विश्वका ६० वटा प्रमुख स्टक एक्सचेन्जहरूमा १५ वर्ष लगाएर गरिएको अध्ययनले बजारबाट कम्पनीहरू बाहिरिनु कुनै आर्थिक संकट वा असफलता नभई मुख्यतः ‘मर्जर तथा प्राप्ति’ (M&A) को स्वाभाविक परिणति भएको तथ्य बाहिर ल्याएको छ। डब्लूएफईका शोधकर्ताहरू डा. इशाक देमिर, डा. एरफान घोफ्रानी र डा. यिङ लिउद्वारा तयार पारिएको ‘पब्लिक मार्केट ट्रेन्ड: अ ग्लोबल एनालिसिस अफ डेलिस्टिङ प्याटर्न्स’ शीर्षकको अनुसन्धान प्रतिवेदनमा उक्त बिषय बाहिर ल्याइएको हो।
डब्लूएफईको विश्वव्यापी निष्कर्ष : मर्जर नै प्रमुख संवाहक, तरलताले घटाउँछ बहिर्गमन
डब्लूएफईको कार्यपत्रले सन् २०१० देखि २०२४ सम्मको अवधिमा विश्वका ५५ क्षेत्राधिकारभित्र सञ्चालित ६० वटा स्टक एक्सचेन्जको वार्षिक तथ्यांक विश्लेषण गरेको छ। प्रतिवेदनले सार्वजनिक बजारबाट कम्पनीहरू बाहिरिने प्रक्रियालाई तीन वर्गमा छुट्याएको छ।
१. मर्जर तथा प्राप्ति (M&A) : दुई वा दुईभन्दा बढी कम्पनी गाभिएर हुने बहिर्गमन।
२. स्वेच्छिक डिलिस्टिङ (Voluntary Delisting) : प्राइभेट कम्पनीमा रूपान्तरण हुन वा वैकल्पिक प्लेटफर्ममा जान कम्पनी आफैंले चाहेर हुने बहिर्गमन।
३. बाध्यात्मक डिलिस्टिङ (Involuntary Delisting) : वित्तीय टाट पल्टाइ, उत्पादन बन्द वा सूचीकरणका सर्त तथा नियमहरू उल्लंघन गरेका कारण एक्सचेन्जले जबर्जस्ती गर्ने खारेजी।
अध्ययनले देखाएको छ कि विश्वभर कुल डिलिस्टिङमध्ये झण्डै दुई-तिहाइदेखि तीन-चौथाइ (६० देखि ७५ प्रतिशत) हिस्सा मर्जर तथा प्राप्तिकै हुने गर्दछ। कम्पनीहरूको वित्तीय स्वास्थ्य परीक्षण गर्ने विश्वप्रसिद्ध ‘अल्टम्यान जेड-स्कोर’ (Altman Z-score) र बजार पुँजीकरणका आधारमा मूल्याङ्कन गर्दा मर्जरमार्फत बाहिरिने कम्पनीहरू बजारका मध्यमभन्दा माथिल्लो स्तरका, ठूला र आर्थिक रूपमा निकै स्वस्थ हुने गरेका छन्।
यसको ठीक विपरीत, बाध्यात्मक डिलिस्टिङमा पर्ने कम्पनीहरू भने चरम वित्तीय संकटमा फसेका र साना आकारका हुने गर्छन्। अध्ययनका अनुसार दोस्रो बजारमा तरलता (Turnover Velocity) उच्च हुँदा कम्पनीहरूको समग्र डिलिस्टिङ दर र विशेषगरी बाध्यात्मक डिलिस्टिङ दरमा उल्लेख्य कमी आउँछ।डिलिस्टिङका यी विविध आयामसम्बन्धी तथ्यांक विश्लेषण गर्दै डब्लूएफईका अनुसन्धान प्रमुख पेड्रो गुरोला-पेरेजले भनेका छन् "तथ्यांकले स्पष्ट पार्दछ कि सूचीकरण खारेजीका गतिविधिहरू नितान्त फरक शक्तिहरूद्वारा निर्देशित हुन्छन्। सार्वजनिक बजारबाट बाहिरिने अधिकांश हिस्सा मर्जर तथा प्राप्ति (M&A) को छ, जसमा आर्थिक रूपमा बलिया र ठूला कम्पनीहरू संलग्न हुन्छन्; जबकी बाध्यात्मक खारेजी मुख्यतया साना र आर्थिक रूपमा कमजोर कम्पनीहरूमा केन्द्रित छ। तरलता र सूचीकरण खारेजीको दरबीचको सम्बन्धले सार्वजनिक बजारको दिगोपनाका लागि प्रभावकारी दोस्रो बजार कति महत्त्वपूर्ण छ भन्ने स्पष्ट गर्छ।"
