पूँजी बजारका ‘कि-मेकर’ प्रोक्सी सल्लाहकारमाथि एसियामा कमजोर नियमन : के हो यो व्यवस्था र यसले कसरी काम गर्छ ?

Nov 29, 2026 06:21 AM Merolagani



सुवास निरौला
विश्वभरका विकसित पूँजी बजारहरूमा सूचीकृत कम्पनीहरूको वार्षिक साधारण सभा (एजीएम) मा हुने मतदानले ठूला-ठूला कर्पोरेट साम्राज्यको दिशा तय गर्छ। 

सञ्चालकहरूको छनोट, प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब-भत्ता, लाभांश नीति, पूँजी वृद्धि, मर्जर तथा एक्विजिसन र वातावरणीय तथा सुशासन (ईएसजी) सम्बन्धी प्रस्तावमा कसरी मतदान गर्ने भन्ने निर्णय खर्बौं डलरका संस्थागत लगानीकर्ताहरूका लागि निकै जटिल हुन्छ। यस्तो अवस्थामा संस्थागत लगानीकर्तालाई कुन प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्ने भनेर निर्देश गर्ने 'प्रोक्सी सल्लाहकार' (Proxy Advisors) हरू विश्व बजारमा 'कि-मेकर' (निर्णायक शक्ति) का रूपमा स्थापित भएका छन्।

तर, विश्वका शक्तिशाली कर्पोरेट घरानालाई हल्लाउन सक्ने यस्ता प्रोक्सी सल्लाहकारहरूमाथि एसियाली बजारमा भने कानुनी नियमन र निगरानी अत्यन्त फितलो रहेको पाइएको छ। आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले शुक्रबार सार्वजनिक गरेको ‘इन्स्टिच्युसनल इन्भेस्टर्स एन्ड क्यापिटल मार्केट सर्भिस प्रोभाइडर्स इन एसिया’ (२०२६) शीर्षकको अध्ययन प्रतिवेदन अनुसार, एसियाका अधिकांश पूँजी बजारमा प्रोक्सी सल्लाहकारहरू कुनै पनि कानुनी दायरा, अनिवार्य दर्ता र जवाफदेहिताविना नै सञ्चालन भइरहेका छन्।

अध्ययन गरिएका १३ प्रमुख क्षेत्राधिकार (एसियाका १२ देश र युरोपेली संघ) मध्ये केवल दुई देश— अस्ट्रेलिया र भारतमा मात्रै प्रोक्सी सल्लाहकारहरूले नियामक निकायमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था छ। बाँकी देशहरूमा भने यी संस्थाहरूमाथि न कुनै कडा कानुनी बन्देज छ, न त उनीहरूको अनुसन्धान विधि नै पारदर्शी छ।

के हो 'प्रोक्सी सल्लाहकार' र यसले बजारमा कसरी काम गर्छ ?

नेपाली शेयर बजारका आम लगानीकर्ताका लागि 'प्रोक्सी सल्लाहकार' भन्ने शब्द नौलो र अपरिचित हुन सक्छ। किनकि, नेपालको पूँजी बजारमा हालसम्म यस्तो संस्थागत अभ्यास वा कानुनी व्यवस्था नै छैन। तर, अन्तर्राष्ट्रिय बजार बुझ्न र भविष्यमा नेपाली पूँजी बजार परिपक्व हुँदा आउने संरचना जान्न यो अवधारणा बुझ्नु अनिवार्य छ।

१. साधारण शेयरधनीको 'वारिस' (Proxy) र संस्थागत 'प्रोक्सी' बिचको फरक :
नेपालमा कुनै पनि बैंक वा कम्पनीको वार्षिक साधारण सभा हुँदा यदि शेयरधनी आफैँ उपस्थित हुन सकेन भने आफ्नो सट्टा अरू कसैलाई मतदानको अधिकार दिएर पठाउँछ। यसलाई नेपाली कम्पनी कानुनमा 'वारिस' वा 'प्रोक्सी' भनिन्छ। तर, अन्तर्राष्ट्रिय बजारमा 'प्रोक्सी सल्लाहकार' भनेको कुनै एक व्यक्तिको वारिस मात्र होइन, यो एउटा व्यावसायिक र प्राविधिक अनुसन्धान संस्था (Research Firm) हो।

२. प्रोक्सी सल्लाहकारको आवश्यकता किन पर्छ ?
विश्व बजारमा ठूला पेन्सन फन्ड, बीमा कम्पनी, बैंक तथा म्युचुअल फन्डहरूले एकैपटक सयौँ वा हजारौँ कम्पनीहरूमा अर्बौं डलरको शेयर लगानी गरेका हुन्छन्। जब वर्षको निश्चित महिनामा ती सबै कम्पनीहरूको वार्षिक साधारण सभा (एजीएम) एकैपटक आउँछ, तब प्रत्येक कम्पनीका दर्जनौँ एजेन्डा, सञ्चालकहरूको पृष्ठभूमि, वित्तीय विवरण र सञ्चालकले प्रस्ताव गरेको तलब-भत्ता ठीक छ कि छैन भनेर अध्ययन गर्न ती लगानीकर्तासँग न पर्याप्त जनशक्ति हुन्छ, न त समय नै।

