हुण्डीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा सम्बद्ध कसुरका रूपमा समावेश गरिएपछि प्राप्त वित्तीय सूचना र प्रहरी अनुसन्धानको तथ्याङ्कलाई आधार बनाएर प्रतिवेदन तयार पारिएको हो। सरकारले २०८१ पुस १८ (२ जनवरी २०२५) मा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै मुलुकी अपराध संहिताको दफा १२५(क) तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत हुण्डीलाई सम्बद्ध कसुरका रूपमा सूचीकृत गरेको थियो।
प्रतिवेदनमा २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म एफआईयूमा प्राप्त शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन र नेपाल प्रहरीको विगत पाँच आर्थिक वर्षको अनुसन्धानसम्बन्धी तथ्याङ्क विश्लेषण गरिएको छ।
शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदनमध्ये १०.६ प्रतिशत हुण्डीसँग सम्बन्धित
एफआईयू–नेपालमा सन् २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म विभिन्न प्रकृतिका कसुरसँग सम्बन्धित कुल १५ हजार ८१५ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन (STR/SAR) प्राप्त भएका थिए। तीमध्ये १ हजार ६७२ वटा प्रतिवेदन हुण्डी कारोबारसँग सम्बन्धित रहेको प्रतिवेदनले देखाएको छ। यो कुल प्रतिवेदनको १०.५७ प्रतिशत हो।
यसले वित्तीय संस्थाहरूको निगरानी प्रणालीमा पहिचान भएका शंकास्पद गतिविधिमध्ये हुण्डीसम्बन्धी गतिविधिको हिस्सा उल्लेख्य रहेको देखाउँछ।
हुण्डीसम्बन्धी शंकास्पद गतिविधिको रिपोर्टिङमा वाणिज्य बैंकहरू सबैभन्दा अगाडि छन्। कुल रिपोर्टिङमध्ये वाणिज्य बैंकको हिस्सा ८९.८९ प्रतिशत रहेको छ। विकास बैंकको ७.१८ प्रतिशत, वित्त कम्पनीको १.६७ प्रतिशत, रेमिट्यान्स कम्पनीको ०.७८ प्रतिशत र भुक्तानी सेवा प्रदायक तथा सञ्चालकको ०.४८ प्रतिशत हिस्सा रहेको छ।
वाणिज्य बैंकहरूको रिपोर्टिङ हिस्सा उच्च हुनुको एउटा महत्त्वपूर्ण पक्ष हुण्डी सञ्जालले रकमको सङ्कलन, स्थानान्तरण र फर्स्योटका लागि औपचारिक बैंकिङ प्रणालीलाई समेत प्रयोग गरिरहेको तथ्य हो। अर्थात् हुण्डी कारोबार बैंकिङ प्रणालीभन्दा बाहिर मात्रै सञ्चालन भइरहेको छैन, बरु त्यसै प्रणालीभित्रका विभिन्न खातालाई माध्यम बनाएर रकमको स्रोत र प्रयोजन लुकाउने प्रयाससमेत भइरहेको छ।
मधेश प्रदेशमा बढी गतिविधि, २५ देखि ४४ वर्ष उमेर समूहको संलग्नता उल्लेख्य
एफआईयूले हुण्डीसँग सम्बन्धित १ हजार ६७२ वटा प्रतिवेदनमध्ये २०० वटालाई नमुनाका रूपमा छनोट गरी विस्तृत विश्लेषण गरेको थियो। उक्त नमुना विश्लेषणले हुण्डी कारोबारमा संलग्न व्यक्ति, व्यवसाय र भौगोलिक क्षेत्रबारे केही महत्त्वपूर्ण तथ्य उजागर गरेको छ।
लिङ्गका आधारमा विश्लेषण गरिएका शंकास्पद व्यक्तिमध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला रहेका छन्। उमेर समूहका हिसाबले २५ देखि ४४ वर्ष उमेरका व्यक्तिको हिस्सा ६५.५ प्रतिशत छ। यसले आर्थिक रूपमा सक्रिय युवा तथा वयस्क समूह हुण्डीसम्बन्धी गतिविधिमा बढी देखिएको सङ्केत गर्छ।
