कर फर्छ्योट आयोगको मुद्दाः व्यवसायिक घरानाहरु, अर्बौंको कर छुट र एक दशकदेखि विशेष, सर्वाेच्च पछि फेरि विशेष अदालतको गोलचक्कर

Nov 26, 2026 04:59 PM Merolagani



नेपालको कर प्रशासन र राजनीतिक–प्रशासनिक जवाफदेहिताको इतिहासमा कर फर्छ्योट आयोगको विवाद एउटा महत्त्वपूर्ण प्रकरण हो । 

यो विवाद केवल अर्बौं रुपैयाँ कर छुट दिइएको विषयमा सीमित छैन। यसले करदातालाई राज्यले लगाएको कर मिनाहा गर्ने अधिकार कसलाई हुने, त्यस्तो अधिकार प्रयोग गर्दा कस्तो प्रक्रिया अपनाउनुपर्ने र राजनीतिक नेतृत्वदेखि कर्मचारीतन्त्रसम्म कसरी जवाफदेही बन्नुपर्ने भन्ने प्रश्नसमेत उठाएको छ।

विवादको सुरुवात 

नेपालमा कर फर्छ्योट आयोग गठन गर्ने कानुनी व्यवस्था नयाँ थिएन। यसको आधार कर फर्छ्योट आयोग ऐन, २०३३ हो। सरकारले लामो समयदेखि विवादित रहेका कर बक्यौता उठाउन र करदातासँगको विवाद टुंग्याउन विशेष आयोग गठन गर्न सक्ने व्यवस्था यस ऐनले गरेको थियो। यसको मूल उद्देश्य समस्यामा परेका उद्योग व्यवसायलाई कर विवादबाट मुक्त गराउँदै सरकारलाई पनि सकेसम्म बढी राजस्व प्राप्त गराउनु थियो ।


कर निर्धारणमा विवाद भएका, लामो समयदेखि बक्यौता रहेका र प्रशासनिक प्रक्रियामा अल्झिएका करदाताका समस्या छिटो समाधान गर्ने उद्देश्यले सरकारले २०७१ माघ २२ मा नयाँ कर फर्छ्योट आयोग गठन गर्‍यो।

आयोगमा तीन जना पदाधिकारी थिए अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र सदस्य–सचिव चूडामणि शर्मा । शर्मा त्यतिबेला आन्तरिक राजस्व विभागका महानिर्देशक थिए। उनी आयोगको सदस्य–सचिवसमेत बनेका थिए। आयोगलाई आर्थिक वर्ष २०६९/७० सम्मको कर बक्यौता फर्छ्योट गर्ने जिम्मेवारी दिइएको थियो।

तर आयोगले गरेको कामको नतिजा सार्वजनिक भएपछि यसको उद्देश्य र कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थाल्यो।

२१ अर्ब रुपैयाँभन्दा बढी कर छुट 

आयोगसमक्ष विभिन्न करदाता तथा कम्पनीका तर्फबाट १ हजार ७२६ वटा निवेदन परेका थिए। ती निवेदनमा उल्लेखित कर बक्यौताको कुल रकम ४० अर्ब ८३ करोड रुपैयाँभन्दा बढी थियो।

त्यसमध्ये आयोगले १ हजार ६९ वटा निवेदनको कारबाही टुंग्याउँदै ३० अर्ब ५२ करोड रुपैयाँ बराबरको कर बक्यौटा फर्छ्योट गर्‍यो। त्यसको परिणाम यस्तो देखियो 

कर फर्छ्योट आयोगको आर्थिक हिसाब: ३०.५२ अर्ब

फर्छ्योट गरिएको कर बक्यौता: ९.५४ अर्ब

राज्यकोषमा आउने गरी सम्झौता:२०.९८ अर्ब (३१.२७%)

छुट दिइएको रकम: ६८.७३५

स्रोत: महालेखा परीक्षकको ५४औँ वार्षिक प्रतिवेदन तथा त्यसमा आधारित विवरण।

अर्थात्, ३० अर्ब ५२ करोड रुपैयाँको कर बक्यौतामध्ये राज्यले ९ अर्ब ५४ करोड रुपैयाँ मात्र प्राप्त गर्ने सम्झौता गर्‍यो। बाँकी करिब २१ अर्ब रुपैयाँ छुट भयो।

यो सामान्य छुटको विषय थिएन । केही कम्पनीले ९० प्रतिशतभन्दा बढी कर छुट पाएको विवरण सार्वजनिक भयो। कतिपय कम्पनीले ९७ प्रतिशत र ९९ प्रतिशतसम्म छुट पाएको विषयले विवादलाई थप चर्कायो ।

