डिसेम्बर पहिलो हप्ताभित्र तीन नयाँ एसयूभी सार्वजनिक हुँदै, टोयोटा फर्च्युनरदेखि होन्डा अल्फासम्म

Nov 28, 2026 10:48 AM Merolagani



भारतीय अटोमोबाइल बजारका लागि डिसेम्बर महिना विशेष हुने भएको छ । डिसेम्बरको पहिलो सातामै तीन ठूला एसयूभी सार्वजनिक हुने तयारीमा छन् । 

यसमा टोयोटाको नयाँ पुस्ताको फर्च्युनर, होन्डाको अल्फा विद्युतीय एसयूभी र जेएसडब्ल्यूको कम्ब्याट प्लगइन हाइब्रिड एसयूभी रहेका छन् ।

यी तीनवटै गाडीको डिजाइन, प्रविधि र पावरट्रेनबारे कम्पनीहरूले सबै विवरण सार्वजनिक गरिसकेका छैनन् । यद्यपि, सार्वजनिक भएका टिजर, तस्बिर तथा प्रारम्भिक विवरणका आधारमा यी एसयूभीबारे केही महत्त्वपूर्ण जानकारी बाहिर आएका छन् ।

१. नयाँ पुस्ताको टोयोटा फर्च्युनर

टोयोटाले नयाँ पुस्ताको फर्च्युनर आगामी डिसेम्बर १ मा दक्षिण अफ्रिकामा विश्व बजारका लागि सार्वजनिक गर्ने तयारी गरेको छ । यसको भारतीय बजारमा भने सन् २०२७ मा बिक्री सुरु हुने अनुमान गरिएको छ ।

सार्वजनिक भएका परीक्षणका क्रममा खिचिएका तस्बिरले नयाँ फर्च्युनरमा टोयोटाको नयाँ हाइलक्स पिकअपबाट प्रभावित डिजाइन प्रयोग हुने संकेत गरेका छन् । यद्यपि, यसको परम्परागत बडी डिजाइन र बलियो बनावटलाई भने निरन्तरता दिइने अपेक्षा गरिएको छ । विशेषगरी अगाडिको भागमा उल्लेख्य कस्मेटिक परिवर्तन देख्न सकिनेछ ।

नयाँ फर्च्युनरको इन्टेरियरमा पनि परिमार्जन हुने सम्भावना छ । यसमा नयाँ डिजाइनको ड्यासबोर्ड, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र पूर्ण डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध हुन सक्नेछन् । त्यस्तै, नयाँ कनेक्टिभिटी सुविधा र टोयोटा सेफ्टी सेन्सअन्तर्गतका एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) प्रविधि पनि थपिने अपेक्षा गरिएको छ ।

यान्त्रिक पक्षमा भने ठूलो परिवर्तन नहुने अनुमान छ । नयाँ फर्च्युनरमा हालकै पुस्तामा उपलब्ध २.८ लिटर डिजेल, २.८ लिटर डिजेल माइल्ड हाइब्रिड र २.७ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनका विकल्प निरन्तर रहने सम्भावना छ । गियरबक्स र ड्राइभट्रेनका विकल्प पनि यथावत् रहने अपेक्षा गरिएको छ ।

२. होन्डा अल्फा विद्युतीय एसयूभी

होन्डाले भारतीय बजारका लागि तयार पारेको आफ्नो पहिलो विद्युतीय एसयूभी अल्फा पनि डिसेम्बरको पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष अल्फा कन्सेप्टका रूपमा प्रदर्शन गरिएको यो विद्युतीय एसयूभी अब उत्पादनका लागि तयार संस्करणमा सार्वजनिक हुन लागेको हो ।

कम्पनीले सार्वजनिक गरेको पछिल्लो टिजरअनुसार अल्फामा बन्द ग्रिल, ग्लसी ब्ल्याक फिनिससहितको स्पोर्टी फ्रन्ट बम्पर र दुईवटा एलईडी प्रोजेक्टर हेडल्याम्प रहनेछन् । यसमा सेग्मेन्टेड एलईडी डेटाइम रनिङ लाइट (डीआरएल) पनि उपलब्ध हुनेछ ।

त्यस्तै, अगाडिको बम्परको दुवैतर्फ सिल्भर ट्रिम, तल्लो भागमा पार्किङ सेन्सर र हावाको प्रवाहका लागि एयर इन्टेकसमेत राखिनेछ ।

यसको भित्री बनावट र सुविधामा होन्डा सिटी सेडान तथा एलिभेट एसयूभीको प्रभाव देखिने अपेक्षा गरिएको छ । सार्वजनिक डिजाइन स्केचअनुसार अल्फामा ठूलो फ्रि–स्ट्यान्डिङ इन्फोटेनमेन्ट स्क्रिन, पूर्ण डिजिटल ड्राइभर डिस्प्ले र होन्डाको लोगो भएको नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल रहनेछ ।

कम्पनीले ब्याट्री तथा मोटरको आधिकारिक विवरण सार्वजनिक गरेको छैन । यद्यपि, यसमा ६५ देखि ७५ किलोवाट आवर क्षमतासम्मका ब्याट्री प्याक उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

३. जेएसडब्ल्यू कम्ब्याट प्लगइन हाइब्रिड

जेएसडब्ल्यूले आफ्नो नयाँ प्लगइन हाइब्रिड एसयूभी कम्ब्याट आगामी डिसेम्बर ३ मा भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ ।

गाडी सार्वजनिक हुनुअघि नै कम्पनीले यसको विशेष संस्करण ‘कम्ब्याट पायोनियर एडिसन’ घोषणा गरिसकेको छ । यो संस्करण पहिलो ५०० ग्राहकका लागि मात्र उपलब्ध हुनेछ । यसको बुकिङ नोभेम्बर २८ देखि सुरु हुने र सन् २०२७ को जनवरी मध्यदेखि ग्राहकलाई गाडी हस्तान्तरण गरिने कम्पनीको योजना छ । सीमित संस्करण खरिद गर्ने ग्राहकले केही विशेष सुविधा पनि पाउनेछन् ।

विश्व बजारमा विद्युतीय र प्लगइन हाइब्रिड दुवै विकल्पमा उपलब्ध जेटोर टी–२ मा आधारित कम्ब्याट भारतीय बजारमा भने प्लगइन हाइब्रिड पावरट्रेनमा मात्र उपलब्ध हुनेछ ।

यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन, दुईवटा विद्युतीय मोटर र १८.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहनेछ । उक्त एसयूभीले ब्याट्रीको शक्तिमा मात्रै करिब ९० किलोमिटरसम्म यात्रा गर्न सक्ने अनुमान गरिएको छ ।

यससँगै भारतीय एसयूभी बजारमा पेट्रोल तथा डिजेल इन्जिनसँगै विद्युतीय र हाइब्रिड प्रविधिमा आधारित नयाँ प्रतिस्पर्धा थपिने देखिएको छ । नयाँ फर्च्युनरले परम्परागत एसयूभी बजारमा आफ्नो पकड बलियो बनाउने अपेक्षा छ भने होन्डा अल्फा र जेएसडब्ल्यू कम्ब्याटले विद्युतीय तथा हाइब्रिड एसयूभी बजारमा प्रतिस्पर्धा बढाउनेछन् ।