भौगोलिक रूपमा मधेश प्रदेश सबैभन्दा बढी जोखिममा देखिएको छ। विश्लेषण गरिएका व्यक्ति तथा संस्थामध्ये ५३ प्रतिशत मधेश प्रदेशमा दर्ता भएका वा बसोबास गर्ने रहेका छन्। कोशी प्रदेशको हिस्सा १६ प्रतिशत र लुम्बिनी प्रदेशको १२.५ प्रतिशत छ।
जिल्लागत रूपमा सिराहा, सप्तरी, सुनसरी, धनुषा, महोत्तरी, बारा, रौतहट, मोरङ, काठमाडौं र रूपन्देही शीर्ष १० स्थानमा छन्।
भारतसँगको करिब १ हजार ७५१ किलोमिटर खुला सिमाना, सीमावर्ती क्षेत्रमा हुने व्यापारिक गतिविधि र वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको ठूलो सङ्ख्यालाई हुण्डी कारोबार विस्तार हुने प्रमुख भौगोलिक तथा आर्थिक कारणका रूपमा प्रतिवेदनले औँल्याएको छ।
व्यवसायको प्रकृति हेर्दा खुद्रा व्यापार र रेमिट्यान्स सब–एजेन्टको भूमिका विशेष रूपमा देखिएको छ। शंकास्पद फर्ममध्ये खुद्रा व्यापारसँग सम्बन्धित ४३ प्रतिशत र रेमिट्यान्स सब–एजेन्ट ४१.५ प्रतिशत रहेका छन्। यी दुई क्षेत्रले मात्रै कुल शंकास्पद फर्मको ८४ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्।
व्यक्तिगत पेसाका आधारमा व्यापारमा संलग्न व्यक्तिको हिस्सा ५१.५ प्रतिशत छ। त्यसपछि तलबभोगी कर्मचारी १३ प्रतिशत, कृषि क्षेत्रमा संलग्न ११ प्रतिशत, विद्यार्थी ९ प्रतिशत र गृहिणी ५.५ प्रतिशत रहेका छन्।
विद्यार्थी, गृहिणी तथा न्यून आय भएका व्यक्तिका बैंक खाता पनि शंकास्पद कारोबारमा देखिनुले अरूको रकम कारोबार गर्न प्रयोग गरिने म्युल खाता (Mule Account) को जोखिमलाई उजागर गरेको छ। यस्ता खातामा वास्तविक खातावालाको नाम प्रयोग भए पनि कारोबारको नियन्त्रण र लाभ भने अर्कै व्यक्तिले लिने सम्भावना रहन्छ।
अर्कोतर्फ, हुण्डीसम्बन्धी शंकास्पद गतिविधिमा प्रयोग भएका करिब ४० प्रतिशत बैंक खाता खुलेको एक वर्षभित्रै शंकास्पद कारोबारमा संलग्न भएको पाइएको छ। त्यसमध्ये ९.५ प्रतिशत खाता खुलेको तीन महिनाभित्रै प्रयोग भएका थिए। सन् २०२२ यता खोलिएका खाताको हिस्सा तीन चौथाइभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
नयाँ बैंक खाता खोल्ने र त्यसलाई छिट्टै ठूलो वा असामान्य कारोबारमा प्रयोग गर्ने प्रवृत्तिले वित्तीय संस्थाहरूको ग्राहक पहिचान तथा कारोबार निगरानी प्रणाली थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।
पाँच वर्षमा १९७ अनुसन्धान, २ अर्ब ७३ करोड रुपैयाँ जफत
हुण्डी कारोबारविरुद्ध नेपाल प्रहरीको अनुसन्धान र कारबाही पनि पछिल्ला वर्षमा बढेको छ। प्रहरीको विगत पाँच आर्थिक वर्ष अर्थात् २०७८/७९ देखि २०८२/८३ को जेठसम्मको तथ्याङ्कले हुण्डीविरुद्धको अनुसन्धान विस्तार हुँदै गएको देखाउँछ।