यता नेप्सेको तीन दशक लामो इतिहासमा हालसम्म १८५ वटा कम्पनीहरू सूचीकरणबाट खारेज (डिलिस्ट) भइसकेका छन्। सामान्य आँखाले हेर्दा बजारबाट झण्डै दुई सय कम्पनी हराउनुलाई नेपाली पूँजी बजारको ठूलो क्षति वा संकुचनका रूपमा व्याख्या गर्न सकिएला। तर, उपलब्ध आधिकारिक तथ्यांकको वर्गीकरण गर्दा एउटा अकाट्य यथार्थ बाहिर आउँछ— ती १८५ डिलिस्टेड कम्पनीहरूमध्ये १७८ वटा (झण्डै ९६.२ प्रतिशत) कम्पनीहरू केवल बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरू हुन्, जो शतप्रतिशत संस्थागत एकीकरण (मर्जर तथा प्राप्ति) का कारण बजारबाट हटेका हुन्।

यसको अर्थ नेपालमा कम्पनीहरूको बहिर्गमन कुनै बजारको असफलता थिएन, बरु नियामकको नीतिगत हस्तक्षेपका कारण वित्तीय संस्थाहरूको पूँजी बलियो बनाउन चालिएको कदम थियो। यद्यपि, अर्कोतर्फ विश्व बजारमा वित्तीय संकटमा परेका रुग्ण कम्पनीहरूलाई तुरुन्तै ‘अनिवार्य डिलिस्ट’ गरी लगानीकर्तालाई निकास दिने कानुनी अभ्यास भए पनि नेपालमा भने २४ वटा ‘कम्पनीहरू’ लाई दशकौंदेखि कारोबार स्थगन (सस्पेन्सन) को कोमामा राखेर अर्बौं रुपैयाँ पूँजी बन्धक बनाइएको डरलाग्दो यथार्थ पनि यस अध्ययनको ऐनामा छर्लङ्ग भएको छ।
नेप्सेको १८५ डिलिस्टिङको यथार्थ : ९६ प्रतिशत केवल ‘मर्जर’ को परिणाम
डब्लूएफईको अध्ययनले विकसित बजारहरूमा मर्जरको हिस्सा ७२ प्रतिशत र उदीयमान बजारहरूमा ५६ प्रतिशत रहेको देखाएको छ। तर, नेपालको सन्दर्भमा भने यो अनुपात झण्डै ९६.२ प्रतिशतको चरम विन्दुमा पुगेको छ।
नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको संरचनात्मक स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पूँजी चार गुणासम्म बढाउने नीति लियो। विशेषगरी वाणिज्य बैंकहरूको न्यूनतम चुक्ता पूँजी २ अर्बबाट एकैपटक ८ अर्ब रुपैयाँ पुर्याउने बाध्यात्मक व्यवस्था गरिएपछि नेपालको पूँजी बजारमा मर्जर तथा प्राप्तिको अभूतपूर्व लहर चल्यो। सोही पदचाप पछ्याउँदै बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले पनि जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने नीति अघि सारेपछि दर्जनौं बीमा कम्पनीहरू पनि मर्जरमा होमिए।
