हाल सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गरेको १ खर्ब ३३ अर्ब २८ करोड रुपैयाँ र राष्ट्रिय कल्याणकारी कोषको समेत गरी कुल १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको रकम दीर्घकालीन लगानीको पर्खाइमा छ।
अधिकांश रकम मुद्दती र ऋणपत्रमै सीमित
दैनिक रूपमा कोषको आकार बढ्दै गए पनि उचित लगानीका क्षेत्र पहिचान हुन नसक्दा कोषको ठूलो हिस्सा परम्परागत वित्तीय उपकरणमै थन्किएको छ। तथ्याङ्कअनुसार हाल कोषको कुल लगानीमध्ये ६१ अर्ब ९८ करोड रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा छ। यस्तै, सरकारी ट्रेजरी बिल्समा ३९ अर्ब ९५ करोड, विभिन्न डिबेन्चर र बन्डतर्फ करिब २८ अर्ब तथा म्युचुअल फन्डमा १ अर्ब ६४ करोड रुपैयाँ लगानी गरिएको छ।
यसैगरी, योगदानकर्ता सापटीमार्फत हालसम्म ११ अर्ब ५० करोड रुपैयाँ परिचालन भएको छ। जसअन्तर्गत कोषले ३.२ प्रतिशत ब्याजदरमा विशेष सापटी, ५.८५ प्रतिशतमा घर तथा शैक्षिक सापटी र ६ प्रतिशत ब्याजदरमा जग्गा सापटी प्रवाह गरिरहेको छ।
ऐनको दफा ३२ संशोधन प्रस्ताव : पूर्वाधार विकास बैंकमा लगानीको बाटो खुला
कोषको निष्क्रियप्रायः पूँजीलाई राष्ट्रिय विकासमा जोड्न सरकारले प्रस्ताव गरेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ मार्फत योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ३२ मा संशोधन अघि सारेको छ।

संशोधित मस्यौदाअनुसार अब सामाजिक सुरक्षा कोषले 'पूर्वाधार विकास बैंक' (Infrastructure Development Bank) मा समेत लगानी गर्न पाउने व्यवस्था गरिएको छ। ऐनको दफा ३२ मा नयाँ उपदफा (४) थप गर्दै भनिएको छ—"पूर्वाधार विकास बैंकमा लगानी गर्दा कोषले योगदानकर्ता र लाभग्राहीप्रतिको दायित्व, पर्याप्त तरलता, लगानीको अवधि, पूँजी सुरक्षण, साख मूल्याङ्कन (क्रेडिट रेटिङ) र एकल संस्था तथा समग्र पूर्वाधार क्षेत्रमा हुने जोखिमको सीमा परीक्षण गर्नुपर्नेछ।" यस संशोधनले कोषको रकमलाई जोखिमरहित र व्यावसायिक तवरबाट ठूला पूर्वाधारमा लैजाने कानुनी ढोका खोल्ने अपेक्षा गरिएको छ।
निजी क्षेत्रको दबाब र विगतको जोखिमको पाठ
सामाजिक सुरक्षा ऐन, २०७४ र लगानी कार्यविधि, २०७९ ले कोषको रकम उत्पादनमूलक उद्योग, बैंक–वित्तीय संस्था, शेयर तथा पूर्वाधारमा लगानी गर्न सकिने व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेको थिएन। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले औपचारिक क्षेत्रबाट संकलित यो रकमलाई देशको उत्पादनमूलक उद्योग र भौतिक पूर्वाधारमा लगाउन निरन्तर माग गर्दै आएका छन्।
तर, यसअघि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले जलविद्युत्लगायतका पूर्वाधार आयोजनामा गरेको लगानीबाट समयमै सुनिश्चित प्रतिफल पाउन नसकेको तीतो अनुभवका कारण सामाजिक सुरक्षा कोष ठूला आयोजनामा सोझै हात हाल्न हच्किएको विश्लेषकहरू बताउँछन्।
एक अर्थविद्का अनुसार सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष र बिमा कम्पनीहरूमा अनावश्यक पैसा थुप्रिनु तर दीर्घकालीन उत्पादनमूलक योजनामा परिचालन हुन नसक्नु राज्यको नीतिगत कमजोरी हो। "यस्तो समस्या नीतिगत रूपमै सुधार गर्नुपर्छ," उनले भने, "यसरी संकलित पूँजी उचित प्रतिफल दिने ठाउँमा परिचालन हुन नसके भविष्यमा अवकाशप्राप्त योगदानकर्तालाई सम्झौताअनुसार पेन्सन वा एकमुस्ट रकम भुक्तानी गर्नसमेत दबाब पर्न सक्ने जोखिम रहन्छ।"
फास्ट ट्र्याक र हाइड्रोपावरमा लगानी गर्ने सोच
यता, सामाजिक सुरक्षा कोषले भने योगदानकर्ताको दीर्घकालीन हित र पूँजीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र लगानी विस्तार गर्ने नीति लिएको छ। कोषका प्रवक्ता कृष्ण अधिकारीले पेन्सन कोष दीर्घकालीन पूँजी भएकाले जोखिम न्यूनीकरणका स्पष्ट संयन्त्र बनाएर मात्र लगानी गरिने बताए।
उनका अनुसार आगामी दिनमा जलविद्युत्, उत्पादनमूलक उद्योग तथा काठमाडौं–तराई फास्ट ट्र्याकजस्ता राष्ट्रिय गौरवका ठूला पूर्वाधार आयोजनाहरूमा सुरक्षित तवरले लगानी गर्ने विषयमा छलफल अघि बढिरहेको छ। ऐन संशोधन भएर पूर्वाधार विकास बैंकमार्फत लगानी गर्ने बाटो खुलेपछि यस्ता ठूला परियोजनामा पूँजी परिचालन गर्न थप सहज हुने कोषको विश्वास छ।