा विजेताले १ करोड १० लाख रुपैयाँ पाएका थिए । विर्सन नहुने कुरा के हो भने पुरस्कार रकम टिमले पाउने हो, खेलाडीले प्रत्यक्ष रूपमा पाउने होइन।

तीन वर्षमै क्यानको आम्दानीमा उल्लेख्य वृद्धि

एनपीएलको व्यावसायिक आकार पछिल्ला तीन वर्षमा तीव्र रूपमा बढेको छ। क्यानले सन् २०२४ मा प्रतियोगिताबाट २७ करोड ६९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो। सन् २०२५ मा यो बढेर ४७ करोड ३६ लाख रुपैयाँ पुगेको थियो। एक वर्षमै आम्दानी करिब ७१ प्रतिशत बढेको देखिन्छ।

क्यानका अनुसार सन् २०२४ मा प्रतियोगिता सञ्चालनमा २० करोड १५ लाख रुपैयाँ खर्च भएको थियो। सन् २०२५ मा खर्च २१ करोड ९६ लाख रुपैयाँ पुगेको थियो। खर्च कटाएर क्यानले सन् २०२४ मा दुई करोड ४६ लाख र सन् २०२५ मा नौ करोड २१ लाख रुपैयाँ राखेको थियो।

सन् २०२५ मा क्यानले आठवटै फ्रेन्चाइज टिमलाई कुल १६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरेको थियो।

तेस्रो संस्करणका लागि क्यानले प्रसारण तथा टिकटिङ अधिकार बिक्रीबाट मात्रै ३३ करोड ५३ लाख रुपैयाँ प्राप्त गरेको छ। नेटटीभीले विश्वव्यापी डिजिटल प्रसारण अधिकार १८ करोड चार लाख रुपैयाँमा खरिद गरेको छ भने हिमालय टेलिभिजनले नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार १४ करोड ६४ लाख रुपैयाँमा लिएको छ। इसेवाले ८५ लाख रुपैयाँमा टिकटिङ अधिकार पाएको छ।

सिद्धार्थ बैंक प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ। रेड बुल, बजाज पल्सर, प्रोस्टाइल, नेपाल लाइफ इन्स्योरेन्स, प्रोटोन, एसियन पेन्ट्स, सोयम र हिमस्टारलगायत कम्पनी पनि प्रायोजन तथा साझेदारीमा जोडिएका छन्।

क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले यसपटक प्रायोजनबाट करिब २० करोड रुपैयाँ र टिकट तथा प्रसारणबाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेका छन्।

लिग चरणका खेलमा साधारणतर्फको टिकट पाँच सय र प्रिमियम सिटको टिकट एक हजार रुपैयाँ तोकिएको थियो। एलिमिनेटर र फाइनलका लागि साधारण टिकट एक हजार र प्रिमियम टिकट दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

क्यानसँग सम्बन्धित कारोबार करिब ७० देखि ७५ करोड रुपैयाँ र फ्रेन्चाइज टिमहरूले खेलाडीको पारिश्रमिक, होटल, यातायात, व्यवस्थापन तथा प्रचारप्रसारमा गर्ने खर्च करिब ७० देखि ७५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

यसपटक एउटा फ्रेन्चाइज टिमको औसत खर्च करिब १५ करोड रुपैयाँ पुग्ने अनुमान छ। अघिल्ला संस्करणमा प्रतिटिम खर्च आठदेखि १० करोड रुपैयाँको हाराहारीमा थियो। अघिल्ला वर्षमा केही फ्रेन्चाइज टिमले सञ्चालनमा घाटासमेत बेहोरेका थिए।

होटलमा आठ टिमको करोडौँ खर्च

एनपीएलले क्रिकेट मैदानबाहिर होटल, रेस्टुरेन्ट, यातायात र खुद्रा व्यापारमा पनि आर्थिक गतिविधि बढाएको छ। होटल एसोसिएसन नेपालका प्रतिनिधिहरूका अनुसार एउटा टिममा खेलाडी तथा कर्मचारी गरी ३० देखि ३५ जना रहने गरेका छन्। प्रत्येक टिमले करिब छ हप्ताका लागि २५ देखि ३० वटा कोठा बुक गरेका छन् ।

एउटा टिमले होटलमा मात्रै ८० लाखदेखि डेढ करोड रुपैयाँसम्म खर्च गर्ने अनुमान छ। आठवटै टिमको होटल खर्च जोड्दा यो रकम ६ करोड ४० लाखदेखि १२ करोड रुपैयाँसम्म पुग्न सक्छ।