नियामकको यही पूँजी वृद्धिको नीतिका कारण नेप्सेबाट ऐतिहासिक रूपमा डिलिस्ट भएका प्रमुख संस्थाहरूको वर्गीकरण गर्दा यस्तो देखियो।
-
१२ वटा वाणिज्य बैंकहरू : बैंक अफ काठमाण्डू (ग्लोबल आईएमई बैंकसँग), नेपाल बंगलादेश बैंक (नबिल बैंकसँग), मेगा बैंक नेपाल (नेपाल इन्भेष्टमेन्ट बैंकसँग), सेन्चुरी कमर्सियल बैंक (प्रभु बैंकसँग), सिभिल बैंक (हिमालयन बैंकसँग), सनराइज बैंक (लक्ष्मी बैंकसँग), एनसीसी बैंक (कुमारी बैंकसँग), ग्राण्ड बैंक (प्रभु बैंकसँग), कमर्ज एन्ड ट्रस्ट बैंक (ग्लोबल आईएमईसँग), लुम्बिनी बैंक (बैंक अफ काठमाण्डूसँग), बैंक अफ एशिया नेपाल (एनआईसी बैंकसँग) र जनता बैंक नेपाल (ग्लोबल आईएमईसँग) गाभिएर विधिवत डिलिस्ट भए।
-
७५ भन्दा बढी विकास बैंकहरू : कुनै समय नेप्सेमा विकास बैंकहरूको बाढी नै थियो। तर कैलाश, गण्डकी, सिद्धार्थ, एस, क्लिन इनर्जी, त्रिवेणी, फेवा, भृकुटी, बिजनेस युनिभर्सल, र डिप्रोक्समा गाभिएका विभिन्न ग्रामीण विकास बैंकहरूलगायत राष्ट्रिय तथा क्षेत्रीय स्तरका ७५ भन्दा बढी विकास बैंकहरू वाणिज्य बैंक वा ठूला विकास बैंकमा समाहित भएर डिलिस्ट भए।
-
५० भन्दा बढी फाइनान्स कम्पनीहरू : अलपिक एभरेष्ट, युनाइटेड, आईएलएफसी, सिभिल मर्चेन्ट, लर्ड बुद्ध, पाटन फाइनान्स, सम्झना, कसमस, हामा मर्चेन्ट, जेविल्सलगायतका ५० भन्दा बढी फाइनान्स कम्पनीहरूले आफ्नो अस्तित्व विलीन गर्दै डिलिस्टिङ रोजे।
-
२१ वटा लघुवित्त वित्तीय संस्थाहरू : समिट, आरएमडीसी, नयाँ सारथी, नागबेली, मिर्मिरे, महिला सहयात्रा, सूर्योदय, स्वदेशी, आरम्भ, स्पर्श, जनउत्थानलगायतका २१ वटा लघुवित्त वित्तीय संस्थाहरू आपसमा गाभिएर नयाँ संस्था बनेपछि पुराना संस्थाहरूको नाम नेप्सेको सूचीबाट हट्यो।
-
१० वटा बीमा कम्पनीहरू : नियामकको पूँजी वृद्धि निर्देशनपछि अजोड, जनरल, सिद्धार्थ, एभरेष्ट, प्रुडेन्सियल इन्स्योरेन्स तथा जीवन बीमातर्फ ज्योति लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, गुराँस लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जर प्रक्रिया पूरा गरी नयाँ नाममा रूपान्तरण हुँदा पुराना १० कम्पनी डिलिस्ट भए।
१८५ डिलिस्टेड कम्पनीहरूको समग्र सूची पल्टाउँदा गैर-वित्तीय (वास्तविक क्षेत्र) का कम्पनीहरू औंलामा गन्न सकिने मात्र छन्। जसमा मोरङ सुगर मिल्स, विराटनगर जुट मिल्स, हिमगिरी टेक्सटाइल र जलविद्युत्तर्फ रुरु जलविद्युत्मा गाभिएको रैराङ हाइड्रो आदि पर्दछन्।