आर्थिक वर्ष २०७८/७९ मा हुण्डीसम्बन्धी १८ वटा अनुसन्धान सुरु भएकोमा आर्थिक वर्ष २०८१/८२ मा यस्तो सङ्ख्या बढेर ६० पुगेको छ। पाँच वर्षको अवधिमा कुल १९७ वटा अनुसन्धान सुरु भएका छन्। तीमध्ये १९० वटा मुद्दा अदालतमा दायर भएका छन् भने १०३ वटा मुद्दाको अन्तिम फैसला भएको छ।
अनुसन्धानको सङ्ख्या बढ्नुका साथै हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूको सञ्जाल पनि विस्तार हुँदै गएको सङ्केत प्रतिवेदनले गरेको छ। फैसला भएका मुद्दामा प्रतिमुद्दा संलग्न व्यक्तिको औसत सङ्ख्या आर्थिक वर्ष २०७८/७९ मा १.८६ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर ३.५३ पुगेको छ।
यसले हुण्डी कारोबार एकल व्यक्तिले मात्रै गर्ने गतिविधिभन्दा पनि धेरै व्यक्ति तथा संस्थाबीचको समन्वयमा सञ्चालन हुने सञ्जालतर्फ विकसित भइरहेको देखाउँछ।
वित्तीय क्षतिको हिसाबले पनि हुण्डीविरुद्धको अनुसन्धानबाट ठूलो परिमाणमा रकम तथा सम्पत्ति नियन्त्रणमा लिइएको छ। पाँच वर्षको अवधिमा कुल ३ अर्ब ८७ करोड २ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसैगरी ३ अर्ब ८६ करोड १३ लाख रुपैयाँ बराबरको सम्पत्ति रोक्का तथा नियन्त्रणमा लिइएको, १६ करोड ४४ लाख रुपैयाँ फ्रिज गरिएको र २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ जफत भएको प्रतिवेदनमा उल्लेख छ।
जफत भएको रकम मात्रै दाबी गरिएको कुल बिगोको करिब ७१ प्रतिशत हो। यसले हुण्डी कारोबारबाट सिर्जना भएको अवैध सम्पत्तिको पहिचान र नियन्त्रणमा अनुसन्धान निकायले उल्लेख्य प्रगति गरेको देखाउँछ।
हुण्डी कारोबारका आठ नयाँ तथा परम्परागत शैली
प्रतिवेदनले नेपालमा हुण्डी सञ्जालले रकम सङ्कलन, स्थानान्तरण र भुक्तानी फर्स्योट गर्न प्रयोग गर्ने आठ प्रमुख कार्यशैली पहिचान गरेको छ। तीमध्ये केही परम्परागत भए पनि धेरैजसो बैंकिङ तथा डिजिटल प्रविधिसँग जोडिएका छन्।
१. म्युल खाता र डिजिटल वालेटको प्रयोग
हुण्डी सञ्जालले विद्यार्थी, गृहिणी, न्यून आय भएका व्यक्ति तथा अन्य सर्वसाधारणको बैंक खाता र डिजिटल वालेट प्रयोग गरेर रकम ओसारपसार गर्ने गरेको पाइएको छ। खातावालालाई निश्चित रकम दिएर वा अन्य प्रलोभनमा पारेर उनीहरूको खातामार्फत रकम जम्मा तथा स्थानान्तरण गरिन्छ। यसबाट वास्तविक कारोबार गर्ने व्यक्तिको पहिचान लुकाउन सहज हुन्छ।
२. संरचित नगद जम्मा र कनेक्ट आईपीएसको प्रयोग
ठूलो रकमको कारोबारलाई साना–साना हिस्सामा विभाजन गरेर विभिन्न बैंक शाखा तथा खातामा जम्मा गर्ने प्रवृत्ति देखिएको छ। १० लाख रुपैयाँको कारोबार प्रतिवेदन सीमा (TTR) छल्ने उद्देश्यले १ लाखदेखि ९ लाख ९९ हजार रुपैयाँसम्मका रकम विभिन्न व्यक्तिमार्फत फरक–फरक शाखामा जम्मा गर्ने र त्यसपछि कनेक्ट आईपीएसमार्फत दर्जनौँ खातामा स्थानान्तरण गर्ने शैली पहिचान गरिएको छ।
यसरी कारोबारलाई टुक्र्याउँदा एउटै व्यक्तिले ठूलो रकम कारोबार गरेको तथ्य लुकाउन सकिन्छ।