 

यस्तो अवस्थामा प्रोक्सी सल्लाहकार कम्पनीहरूले ती सबै सूचीकृत कम्पनीहरूको वित्तीय विवरण, व्यवस्थापकीय निर्णय, सुशासन र प्रस्तावहरूको मिहीन विश्लेषण गर्छन्। त्यसपछि उनीहरूले आफ्ना ग्राहक (संस्थागत लगानीकर्ता) लाई प्रत्येक एजेन्डामा 'पक्षमा भोट हाल्नुहोस्' (Vote FOR), 'विपक्षमा भोट हाल्नुहोस्' (Vote AGAINST) वा 'तटस्थ बस्नुहोस्' (ABSTAIN) भनी स्पष्ट सिफारिससहितको प्रतिवेदन बेच्छन्।

३. बजारमा यिनीहरूको प्रभाव किन निर्णायक हुन्छ ?
धेरैजसो ठूला संस्थागत लगानीकर्ताहरूले प्रोक्सी सल्लाहकारको प्रतिवेदनलाई आँखा चिम्लेर विश्वास गर्छन् र उनीहरूले जे सिफारिस गर्छन्, साधारण सभामा त्यसै गरी मतदान गरिदिन्छन्। उदाहरणका लागि, विश्वव्यापी रूपमा दुई अमेरिकी कम्पनीहरू—'इन्स्टिच्युसनल शेयरहोल्डर सर्भिसेस' (आईएसएस) र 'ग्लास लुइस' (जीएल) को यस क्षेत्रमा एकाधिकारजस्तै छ।

  • आईएसएस (ISS): यसले विश्वभरका करिब १०० वटा बजारमा वार्षिक ५० हजारभन्दा बढी साधारण सभाका प्रस्तावहरूमाथि अनुसन्धान गर्छ र यसका ४,२०० भन्दा बढी ठूला संस्थागत ग्राहक छन्।

  • ग्लास लुइस (GL): यसले वर्षमा ३० हजारभन्दा बढी कम्पनीका सभाहरूको विश्लेषण गर्छ, जसका ग्राहकहरूले विश्वभर ४० ट्रिलियन (४० हजार अर्ब) अमेरिकी डलरभन्दा बढीको सम्पत्ति व्यवस्थापन गर्छन्।

यी दुई संस्थाले कुनै कम्पनीको सीईओको तलब अत्यधिक भयो वा सञ्चालकको काम सन्तोषजनक छैन भन्दै 'विपक्षमा मतदान गर्न' सिफारिस गरिदिए भने लाखौँ शेयरधनीको भोट विपक्षमा खस्छ र कम्पनीका शक्तिशाली अध्यक्ष वा सीईओले पद नै गुमाउनुपर्ने अवस्था आउँछ। त्यसैले यिनलाई पूँजी बजारका 'अदृश्य खेलाडी' वा 'कि-मेकर' भनिन्छ।

ओईसीडीले औँल्याएका गम्भीर विकृति र कमजोर नियमनका पाटाहरू

ओईसीडीको प्रतिवेदन अनुसार, यति विशाल शक्ति हातमा लिएर बसेका प्रोक्सी सल्लाहकारहरू एसियाली बजारमा भने गम्भीर विकृति र कानुनी शून्यतामा बाँचिरहेका छन्।

१. दर्ता र नियमनविहीन सञ्चालन :
अध्ययन गरिएका १३ क्षेत्राधिकारमध्ये ७ वटा (चीन, हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्याण्ड र भियतनाम) मा प्रोक्सी सल्लाहकारहरूलाई नियमन गर्ने कुनै कानुनी संयन्त्र नै छैन। केवल अस्ट्रेलिया र भारतमा मात्रै यिनको दर्ता अनिवार्य छ। जापान, मलेसिया र सिंगापुरमा केही मार्गदर्शन भए पनि ती बाध्यकारी छैनन्।

२. दोहोरो चरित्र र स्वार्थको द्वन्द्व (Conflicts of Interest) :
प्रतिवेदनले प्रोक्सी सल्लाहकारहरूको सबैभन्दा डरलाग्दो पक्ष 'स्वार्थको द्वन्द्व' लाई मानेको छ। यी कम्पनीहरूले एकातिर संस्थागत लगानीकर्तालाई 'फलाना कम्पनीको सुशासन खराब छ, विपक्षमा भोट हाल्नुस्' भन्छन् भने अर्कोतिर तिनै सूचीकृत कम्पनीहरूसँग मोटो रकम लिएर 'सुशासन र ईएसजी रेटिङ कसरी सुधार्ने' भन्दै परामर्श (कन्सल्टेन्सी) सेवा बेच्छन्। जसले गर्दा परामर्श सेवा खरिद गर्ने कम्पनीलाई राम्रो र खरिद नगर्नेलाई नराम्रो सिफारिस गर्ने खतरा रहन्छ। भारतबाहेक एसियाको कुनै पनि देशमा प्रोक्सी सल्लाहकारले कुन-कुन कम्पनीलाई परामर्श सेवा बेचिरहेका छन् र उनीहरूको आफ्नै शेयर स्वामित्व संरचना कस्तो छ भनेर सार्वजनिक गर्नुपर्ने बाध्यकारी नियम छैन।

३. स्थानीय यथार्थ नबुझी 'चेकलिस्ट' का भरमा निर्णय :
धेरैजसो प्रोक्सी सल्लाहकारहरूले स्थानीय देशको कानुन, बजारको संस्कृति र कम्पनीको वास्तविक आवश्यकता नहेरी अमेरिका वा युरोपमा बनेका परम्परागत 'चेकलिस्ट' का आधारमा सिफारिस ठोकिदिन्छन्। अध्ययन गरिएका सबै देशहरूमध्ये जापान मात्र यस्तो देश हो, जसले प्रोक्सी सल्लाहकारहरूलाई कम्पनीको विशिष्ट परिस्थिति (Company-specific conditions) हेरेर मात्र सिफारिस गर्न र मतदान सिफारिस गर्नुअघि कम्पनी व्यवस्थापनसँग छलफल गर्न निर्देशन दिएको छ। अन्य देशमा कम्पनीहरूले प्रोक्सी सल्लाहकारको प्रतिवेदनमा भएका गम्भीर तथ्यगत गल्तीहरू सच्याउने मौका समेत पाउँदैनन्।

४. विश्लेषकहरूको योग्यताको अभाव र एआई (AI) को अन्धधुन्ध प्रयोग :
अर्बौं डलरको मतदान प्रभावित पार्ने विश्लेषकहरूको शैक्षिक र व्यावसायिक योग्यता के हुनुपर्छ भन्ने मापदण्ड भारत (सेबी) बाहेक कतै पनि तोकिएको छैन। पछिल्लो समय खर्च घटाउन प्रोक्सी सल्लाहकारहरूले एआई (कृत्रिम बौद्धिकता) मार्फत स्वचालित भोटिङ सिफारिस गर्न थालेका छन्। जेपी मोर्गनजस्ता ठूला कम्पनीले आफ्नै एआई 'Proxy IQ' बनाएका छन्। तर, मानवीय विवेक र निगरानीविना एआईले गर्ने यस्ता सिफारिसले बजारमा झन् ठूलो दुर्घटना निम्त्याउने चेतावनी ओईसीडीले दिएको छ।

नेपालको शेयर बजारका लागि पूर्वचेतावनी र शिक्षा

नेपालको पूँजी बजारमा अहिले करिब ८१ लाख डिम्याट खाता र ३५ लाखभन्दा बढी अनलाइन (TMS) कारोबारी छन्। तर, बजारको कुल कारोबारमा ९८ देखि ९९ प्रतिशत हिस्सा व्यक्तिगत (खुद्रा) लगानीकर्ताकै छ भने संस्थागत लगानीकर्ताको हिस्सा जम्मा १ देखि २ प्रतिशत मात्र छ।

नेपालमा अहिले साधारण सभाहरू प्रायः औपचारिकता, भत्ता र उपहारमै सीमित हुने गरेका छन्। प्रवर्द्धकहरूले जे प्रस्ताव ल्याए पनि ताली बजाएर पास हुने संस्कृति छ। तर, सधैँ यस्तो अवस्था रहिरहने छैन। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अघि सारेको 'संस्थागत लगानीकर्ता नीति २०८३' कार्यान्वयनमा आएपछि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डहरूको दोस्रो बजारमा शेयर स्वामित्व र उपस्थिति तीव्र गतिमा बढ्नेछ।

जब नेपाली संस्थागत लगानीकर्ताहरूले सयौँ कम्पनीमा खर्बौंको शेयर लगानी गर्नेछन्, तब उनीहरूलाई पनि साधारण सभामा मतदान गर्नका लागि व्यावसायिक 'प्रोक्सी सल्लाहकार' को आवश्यकता पर्नेछ।

ओईसीडीको यो प्रतिवेदनले नेपालजस्ता उदीयमान बजारका लागि स्पष्ट सन्देश दिएको छ— बजारमा विकृति भित्रिएपछि मात्र नियमन खोज्नुभन्दा संस्थागत लगानीकर्ताको विकाससँगै प्रोक्सी सल्लाहकारको नियमन, दर्ता प्रक्रिया, स्वार्थको द्वन्द्व रोकथाम र पारदर्शितासम्बन्धी कानुनी प्रबन्ध अहिलेदेखि नै गर्नुपर्छ। 

तल हेर्नुहोस् ‘इन्स्टिच्युसनल इन्भेस्टर्स एन्ड क्यापिटल मार्केट सर्भिस प्रोभाइडर्स इन एसिया’ (२०२६)