यस वस्तुगत तथ्यांकले डब्लूएफईको निष्कर्षलाई शतप्रतिशत पुष्टि गर्दछ। नेपालमा भएको १८५ कम्पनीको सूचीकरण खारेजी कुनै बजारप्रतिको वितृष्णा वा आर्थिक दुर्घटना थिएन। यो त नियामकको निर्देशन बमोजिम वित्तीय संस्थाहरूले पूँजी विस्तार गर्न अपनाएको संस्थागत पुनर्संरचना थियो। यस प्रक्रियाबाट साना र जोखिमयुक्त संस्थाहरू बलिया संस्थामा गाभिए, जसले समग्र बैंकिङ प्रणालीलाई सुरक्षित बनायो भने लगानीकर्ताको शेयर स्वामित्व समेत नयाँ संस्थाको शेयरमा सुरक्षित रूपमा रूपान्तरण भयो।
नेप्सेमा ससपेन्ड २४ ‘कम्पनी’ : अन्तर्राष्ट्रिय समाधान भर्सेस नेपाली लाचारी
डब्लूएफईको प्रतिवेदनले औंल्याएको दोस्रो पाटो—‘बाध्यात्मक डिलिस्टिङ’को कसीमा भने नेपालको धितोपत्र बजारको अत्यन्तै गैरजिम्मेवार र लज्जास्पद अनुहार उदाङ्गिन्छ।
विश्वभरका विकसित तथा उदीयमान एक्सचेन्जहरूले वित्तीय रूपमा रुग्ण भएका, उत्पादन बन्द गरेका, तोकिएको समयमा लेखापरीक्षण विवरण नबुझाउने वा सूचीकरणका सर्तहरू लगातार उल्लंघन गर्ने कम्पनीहरूलाई निश्चित प्रक्रिया पूरा गरी बजारबाट अनिवार्य डिलिस्ट गरेर बजारको शुद्धीकरण गर्दछन्। तर, नेपालमा भने नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेप्सेको स्पष्ट बहिर्गमन (Exit) नीतिको अभावका कारण विगत दुई दशकदेखि २४ वटा कम्पनीहरूलाई वर्षौंदेखि ‘सस्पेन्डेड’ (कारोबार स्थगन) को सूचीमा राखेर बजारलाई एउटा ‘जीवित चिहान’ बनाइएको छ।
नेप्सेको यो सस्पेन्डेड सूचीमा रहेका २४ कम्पनीहरू मुख्यतया तीन प्रकृतिका छन्:
१. दशकौं अघि सस्पेन्डेड सूचीमा रहेका उद्योगहरू : गोरखकाली रबर उद्योग, बुटवल स्पिनिङ मिल्स, हरिसिद्धि इँटा तथा टायल, भृकुटी पल्प एन्ड पेपर, नेपाल वनस्पति घिउ, श्रीराम सुगर मिल्स, विराटनगरको रघुपति जुट मिल्स, अरुण वनस्पति, बिराट शू, नेपाल बिटुमिन एन्ड ब्यारेल, नेपाल खाद्य उद्योग आदि। यी उद्योगका मेसिनरीमा खिया लागिसकेको छ, तर नेप्सेको कम्प्युटर प्रणालीमा यिनीहरू अझै ‘सूचीकृत’ कम्पनीका रूपमा जीवितै छन्।
२. संकटग्रस्त र वित्तीय अपराधमा मुछिएका संस्था : क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, क्रिस्टल फाइनान्स, नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स, सम्झना फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, र हिमालयन फाइनान्स।
३. अन्य विविध संस्थाहरू : याक एन्ड यति होटल, नेपाल फिल्म डेभलपमेन्ट कम्पनी, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वेलफेयर कम्पनी आदि।
अन्तर्राष्ट्रिय बजारमा यस्तो समस्या कसरी समाधान गरिन्छ ?