३. मुखौटा तथा शेल कम्पनीमार्फत कारोबार
वैध व्यापारिक गतिविधिको आवरणमा स्थापना गरिएका मुखौटा कम्पनी (Front Companies) र वास्तविक आर्थिक गतिविधि नभएका शेल कम्पनी (Shell Companies) मार्फत हुण्डीको रकम परिचालन गर्ने गरिएको छ। यस्ता कम्पनीको नाममा व्यापारिक कारोबार देखाएर रकमको स्रोत र गन्तव्यलाई वैध देखाउने प्रयास गरिन्छ।
४. क्रिप्टोकरेन्सी र भर्चुअल सम्पत्तिको प्रयोग
सीमापार रकम भुक्तानी तथा फर्स्योटका लागि भर्चुअल सम्पत्तिको प्रयोग पनि बढ्दो जोखिमका रूपमा देखिएको छ। विशेषगरी अमेरिकी डलरसँग मूल्य स्थिर राख्न डिजाइन गरिएको यूएसडीटी (USDT) जस्ता स्टेबलकोइनमार्फत रकम स्थानान्तरण गर्ने सम्भावित तथा पहिचान गरिएका कार्यशैलीलाई प्रतिवेदनले समेटेको छ।
यसले परम्परागत बैंकिङ माध्यमबाट बाहिर रहेर डिजिटल सम्पत्तिमार्फत कारोबार गर्ने नयाँ चुनौती थपेको छ।
५. खुला सिमानाबाट नगद ओसारपसार
नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै नेपाली रुपैयाँ तथा भारतीय रुपैयाँ भौतिक रूपमा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने शैली पनि कायम छ। यसमा सीमावर्ती क्षेत्रमा रहेका सम्पर्क व्यक्ति तथा कारोबारीले रकम सङ्कलन र वितरणको काम गर्छन्।
६. डिजिटल समन्वय र परम्परागत नगद फर्स्योट
हुण्डी सञ्जालले ह्वाट्सएपजस्ता इन्क्रिप्टेड सञ्चार माध्यम प्रयोग गरेर कारोबारको समन्वय गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। नेपाली वा भारतीय नोटका सिरियल नम्बरको तस्बिर आदानप्रदान गरी त्यसलाई कारोबार पुष्टि गर्ने संकेतका रूपमा प्रयोग गर्ने शैलीसमेत पहिचान गरिएको छ।
यसले डिजिटल सञ्चार र भौतिक नगद भुक्तानीलाई एउटै सञ्जालमा जोडेको देखाउँछ।
७. रेमिट्यान्स सब–एजेन्टको दुरुपयोग
वैधानिक रेमिट्यान्स कम्पनीका सब–एजेन्टको आवरणमा अनौपचारिक रकम सङ्कलन तथा भुक्तानी गर्ने प्रवृत्ति पनि देखिएको छ। वास्तविक रूपमा मुख्य रेमिट्यान्स कम्पनीबाट रकम प्राप्त नभए पनि विभिन्न व्यक्तिबाट नगद सङ्कलन गरी स्थानीय स्तरमा भुक्तानी गर्ने र त्यसलाई वैधानिक रेमिट्यान्स कारोबारजस्तो देखाउने प्रयास हुन्छ।
८. सुन तस्करीसँगको सम्बन्ध
हुण्डी र सुन तस्करीबीचको सम्बन्ध पनि प्रतिवेदनको महत्त्वपूर्ण निष्कर्ष हो। विदेशमा रहेका नेपाली कामदारको विदेशी मुद्रा सम्बन्धित देशमै रोक्ने र त्यसबाट तस्करीको सुन खरिद गर्ने भुक्तानी मिलाउने शैली प्रयोग हुन सक्छ। नेपालमा सुन बिक्री भएपछि प्राप्त नेपाली रुपैयाँ भने स्थानीय स्तरमा सेवा प्रदायक, बैंक तथा अन्य वित्तीय माध्यमबाट फर्स्योट गरिन्छ।
यसरी विदेशी मुद्रा, सुन र नेपाली रुपैयाँबीचको कारोबारलाई फरक–फरक स्थानमा मिलाएर अवैध रकमको वास्तविक स्रोत लुकाउने प्रयास हुन्छ।
किन बढिरहेको छ हुण्डी कारोबार?