रेस्टुरेन्टहरूले पनि एनपीएललाई व्यवसाय बढाउने अवसरका रूपमा प्रयोग गरेका छन्। कतिपय रेस्टुरेन्टले ठूलो पर्दामा प्रत्यक्ष खेल देखाउने, खाना तथा खेल हेर्ने प्याकेज बनाउने र समर्थकलाई आकर्षित गर्ने गतिविधि सञ्चालन गरेका छन्। खेल मैदानमा टिकट नपाएका दर्शकका लागि रेस्टुरेन्टहरू खेल हेर्ने वैकल्पिक स्थान बनेका छन्।

टिमका जर्सी,  हुडी,  टोपी र अन्य समर्थक सामग्रीको बिक्री पनि बढेको छ। यसले एनपीएललाई खेल प्रतियोगितामा मात्र सीमित नराखी समर्थकको भावना र टिमको पहिचानसँग जोडिएको व्यापारिक बजारका रूपमा पनि विकास गरिरहेको छ। 

नेपाली खेलाडीको कमाइ र विदेशी खेलाडीको बजेट

एनपीएलले नेपाली क्रिकेटरका लागि व्यावसायिक आम्दानीको अवसर विस्तार गरेको छ। प्रत्येक फ्रेन्चाइजले १४ जना घरेलु खेलाडीका लागि अधिकतम ९० लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ । मार्की खेलाडीले अधिकतम २० लाख रुपैयाँ पाउन सक्छन्।

विदेशी खेलाडीका लागि भने प्रत्येक टिमले तीनदेखि चार करोड रुपैयाँसम्म बजेट छुट्याएको छ। यो घरेलु खेलाडीका लागि छुट्याइएको कुल सीमाभन्दा तीनदेखि चार गुणा बढी हो। विदेशी खेलाडीका व्यक्तिगत सम्झौता सार्वजनिक नभएकाले उनीहरूले पाउने वास्तविक पारिश्रमिक भने यकिन छैन।

यसपटक घरेलु खेलाडीको छनोट प्रक्रियामा ३४७ जनाले नाम दर्ता गराएका थिए। त्यसमध्ये १५५ जना छनोट सूचीमा परे र ३७ जना अक्सनबाट बिक्री भए। यसअघि ५२ जना खेलाडीलाई टिमहरूले कायम राखेका थिए।

 खेलाडीको वर्गीकरणमा पाँच जना 'ए' श्रेणी, २७ जना 'बी' श्रेणी र १२३ जना 'सी' श्रेणीमा परेका थिए।

फ्रेन्चाइज टिमले आफ्नो टोलीमा बढीमा आठ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था छ। तीमध्ये कम्तीमा एक जना आईसीसी एसोसिएट राष्ट्रको हुनुपर्छ। तर एक खेलमा बढीमा चार जना विदेशी खेलाडी मात्रै खेलाउन पाइन्छ। त्यसैले खेलको सुरुआती ११ खेलाडीमध्ये कम्तीमा सात जना नेपाली हुन्छन्।

यसपटक प्रतियोगितामा करिब ४८ विदेशी खेलाडी सहभागी भएका छन्। काठमाडौं गोर्खाजबाट डेभिड वार्नर, लुम्बिनी लायन्सबाट डेभिड मिलर, विराटनगर किङ्सबाट आन्द्रे रसेल, पोखरा एभेन्जर्सबाट शकिब अल हसन, जनकपुर बोल्ट्सबाट मोइन अली र जिमी निशम तथा चितवन राइनोजबाट रवि बोपारा र सिकन्दर रजाजस्ता चर्चित खेलाडी सहभागी छन्।

 आईसीसीको मान्यतासँगै खेलाडीको उपलब्धि आधिकारिक अभिलेखमा

एनपीएलको तेस्रो संस्करणको अर्को महत्वपूर्ण उपलब्धि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त मान्यता हो। अक्टोबर २१ मा आईसीसीले एनपीएलका खेललाई आधिकारिक टी–२० प्रतियोगिताको मान्यता दिएको थियो।

यससँगै एनपीएलमा खेलाडीले बनाएका रन र लिएका विकेट उनीहरूको आधिकारिक टी–२० तथ्याङ्कमा गणना हुनेछन्। प्रतियोगितामा यसपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) पनि प्रयोग गरिएको छ। क्यानका सचिव पारस खड्काका अनुसार डीआरएस सञ्चालनमा करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च भएको छ। यो खर्च क्यान र फ्रेन्चाइज टिमहरूले साझेदारीमा बेहोरेका छन्।

अघिल्लो संस्करणमा डीआरएस महँगो भएकाले प्रयोग गर्न नसकिएको क्यानको भनाइ थियो। एक वर्षमै यस्तो प्रविधि प्रयोग गर्न सक्नु प्रतियोगिताको आर्थिक तथा प्राविधिक क्षमता बढेको संकेतका रूपमा हेरिएको छ। 

घरेलु खेलाडीको प्रदर्शनले बनायो नयाँ सम्भावना

 विदेशी खेलाडीको चर्चा भए पनि यसपटक नेपाली खेलाडीले पनि उल्लेखनीय प्रदर्शन गरेका छन्।