विवादमा आएका कम्पनी र कर छुटको प्रश्न

आयोगले कर छुट दिएका कम्पनीमध्ये केही ठूला व्यावसायिक संस्थाको नाम सार्वजनिक बहसमा आयो। विशेषगरी एनसेल, त्रिवेणी डिस्टिलरीलगायतका कम्पनीको कर फर्छ्योटबारे प्रश्न उठ्यो। आयोगले केही कम्पनीलाई अत्यधिक छुट दिएको, करदाताले उठाएको मूल्य अभिवृद्धि करसमेत राज्यकोषमा नबुझाउने गरी निर्णय गरेको र कर तिर्न सहमत भइसकेका कम्पनीलाई समेत छुट दिएको आरोप लाग्यो।

कर फर्छ्योटसम्बन्धी विवादमा पछि अदालतले पनि केही कम्पनीको फाइल अध्ययन गर्नुपर्ने अवस्था आयो।

२०७१ को आयोगले सबै करदाताको निवेदन समान रूपमा हेरेको थियो कि थिएन  ? समान प्रकृतिका करदातामध्ये केहीमाथि मात्रै अख्तियारले मुद्दा चलाउनुको आधार के थियोर ? यी प्रश्न अहिले पनि मुद्दाको न्यायिक परीक्षणसँग जोडिएका छन् ।

महालेखाको प्रतिवेदनदेखि अख्तियारको अनुसन्धानसम्म

२०७३ चैततिर महालेखा परीक्षकको ५४औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएपछि कर फर्छ्योट आयोगको काममाथि औपचारिक रूपमा प्रश्न उठ्यो। महालेखाले आयोगले गरेको कर फर्छ्योटको हिसाब परीक्षण गर्दा अस्वाभाविक रूपमा ठूलो छुट दिइएको देखायो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढायो।

अख्तियारको अनुसन्धानले आयोगका पदाधिकारीले ऐन र नेपाल राजपत्रमा प्रकाशित सूचित आदेशले दिएको अधिकारको सीमा नाघेर कर छुट दिएको निष्कर्ष निकाल्यो।

अख्तियारले करदाताको वास्तविक कर दायित्वको पर्याप्त परीक्षण नगरी छुट दिएको, कर फर्छ्योटका लागि तोकिएको प्रक्रिया र कार्यविधि पालना नभएको, नक्कली मूल्य अभिवृद्धि करका बिलबिजकसमेत प्रयोग भएका कर विवादमा छुट दिएको, राज्यलाई प्राप्त हुनुपर्ने राजस्वमा जानाजानी नोक्सानी पुर्‍याएको लगायतका आरोपहरु लगाउँदै विशेष अदालतमा मुद्दा दर्ता गर्यो ।यसमा आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र सदस्य–सचिव चूडामणि शर्मालाई मुख्य प्रतिवादी बनाइयो।

अख्तियारले यस प्रकरणमा एउटै मुद्दा मात्र चलाएको थिएन । २०७४ साउनमा अख्तियारले आयोगका तीनै पदाधिकारीविरुद्ध कर फर्छ्योटका क्रममा करिब १ अर्ब ३३ करोड रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

त्यसपछि १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ बिगो मागदाबी गरिएको अर्को मुख्य मुद्दा पनि विशेष अदालतमा पुग्यो। यस मुद्दामा अख्तियारले तीनै पदाधिकारीले सामूहिक रूपमा राज्यलाई राजस्व नोक्सानी पुर्‍याएको आरोप लगाएको थियो। प्रतिवादीमध्ये प्रत्येकबाट बिगो र जरिवानासमेत असुल गर्नुपर्ने माग गरिएको थियो।

विशेष अदालतको पहिलो फैसला:  तीनै जना दोषी ठहर

लामो अनुसन्धान र न्यायिक प्रक्रियापछि विशेष अदालतले २०८० जेठ १८ गते कर फर्छ्योट आयोगका तीनै पदाधिकारीलाई भ्रष्टाचारमा दोषी ठहर गर्‍यो।

विशेष अदालतका तत्कालिन अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूले राज्यलाई ठूलो राजस्व नोक्सानी पुर्‍याएको निष्कर्ष निकालेको थियो । महतलाई ९ वर्ष १ महिना, शर्मा र ढकाललाई ९ वर्ष कैद र तीनै जनालाई जनही ४ अर्ब १० करोड रुपैयाँ जरिवाना गर्ने आदेशसमेत दियो । बिगोका रूपमा कुल ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कायम गरिएको थियो।

