नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट अर्याललाई पक्राउ गरेको थियो। पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले शुक्रबार उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो।
सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल संलग्न रहेको आरोप छ।
प्रहरीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ।
उक्त रकम विदेश पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत अर्यालको भूमिका रहेको प्रहरीको आरोप छ।
सीआईबीले २०८३ मंसिर २ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीको आरोपअनुसार अनुसन्धान अघि बढिरहेको भए पनि अर्यालमाथि लागेको आरोप अदालतबाट पुष्टि हुन बाँकी छ।