विराटनगर किङ्सका लोकेश बमले सात खेलमा २४२ रन बनाए। उनको उच्चतम स्कोर ८७ रन रह्यो। उनले ३४.५७ को औसत र १४२.४ को स्ट्राइक रेटमा रन बनाउँदा १८ छक्का प्रहार गरे। विराटनगर प्लेअफमा पुग्न नसके पनि लोकेशको प्रदर्शन चर्चामा रह्यो।

जनकपुर बोल्ट्सका राहुल यादवले १२ विकेट लिए। उनले १३.१७ को औसत र ६.८७ को इकोनोमीमा बलिङ गरे। उनको उत्कृष्ट प्रदर्शन ३१ रन दिएर चार विकेट लिनु रह्यो। उनले आफ्नो पहिलो बलमै विकेट लिएका थिए।

राहुल जनकपुरले आयोजना गरेको ४४६ खेलाडी सहभागी ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी हुन्। यसले स्थानीय प्रतिभा पहिचान र अवसर विस्तारको महत्व देखाएको छ। 

सर्वाधिक रन बनाउने शीर्ष खेलाडीहरू

स्थान  खेलाडी             टोली                 इनिङ्स  कुल रन      औसत

१     युवराज सिंह सामरा  पोखरा एभेन्जर्स     ४     २९४           ७३.५०

२     लोकेश बम        विराटनगर किंग्स        ७     २४२            ३४.५७

३     रवि बोपारा   चितवन राइनोज               ६     २३६            ४७.२०

४     कुशल भुर्तेल  पोखरा एभेन्जर्स               ७     २३५            ३३.५७

५     दीपेन्द्र सिंह ऐरी    सुदूरपश्चिम रोयल्स      ८     २०२            २८.८६

६     राशिद खान   काठमाण्डु गोर्खाज            ७     १९८            ३३.००

७     कामिल मिश्रा चितवन राइनोज                ४     १८५              ६१.६७

८     आरिफुल इस्लाम     कर्णाली याक्स          ७     १८२             २६.००

  

सर्वाधिक विकेट लिने शीर्ष खेलाडीहरू

 

१     रिजन ढकाल  चितवन राइनोज     ७     १६    ४/१६

२     कमल सिंह ऐरी      चितवन राइनोज     ७     १२    ४/२६

२     राहुल यादव   जनकपुर बोल्ट्स     ७     १२    ४/३१

२     जहान्दाद खान काठमाण्डु गोर्खाज    ८     १२    ४/२३

५     शेर मल्ल     लुम्बिनी लायन्स     ७     ११    ३/११

५     हरमीत सिंह  जनकपुर बोल्ट्स     ७     ११    ४/१७

५     मार्क वाट     कर्णाली याक्स ७     ११    ४/१२

८     अनिल खरेल  सुदूरपश्चिम रोयल्स  ८     १०    ३/२३

 यो विहिबारसम्म क्वालिफायर २खेल अघिको आंकडा हो । क्वालिफायर २ र फाइनल खेल बाँकी रहेकाले चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सका खेलाडीहरूको यो तथ्याङ्क अझै हेरफेर हुन सक्नेछ। 

आठ क्षेत्रका टिम, तर आर्थिक गतिविधि काठमाडौंमै केन्द्रित

एनपीएलको आर्थिक विस्तारसँगै देखिएको एउटा चुनौती प्रतियोगिताका सबै खेल एउटै मैदानमा हुनु हो। यसपटकका सबै ३२ खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका छन्।

यसले खेल हेर्न आउने दर्शक, होटल, रेस्टुरेन्ट, यातायात र अन्य सेवाबाट हुने आम्दानीको ठूलो हिस्सा काठमाडौंमै केन्द्रित गरेको छ। आठवटा फ्रेन्चाइज टिम विभिन्न क्षेत्र र सहरको नाममा रहे पनि ती क्षेत्रका स्थानीय व्यवसायले प्रत्यक्ष लाभ पाउने अवसर सीमित भएको छ।

 मूलपानी क्रिकेट मैदान र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण तथा सञ्चालनमा भएको ढिलाइले अन्य स्थानमा प्रतियोगिता आयोजना गर्ने विकल्प सीमित बनाएको छ।

एनपीएलको बढ्दो आर्थिक आकारले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना देखाएको छ। अबको चुनौती भनेको एक महिनाको प्रतियोगिताले सिर्जना गरेको उत्साहलाई वर्षभरि चल्ने खेल अर्थतन्त्रमा बदल्नु हो। त्यसका लागि निजी क्षेत्रको लगानी, खेलाडीको आम्दानी, स्थानीय व्यवसायको सहभागिता र देशभर क्रिकेट पूर्वाधारको विकासलाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ।