राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रशासनिक तथा आवास भवन र पक्की पुलको शिलान्यास गरिएको हो ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले गोरखाको गण्डकी गाउँपालिका–स्थित घ्याल्चोकको सिउरेनीटारमा आयोजित विशेष समारोहबीच बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका हुन् ।
शिलान्याससँगै आयोजनाको निर्माण व्यवस्थापन र कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माणको काम अघि बढेको छ । बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार प्रशासनिक तथा आवास भवन र पक्की पुल निर्माणको काम सुरु गरिएको हो ।
१२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना जलाशययुक्त आयोजना हो । आयोजना निर्माण सम्पन्न भएपछि मुलुकको विद्युत् उत्पादन क्षमता वृद्धि हुनुका साथै ऊर्जा आपूर्तिलाई थप भरपर्दो बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।