विश्वका विकसित पूँजी बजारमा कुनै पनि कम्पनीलाई अनिश्चितकालका लागि यस्तो ‘कोमा’ मा राख्न कानुनी रूपमै पाइँदैन। त्यहाँ समस्याग्रस्त कम्पनीलाई सल्टाउन चारवटा स्पष्ट संस्थागत संयन्त्रहरू अभ्यासमा छन्:
१. समयसीमासहितको अनिवार्य डिलिस्टिङ :
अमेरिकी सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (SEC) वा लन्डन स्टक एक्सचेन्ज (LSE) को नियम अनुसार यदि कुनै कम्पनीको शेयर कारोबार लगातार ६ महिनादेखि १ वर्षसम्म स्थगन रह्यो वा कम्पनीले तोकिएको न्यूनतम शेयर मूल्य (जस्तै: १ डलर), नेटवर्थ वा वित्तीय विवरण पेश गर्न सकेन भने एक्सचेन्जले औपचारिक सूचना जारी गरी ‘अनिवार्य डिलिस्टिङ’ को प्रक्रिया (जस्तै: SEC Form 25) कार्यान्वयन गर्छ। कम्पनीलाई मुख्य बोर्डबाट तत्काल हटाइन्छ।
२. ओटीसी (OTC) वा पेनी स्टक मार्केटमा स्थानान्तरण :
मुख्य बजारबाट डिलिस्ट गरिए पनि यदि कम्पनीको कानुनी अस्तित्व बाँकी छ भने त्यसको शेयरलाई ‘ओभर द काउन्टर’ (OTC) वा ‘पिंक सिट’ मार्केटमा पठाइन्छ। त्यहाँ लगानीकर्ताले जस्तोसुकै न्यून मूल्यमा भए पनि आफ्नो शेयर बिक्री गरेर नोक्सानी स्वीकार गर्दै बजारबाट बाहिरिन पाउँछन्। यसले मुख्य बजारलाई अस्वस्थ फोहोरबाट सधैं सफा राख्छ।
३. प्रवर्द्धकलाई अनिवार्य शेयर पुनर्खरिद (Exit Offer / Promoters Buyback) :
छिमेकी भारतको पूँजी बजार नियामक ‘सेबी’ (SEBI) को डिलिस्टिङ नियमावली यस मामिलामा विश्वमै उदाहरणीय मानिन्छ। यदि कुनै कम्पनी सूचीकरण मापदण्ड पूरा गर्न नसकेर जबर्जस्ती डिलिस्ट गरिन्छ भने, कम्पनीका मुख्य संस्थापक/प्रवर्द्धकहरूले स्वतन्त्र मूल्यांकनकर्ता (Independent Valuer) मार्फत कम्पनीको सम्पत्ति मूल्यांकन गराई सर्वसाधारण शेयरधनीको शेयर अनिवार्य रूपमा किनिदिनुपर्छ (Buyback)। यदि प्रवर्द्धकले सर्वसाधारणको शेयर किनेर रकम भुक्तानी गरेनन् भने सेबीले उनीहरूको व्यक्तिगत बैंक खाता रोक्का गर्ने, सम्पत्ति जफत गर्ने र भारतभर कुनै पनि नयाँ कम्पनी खोल्न नपाउने गरी कालोसूचीमा राख्ने गर्दछ।
४. दामासाही र सम्पत्ति लिलामी प्रक्रिया (Insolvency & Liquidation) :
बन्द भइसकेका उद्योगहरूलाई अदालतको दामासाही प्रक्रियामा लगेर लिक्विडेटर नियुक्त गरिन्छ। कम्पनीको बहुमूल्य जग्गा, भवन र मेसिनरी लिलाम गरी बैंकको ऋण र मजदुरको बक्यौता तिरेपछि बाँकी रहेको रकम शेयरधनीहरूलाई दामासाहीका आधारमा वितरण गरी कम्पनीको दर्ता नै सधैका लागि खारेज गरिन्छ।
विडम्बना, नेपालमा न त धितोपत्र बोर्डले यस्तो प्रगतिशील ‘एक्जिट पोलिसी’ ल्याउन सक्यो, न त नेप्सेले यी २४ कम्पनीलाई औपचारिक रूपमा डिलिस्ट गर्ने आँट गर्यो। राजनीतिक दबाब, सरकारी उद्योग ब्युँताउने खोक्रो चुनावी भाषण र नीतिगत लाचारीका कारण विगत दुई दशकदेखि सर्वसाधारण लगानीकर्ताको अर्बौं रुपैयाँ बराबरको पूँजी शून्य मूल्यमा बन्धक बनेर बसेको छ।
१८५ हराउँदा पनि नेप्से कसरी २८१ पुग्यो ?