यो भ्रष्टाचार मुद्दाको फैसला नेपालको सार्वजनिक प्रशासन र राजस्व व्यवस्थापनसम्बन्धी चर्चित न्यायिक घटनामध्ये एक बन्यो।

सर्वोच्च अदालतले उल्ट्यायो विशेष अदालतको फैसला

विशेष अदालतको फैसलाविरुद्ध तीनै जना प्रतिवादी सर्वोच्च अदालत पुगे। उनीहरूको मुख्य जिकिर विशेष अदालतले प्रमाण परीक्षण गर्ने क्रममा कानुनी प्रक्रिया पूरा नगरेको र आफूहरूलाई निष्पक्ष सुनुवाइको पर्याप्त अवसर नदिएको भन्ने थियो।

२०८२ असार २४र२५ मा सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले विशेष अदालतको फैसला बदर गर्दै मुद्दा पुनः सुनुवाइका लागि विशेष अदालतमा पठाउने निर्णय गर्‍यो। यो निर्णयको अर्थ तीनै जना निर्दोष प्रमाणित भए भन्ने होइन। सर्वोच्चले विशेष अदालतको अघिल्लो फैसला प्रक्रियागत तथा प्रमाण मूल्याङ्कनसम्बन्धी त्रुटिपूर्ण ठहर गर्दै पुनः सुनुवाइ गर्न भनेको हो।

सर्वोच्चले औँल्याएका प्रमुख विषय यस्ता थिए:

पहिलो, विशेषज्ञको राय लिने प्रक्रिया। विशेष अदालतले विज्ञको राय लिने क्रममा आवश्यक न्यायिक प्रक्रिया पूरा नगरेको सर्वोच्चको ठहर थियो।

दोस्रो, प्रतिवादीको प्रतिवाद गर्ने अधिकार। विज्ञको राय वा निष्कर्षमाथि प्रतिवादीलाई पर्याप्त रूपमा प्रश्न उठाउने र जिरह गर्ने अवसर दिइएको थिएन।

तेस्रो, प्रमाणको परीक्षण। नक्कली भ्याट बिल र बिलबिजक प्रयोग भएको भनिएका विषयमा आवश्यक प्रमाण बुझ्ने र त्यसको कानुनी परीक्षण गर्ने काम पूरा भएको थिएन।

चौथो, फैसलामा उठेका प्रश्नको जवाफ। मुद्दाका केही महत्त्वपूर्ण कानुनी तथा तथ्यगत प्रश्नको पर्याप्त निरूपण नभएको सर्वोच्चको निष्कर्ष थियो।

यसकारण सर्वोच्चले पुनः प्रमाण बुझेर, विशेषज्ञको राय लिएर र दुवै पक्षलाई आफ्नो भनाइ राख्ने अवसर दिएर फैसला गर्न आदेश दियो।

यसको व्यावहारिक परिणाम के भयो भने विशेष अदालतले सुनाएको नौ वर्षको कैद र अर्बौं रुपैयाँ जरिवानासहितको फैसला कार्यान्वयन हुन सकेन। प्रतिवादीहरूलाई पुनः मुद्दाको अन्तिम फैसला नहुँदासम्म साधारण तारेखमा रहने व्यवस्था गरियो।

पुनः विशेष अदालतमा पुगेपछि के भयो ?

सर्वोच्च अदालतको आदेशपछि यो मुद्दा पुनः विशेष अदालतमा पुग्यो। तर यसपटक अदालतले पहिलेको फैसला दोहोर्‍याउनेभन्दा पनि प्रमाण र प्रक्रियाको आधारमा नयाँ सुनुवाइ अघि बढाउनुपर्ने भयो।

२०८३ असार ७ गते विशेष अदालतले कर फर्छ्योट आयोगबाट छुट पाएका तर अख्तियारले मुद्दा नचलाएका ६ संस्था तथा कम्पनीका फाइलसमेत झिकाउने आदेश दिएको थियो।

अदालतले कागजात मगाएका संस्थाहरू 

हिमाल आइरन एन्ड स्टिल प्रालि

सौरभ डिस्टिलरी

बुटवल पावर कम्पनी

दुग्ध विकास संस्थान

जनक शिक्षा सामग्री केन्द्र

एनसीसी बैंक

ती कम्पनीहरुको फाइल मगाउनुको मुख्य कारण कर फर्छ्योट आयोगले समान प्रकृतिका धेरै करदातालाई ठूलो छुट दिएको भए पनि अख्तियारले सबैमाथि समान ढङ्गले अनुसन्धान र अभियोजन नगरेको प्रश्न हो।

