मासिक ६२ हजार स्मार्ट लाइसेन्स छपाइ गर्दै सुरक्षण मुद्रण केन्द्र, अहिलेसम्म कति छापिए ?

Nov 29, 2026 01:25 PM Merolagani



काभ्रेपलाञ्चोकको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रले मासिक औसत ६२ हजार क्यूआर कोडसहितका स्मार्ट चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गरिरहेको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयबाट प्राप्त विवरणका आधारमा केन्द्रले लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पठाउँदै आएको छ ।

केन्द्रका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म २ लाख ५० हजार स्मार्ट लाइसेन्स छपाइ भइसकेका छन् । यातायात व्यवस्था विभागअन्तर्गतका विभिन्न कार्यालयबाट प्राप्त तथ्यांकका आधारमा दैनिक रूपमा लाइसेन्स छपाइ भइरहेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिए ।

 

उनका अनुसार यातायात कार्यालयहरूले इमेलमार्फत पठाएको छपाइ अनुरोधअनुसार केन्द्रले लाइसेन्स उत्पादन गर्दै आएको छ । छपाइ भएको परिमाणका आधारमा सम्बन्धित कार्यालयले भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइ सुरु भएयता गत असार मसान्तसम्म केन्द्रले २७ लाख ४७ हजार थान लाइसेन्स छपाइ गरी सम्बन्धित कार्यालयमा पठाइसकेको छ । यातायात व्यवस्था विभाग र केन्द्रबीच गत वैशाख ४ गते भएको सम्झौताअनुसार सोही गुणस्तरका लाइसेन्स उत्पादन भइरहेको तिमिल्सिनाले बताए ।

विभागसँगको पहिलो चरणको सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ गरिएको थियो । त्यसपछि दोस्रो चरणमा थप १५ लाख ४७ हजार थान लाइसेन्स उत्पादन गरिएको केन्द्रले जनाएको छ । छपाइका क्रममा नयाँ आवेदनसँगै लामो समयदेखि बाँकी रहेका ब्याकलग लाइसेन्ससमेत उत्पादन गर्ने गरिएको छ ।

पहिलो चरणमा २०८२ कात्तिक १२ गते ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता भएको थियो । केन्द्रले निर्धारित समयभन्दा अगावै उक्त काम सम्पन्न गरेको थियो । दोस्रो चरणमा २०८३ वैशाख ४ गते थप १५ लाख ४७ हजार थान लाइसेन्स छपाइ गर्ने सम्झौता गरिएको थियो ।

स्मार्ट लाइसेन्सबाहेक केन्द्रले गत आर्थिक वर्षमा हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाख थान हुलाक टिकटसमेत छपाइ गरेको थियो ।

केन्द्रमा हाल नौ जना इन्जिनियर र १६ जना अन्य प्राविधिक गरी २५ जना कर्मचारी कार्यरत छन् । सीमित जनशक्तिका बीच राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर तथा सिमकार्डलगायतका सुरक्षित सामग्री छपाइ गर्ने क्षमता केन्द्रसँग रहेको छ ।

यसैबीच, केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवनको काम अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि पार्क (आईटी पार्क) निर्माणका लागि तयार पारिएका पूर्वाधार लामो समयसम्म प्रयोगविहीन रहेपछि सरकारले करिब ६ वर्षअघि उक्त संरचनालाई सुरक्षण मुद्रण केन्द्रका रूपमा रूपान्तरण गरेको थियो ।

सुरक्षण मुद्रण केन्द्रलाई सरकारी तथा संवेदनशील कागजात र सामग्री स्वदेशमै सुरक्षित रूपमा उत्पादन गर्ने महत्वपूर्ण संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।