डब्लूएफईको कार्यपत्रले अघि सारेको सबैभन्दा महत्त्वपूर्ण आर्थिक सिद्धान्त हो— ‘सार्वजनिक बजारको आकार डिलिस्टिङले होइन, नयाँ कम्पनीहरूको प्रवेश दर (Entry Conditions / IPOs) ले निर्धारण गर्दछ।’ गणितीय रूपमा, यदि नेप्सेमा वित्तीय संस्थाहरू डिलिस्ट मात्र भइरहेका हुन्थे र नयाँ कम्पनीहरूको प्रवेश ठप्प हुन्थ्यो भने आज नेप्सेको आकार खुम्चिएर १०० भन्दा कम कम्पनीमा सीमित हुने निश्चित थियो। तर यथार्थ भिन्न छ— १८५ कम्पनी डिलिस्ट हुँदा र २४ कम्पनी सस्पेन्सनको सूचिमा पुग्दा पनि आज नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल संख्या २८१ पुगेको छ।
नेप्सेको यो आकारलाई जोगाउने र बढाउने मुख्य संवाहक ‘जलविद्युत् (Hydro Power) क्षेत्रको अभूतपूर्व प्राथमिक शेयर (आईपीओ) बाढी’ बन्यो। कुनै समय नेप्सेमा निजी क्षेत्रबाट बुटवल पावर कम्पनी र अर्ध-सरकारी चिलिमे जलविद्युत् मात्रै थिए। तर, सरकार र नेपाल धितोपत्र बोर्डले जलविद्युत् आयोजनाहरूका लागि स्थानीय प्रभावित बासिन्दालाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर अनिवार्य निष्कासन गर्नुपर्ने नीतिगत व्यवस्था गरेपछि बजारको ढाँचा नै कायापलट भयो। आज नेप्सेमा सूचीकृत २८१ कम्पनीहरूमध्ये ९० भन्दा बढी कम्पनीहरू त केवल जलविद्युत् क्षेत्रका मात्रै छन्।
माथिल्लो तामाकोशी (४५६ मेगावाट), सानिमा माई, रसुवागढी, साञ्जेन, साहस ऊर्जा, मध्य भोटेकोशी, बलेफी, सोलु, सुपर मादीदेखि हालसालै सूचीकृत भएका कम्पनीहरूसम्म आइपुग्दा जलविद्युत् क्षेत्रले नेप्सेको ६० प्रतिशतभन्दा बढी नयाँ सूचीकरणको भार एक्लै थेगिदिएको छ।
यसका साथै पछिल्ला वर्षहरूमा वास्तविक क्षेत्र (Real Sector) तर्फ सिमेन्ट उद्योगहरू (शिवम्, घोराही र सर्वोत्तम सिमेन्ट), पर्यटन क्षेत्र (चन्द्रागिरि हिल्स, कालिञ्चोक दर्शन, र सिटी होटल), तथा नयाँ प्रिमियम मूल्यमा शेयर जारी गरेका जीवन, निर्जीवन र नेपाल पुनर्बीमा कम्पनीहरूले बजारमा प्रवेश पाए। जसका कारण एकातिर १८५ वटा पुराना वित्तीय संस्थाहरू मर्जरमार्फत डिलिस्ट भए पनि अर्कोतिर नयाँ उत्पादनशील कम्पनीहरूको तीव्र प्रवेशले नेप्सेको कुल सूचीकरणको ग्राफलाई २८१ को ऐतिहासिक विन्दुमा पुर्याइदियो।