हुण्डी कारोबार विस्तार हुनुमा केवल कानुनी नियन्त्रण कमजोर हुनु मात्रै कारण नभएको प्रतिवेदनको विश्लेषण छ। नेपालमा विद्यमान आर्थिक तथा वित्तीय संरचनाका केही समस्याले पनि अनौपचारिक कारोबारलाई प्रोत्साहन गरिरहेका छन्।
बैंक तथा औपचारिक रेमिट्यान्स माध्यमबाट प्राप्त हुने विनिमय दर र हुण्डी कारोबारीले प्रस्ताव गर्ने दरबीचको अन्तर यसका प्रमुख कारणमध्ये एक हो। ग्राहकले बढी रकम प्राप्त गर्ने अपेक्षामा अनौपचारिक माध्यम रोज्ने अवस्था रहन्छ।
विदेशी मुद्रा सटहीसम्बन्धी कडाइ, आयातमा न्यून बीजकीकरण (Under-invoicing) गरेर भन्सार तथा राजस्व छल्ने प्रवृत्ति, नगदमा आधारित अनौपचारिक अर्थतन्त्र र खुला सिमानाले पनि हुण्डी कारोबारलाई सहज बनाएका छन्।
प्रतिवेदनले नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ५० प्रतिशत बराबरको अर्थतन्त्र अनौपचारिक नगद कारोबारसँग सम्बन्धित रहेको उल्लेख गर्दै यस्तो आर्थिक संरचनाले वित्तीय कारोबारको पारदर्शिता र निगरानीमा चुनौती थपेको औँल्याएको छ।
त्यसैगरी नेपालमा क्रिप्टोकरेन्सी तथा अनलाइन जुवामाथि प्रतिबन्ध रहे पनि यस्ता गतिविधिमा संलग्न हुनेहरूले सीमापार भुक्तानीका लागि अनौपचारिक सञ्जाल प्रयोग गर्न सक्ने अवस्था रहेको प्रतिवेदनको विश्लेषण छ।
नियन्त्रणका लागि प्रविधि र अन्तर्राष्ट्रिय सहकार्यमा जोड
हुण्डी कारोबारको स्वरूप परिवर्तन भइरहेकाले परम्परागत अनुसन्धान र नगद बरामदमा मात्रै केन्द्रित भएर यसको नियन्त्रण सम्भव नहुने एफआईयूको निष्कर्ष छ। यसका लागि वित्तीय संस्था, प्रहरी, राजस्व अनुसन्धान, भन्सार र अन्तर्राष्ट्रिय वित्तीय सूचना आदानप्रदान गर्ने निकायबीच समन्वय आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।
एफआईयू–नेपालले शंकास्पद कारोबार पहिचान गर्न प्रयोग हुने goAML प्रणालीमा हुण्डीसम्बन्धी थप उपसूचक (Sub-indicators) समावेश गर्ने योजना अघि सारेको छ। त्यस्तै, एउटै खाताको कारोबार मात्रै नभई विभिन्न व्यक्ति, बैंक खाता, कम्पनी र डिजिटल माध्यमबीचको सम्बन्ध पहिचान गर्ने नेटवर्कस्तरीय विश्लेषणलाई प्राथमिकता दिने उल्लेख छ।
अन्तर्राष्ट्रिय स्तरमा पनि सूचना आदानप्रदान विस्तार गर्ने योजना प्रतिवेदनमा समेटिएको छ। एगमन्ट समूहको सुरक्षित सूचना सञ्जाल (Egmont Secure Web) मार्फत भारत, खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान र रुसजस्ता प्रमुख आर्थिक करिडोरसँग सम्बन्धित देशहरूसँग वित्तीय सूचना आदानप्रदान बढाउने रणनीति प्रस्ताव गरिएको छ। साथै हुण्डीसम्बन्धी विश्लेषणलाई नियमित बनाउन अर्धवार्षिक प्रतिवेदन प्रकाशन गर्ने योजना पनि छ।