हिमाल आइरन एन्ड स्टिलले ९० प्रतिशत छुट पाएको थियो। सौरभ डिस्टिलरीको कर छुटसम्बन्धी निर्णय पनि अध्ययनको विषय बनेको थियो। बुटवल पावर कम्पनीले ९७ प्रतिशत छुट पाएको थियो। दुग्ध विकास संस्थान र जनक शिक्षा सामग्री केन्द्रले ९६ प्रतिशत छुट पाएका थिए। एनसीसी बैंकले ८२ प्रतिशत छुट पाएको थियो। त्रिवेणी डिस्टिलरीले ९७ प्रतिशत छुट पाएको थियो। स्पेस टाइम नेटवर्कले ९९ प्रतिशतसम्म छुट पाएको थियो।

यहाँ विशेष ध्यान दिनुपर्ने कुरा के हो भने अदालतले यी कम्पनीलाई दोषी ठहर गरेको होइन। तिनको कर फाइल मगाएर समान प्रकृतिका कारोबारमा अख्तियारले किन फरक व्यवहार गर्‍यो भन्ने विषय परीक्षण गर्न खोजेको हो।

यो प्रकरणले उठाएका पाँचवटा गम्भीर प्रश्न

हाल विशेष अदालतमा विचाराधिन रहेको यो मुद्दा केवल तीन जना सरकारी पदाधिकारीको भ्रष्टाचार आरोपमा सीमित छैन। नेपालको कर प्रशासन, अख्तियारको अनुसन्धान क्षमता र न्यायिक प्रक्रियासँग जोडिएका पाँचवटा महत्त्वपूर्ण प्रश्न यसले उठाएको छ।

कर छुट दिने अधिकारको सीमा कहाँसम्म हो ?

कर फर्छ्योट आयोगलाई विवाद समाधान गर्ने अधिकार दिइएको थियो। तर विवाद समाधान गर्ने नाममा राज्यले पाउनुपर्ने राजस्वको ठूलो हिस्सा छुट दिन मिल्थ्यो कि मिल्दैनथ्यो ? आयोगको कानुनी अधिकार र त्यसको व्यावहारिक प्रयोगबीचको सीमा यो मुद्दाको मुख्य प्रश्न हो।

कर तिर्ने व्यवसायी र कर छुट पाउने व्यवसायीबीच समान व्यवहार भयो ?

एउटा व्यवसायीले कर निर्धारणअनुसार पूरा रकम बुझाउँछ। अर्को व्यवसायीले विशेष आयोगबाट ९० प्रतिशतभन्दा बढी छुट पाउँछ। यस्तो अवस्थामा कर प्रणालीको समानताको सिद्धान्त कसरी कायम रहन्छ ?

अख्तियारले केही कम्पनीलाई मात्रै किन अभियोजन गर्‍यो ?

विशेष अदालतले थप ६ कम्पनीका फाइल मगाउनुको सबैभन्दा महत्त्वपूर्ण सन्देश यही हो। समान प्रकृतिका कर छुट पाएका कम्पनीमध्ये केहीलाई अभियोजन गर्ने र केहीलाई नगर्ने आधार के थियो? अनुसन्धानको निष्पक्षता परीक्षण गर्ने महत्त्वपूर्ण अवसर यसले सिर्जना गरेको छ।

सर्वोच्चले फैसला बदर गरेपछि पुरानो अनुसन्धानको अवस्था के हुन्छ ?

सर्वोच्चको आदेशले पुरानो फैसला बदर गरेको हो, भ्रष्टाचारको आरोप नै समाप्त गरेको होइन। अब प्रमाणको पुनः परीक्षणपछि विशेष अदालतले नयाँ निष्कर्ष निकाल्नुपर्ने हुन्छ। यसले न्यायिक प्रक्रियामा प्रमाण र निष्पक्ष सुनुवाइको महत्त्व पनि देखाउँछ।

राज्यको कर राजस्वमा भएको क्षतिको जिम्मेवारी कसले लिने ?

यदि आयोगको निर्णय गलत थियो भने त्यसबाट लाभ लिने करदाताको भूमिका के हुन्छ? आयोगका पदाधिकारीको जिम्मेवारी के हुन्छ? अनुसन्धान गर्ने निकायको भूमिका के हुन्छ ? यी सबै प्रश्नको जवाफ एउटै मुद्दाको फैसलाले पूर्ण रूपमा दिन नसक्ला।