यस तथ्यले डब्लूएफईको प्रतिवेदनलाई थप प्रमाणित गर्दछ। नयाँ कम्पनीहरूको प्रवेशको महत्त्वबारे प्रस्ट पार्दै डब्लूएफईकी प्रमुख कार्यकारी अधिकृत (CEO) नन्दिनी सुकुमारले भनेका छन् "सार्वजनिक बजारलाई सुदृढ बनाउने प्रयासहरू केवल कम्पनीहरूको सूचीकरण खारेजी रोक्नमा मात्र सीमित हुनु हुँदैन। हाम्रो अनुसन्धानले देखाउँछ कि खुद सूचीकरणमा आउने परिवर्तन सूचीकरण खारेजीभन्दा पनि नयाँ आईपीओ गतिविधिमा बढी निर्भर हुन्छ। त्यसैले, बजारमा नयाँ कम्पनीहरूलाई आकर्षित गर्ने वातावरण बनाउनु कम्पनीहरूलाई सूचीकृत राखिराख्ने वातावरण जत्तिकै महत्त्वपूर्ण छ।"
दोस्रो बजारको तरलता, बजार एकाधिकार र नियामक नीति
डब्लूएफईको प्रतिवेदनले अर्को संवेदनशील पक्ष औंल्याएको छ— ‘बजार एकाधिकार’ (Market Concentration - HHI)। यदि बजारको अधिकांश कारोबार र पूँजीकरण केही सीमित ठूला कम्पनीहरूमा मात्र केन्द्रित भयो भने साना कम्पनीहरूले तरलता पाउँदैनन्, जसले गर्दा तिनीहरू बजारबाट बाहिरिन बाध्य हुन्छन्।
नेपालको हकमा पनि लामो समयसम्म वाणिज्य बैंकहरूको मात्रै बजारमा एकाधिकार (करिब ६०-७० प्रतिशत हिस्सा) रहँदा अन्य साना कम्पनीहरू ओझेलमा परेका थिए। तर पछिल्ला वर्षहरूमा जलविद्युत् र अन्य क्षेत्रका कम्पनीहरूको प्रवेशले यो एकाधिकारलाई केही हदसम्म विकेन्द्रित गरेको छ। साथै, डब्लूएफईको अध्ययन अनुसार दोस्रो बजारमा तरलता (Turnover Velocity) उच्च हुनु भनेको कम्पनीहरूलाई सूचीकृत रहन प्रोत्साहन मिल्नु हो। नेप्सेमा दैनिक कारोबार रकम केही वर्षअघि २१ अर्ब रुपैयाँसम्मको उच्च विन्दुमा पुग्नु र पछिल्ला दिनहरूमा पनि औसत कारोबार सन्तोषजनक रहनुले कम्पनीहरूका लागि दोस्रो बजारबाट पूँजी परिचालन गर्ने र शेयरधनीलाई तरलता दिने अवसर बलियो बनाएको छ। तर, कडा र झन्झटिला नियमहरूले बजारलाई संकुचित बनाउन सक्ने भएकाले नियमनकारी सुधारहरू सन्तुलित हुनुपर्ने प्रतिवेदनको चेतावनी छ।
नेपालका लागि नीतिगत पाठ
डब्लूएफईको यो विश्वव्यापी अनुसन्धान प्रतिवेदन र नेप्सेको यथार्थलाई सँगै राखेर हेर्दा नेपालको शेयर बजारको आगामी दिशा तय गर्न तीनवटा स्पष्ट नीतिगत पाठहरू देखिन्छन्:
१. मर्जरका कारण हुने डिलिस्टिङलाई सकारात्मक रूपमा लिने :
बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको मर्जरबाट हुने सूचीकरण खारेजी बजारको संकुचन होइन, बरु पूँजीगत आधार बलियो बनाउने र संस्थागत सुशासन कायम गर्ने स्वाभाविक प्रक्रिया हो। यसलाई नियामक, लगानीकर्ता र सरोकारवालाहरूले बजारको परिपक्वताका रूपमा ग्रहण गर्नुपर्दछ।
२. सस्पेन्डेड २४ कम्पनीको तत्काल कानुनी राफसाफ
नेपाल धितोपत्र बोर्ड र नेप्सेले अब लाचारी देखाउन बन्द गरेर अन्तर्राष्ट्रिय स्तरको ‘अनिवार्य डिलिस्टिङ तथा एक्जिट पोलिसी’ तुरुन्त लागू गर्नुपर्छ। वर्षौंदेखि बन्द रहेका गोरखकाली रबर, श्रीराम सुगर वा क्यापिटल मर्चेन्टजस्ता कम्पनीहरूलाई मुख्य बजारबाट अनिवार्य डिलिस्ट गरिनुपर्छ। भारतको सेबीको मोडल पछ्याउँदै यस्ता कम्पनीका संस्थापक प्रवर्द्धकहरूलाई सर्वसाधारणको शेयर उचित मूल्यांकनमा पुनर्खरिद (Buyback) गर्न लगाउने वा दामासाही ऐन अनुसार सम्पत्ति लिलामी गराई शेयरधनीको रकम फिर्ता गराउने कानुनी निकास दिनैपर्छ। सर्वसाधारणको लगानी बन्धक बनाइराख्ने छुट कसैलाई हुनु हुँदैन।
३. वास्तविक क्षेत्रको आकर्षण र दोस्रो बजारको आधुनिकीकरण :
डब्लूएफईको अध्ययनले प्रमाणित गरेझैं, सार्वजनिक बजारको दीर्घकालीन भविष्य केवल कम्पनी जोगाएर होइन, नयाँ कम्पनीहरू भित्र्याएर मात्र सुरक्षित हुन्छ। नेप्सेले अब केवल जलविद्युत् क्षेत्रको भर परेर बस्नु हुँदैन। देशका ठूला उत्पादनमूलक उद्योग, सूचना प्रविधि (IT) कम्पनी, दूरसञ्चार, हस्पिटालिटी र कृषिजन्य उद्यमहरूलाई शेयर बजारमा आकर्षित गर्न कर सहुलियत दिने, बुक-बिल्डिङ प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने तथा नयाँ वित्तीय औजारहरू (डेरिभेटिभ्स, इन्डेक्स फन्ड, सर्ट सेलिङ) भित्र्याएर दोस्रो बजारको तरलता थप विस्तार गर्नुपर्दछ।
जबसम्म प्राथमिक बजारमा गुणस्तरीय कम्पनीहरूको सहज प्रवेश र दोस्रो बजारमा रुग्ण कम्पनीहरूको समयमै सम्मानजनक बहिर्गमन सुनिश्चित हुँदैन, तबसम्म नेपालको पूँजी बजारले अन्तर्राष्ट्रिय स्तरको गतिशीलता र लगानीकर्ताको पूर्ण विश्वास प्राप्त गर्न सक्ने छैन।
तल हेर्नुहोस् ‘पब्लिक मार्केट ट्रेन्ड: अ ग्लोबल एनालिसिस अफ डेलिस्टिङ प्याटर्न्स’