बैंक तथा वित्तीय संस्थाहरूलाई कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङ (AI/ML) मा आधारित कारोबार निगरानी प्रणाली विकास गर्न सुझाव दिइएको छ। डिजिटल वालेटको प्रयोगमा डिभाइस पहिचान र जिओलोकेसन ट्र्याकिङ, असामान्य कारोबारको पहिचान तथा म्युल खाताको निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने प्रतिवेदनको सुझाव छ।
अनुसन्धान निकायका हकमा नगद बरामदलाई मात्रै सफलताको आधार नबनाई डिजिटल फरेन्सिक, ब्लकचेन एनालिटिक्स र समानान्तर सम्पत्ति शुद्धीकरण अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। त्यस्तै, भन्सार तथा राजस्व निकायसँगको सहकार्यमा व्यापारिक कारोबारको वास्तविक मूल्य र भुक्तानी प्रवाह पहिचान गर्ने ट्रेड ट्रान्सपरेन्सी युनिटलाई बलियो बनाउनुपर्ने सुझाव दिइएको छ।
प्रतिबन्धभन्दा सहज औपचारिक प्रणाली आवश्यक
प्रतिवेदनको समग्र सन्देश हुण्डी नियन्त्रणका लागि कानुनी प्रतिबन्ध र प्रहरी कारबाही मात्रै पर्याप्त हुँदैन भन्ने हो। औपचारिक रेमिट्यान्स प्रणालीलाई सस्तो, छिटो, सहज र प्रतिस्पर्धी बनाउन नसकेसम्म अनौपचारिक कारोबारको माग कायम रहने जोखिम छ।
विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले कम लागतमा परिवारसम्म रकम पठाउन सक्ने व्यवस्था, विदेशी मुद्रा विनिमयमा पारदर्शिता र सीमापार व्यापारमा सहज वित्तीय सेवा उपलब्ध गराउनु आवश्यक देखिन्छ।
पाँच वर्षमा १९७ वटा अनुसन्धान, अर्बौँ रुपैयाँ बराबरको बिगो दाबी र २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी सम्पत्ति जफत हुनु हुण्डीविरुद्धको कारबाहीको उल्लेख्य परिणाम हो। तर शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदनमा देखिएको १०.५७ प्रतिशत हिस्सा, नयाँ बैंक खाताको दुरुपयोग र डिजिटल माध्यमबाट विस्तार भइरहेको सञ्जालले समस्या अझै गम्भीर रहेको देखाउँछ।
अबको चुनौती हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्नुमा मात्रै सीमित छैन। त्यसको पछाडि रहेको रकमको स्रोत, परिचालन गर्ने सञ्जाल, वास्तविक लाभग्राही र सीमापार भुक्तानीको संरचना पहिचान गर्नु अझ महत्त्वपूर्ण हुनेछ। वित्तीय प्रणालीलाई पारदर्शी बनाउँदै औपचारिक कारोबारलाई आकर्षक बनाउन सके मात्रै हुण्डीको जालो कमजोर पार्न सकिने देखिन्छ।