सूचीकृत कम्पनी मात्र रहेको नेपाल टेलिकम अब दोस्रो बजारको ‘लगानीकर्ता’, शेयर कारोबार गर्न ५ ब्रोकरमा टिएमएस खाता खोल्दै

Nov 29, 2026 02:26 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सर्वाधिक पूँजीकरण भएका कम्पनीहरू मध्येको एक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) अब दोस्रो बजारमा केवल सूचीकृत कम्पनीमा मात्र सीमित नरही एक ‘संस्थागत लगानीकर्ता’ का रूपमा सक्रिय हुने भएको छ। 

दोस्रो बजारबाट शेयर, ऋणपत्र (डिबेन्चर) तथा अन्य वित्तीय औजारहरू खरिद–बिक्री गर्नका लागि टेलिकमले आफ्नो नाममा ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (TMS) खाता खोल्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। यसका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ का लागि पाँचवटा धितोपत्र दलाल (ब्रोकर) तथा स्टक डिलर कम्पनीहरूलाई सूचीकृत (Empanel) गरेको छ। टेलिकमको केन्द्रीय राजस्व विभागले मिति २०८३ मंसिर ११ गते निर्णय गर्दै छनोट भएका कम्पनीहरूलाई टेलिकमको नाममा टिएमएस खाता खोल्न सहजीकरण गरिदिन पत्राचार गरेको हो।

सूचीकृत हुने कम्पनीहरूमा नबिल स्टक डिलर लिमिटेड (दरबारमार्ग), इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४५, अनामनगर), सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४, नक्साल), कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं. ७४, बुद्धनगर) र आकाश भैरव सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६१, जावलाखेल) रहेका छन्।

यसअघि टेलिकमले गत भदौ ८ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी धितोपत्र दलाल सेवाका लागि प्रस्ताव आह्वान गरेको थियो। सो आह्वानअनुसार परेका प्रस्तावहरूलाई धितोपत्र दलाल सूचीकरण सम्बन्धी मापदण्डबमोजिम टेलिकमको मूल्याङ्कन समितिले परीक्षण गरी यी पाँच संस्थालाई सिफारिस गरेको थियो।

कम्पनीबाट लगानीकर्तामा रूपान्तरण
विगत २०६४/६५ सालमा सर्वसाधारणलाई आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएको नेपाल टेलिकमको शेयर दोस्रो बजारमा दैनिक रूपमा ठूलो परिमाणमा किनबेच हुँदै आएको छ। तर, अहिलेसम्म दोस्रो बजारमा टेलिकमको भूमिका केवल आफ्नो शेयर कारोबार हुने ‘सूचीकृत संस्था’ (Issuer) मा मात्र सीमित थियो।

अब भने टेलिकम आफैं अन्य कम्पनीहरूले जारी गरेका शेयर, बैंक तथा वित्तीय संस्थाका ऋणपत्र, सरकारी बण्ड र सामूहिक लगानी कोष (म्युचुअल फण्ड) जस्ता धितोपत्रहरू दोस्रो बजारबाट खरिद–बिक्री गर्ने क्रेता तथा सक्रिय लगानीकर्ताको भूमिकामा प्रवेश गर्न लागेको हो। टेलिकमले आफ्नै नाममा टिएमएस खाता खोल्नुले दोस्रो बजारमा उसको रणनीतिक र दीर्घकालीन उपस्थितिलाई स्पष्ट पार्छ।

अर्बौंको कोष परिचालनमा विविधीकरण
नेपाल टेलिकमसँग सञ्चित नाफा, जगेडा कोष, कर्मचारी पेन्सन तथा उपदान कोष र कल्याणकारी कोष गरी अर्बौं रुपैयाँको वित्तीय स्रोत उपलब्ध छ। हालसम्म टेलिकमले यस्तो ठूलो पूँजी प्रायः वाणिज्य बैंकहरूको मुद्दती निक्षेप (FD) तथा प्राथमिक बजारमा आउने केही सीमित ऋणपत्रहरूमा मात्र लगानी गर्दै आएको थियो।

बैंकहरूको ब्याजदरमा आउने तीव्र उतारचढावले गर्दा मुद्दती निक्षेपको प्रतिफल सधैं आकर्षक नहुने अवस्थालाई मध्यनजर गर्दै टेलिकमले आफ्नो ‘ट्रेजरी व्यवस्थापन’ (Treasury Management) लाई आधुनिक र विविधीकृत बनाउन खोजेको देखिन्छ। दोस्रो बजारमा सूचीकृत सुरक्षित ऋणपत्र, नियमित लाभांश दिने कम्पनीका शेयर र अन्य उच्च प्रतिफल दिने उपकरणहरूमा लगानी गर्दा टेलिकमको निष्क्रिय पूँजीले थप आम्दानी सिर्जना गर्ने बाटो खुल्नेछ।

पूँजी बजारमा पर्ने सकारात्मक प्रभाव
नेपाली शेयर बजार लामो समयदेखि व्यक्तिगत र साना लगानीकर्ताको मनोभावमा बढी निर्भर रहँदै आएको छ। बजारमा बलिया संस्थागत लगानीकर्ताको अभाव खड्किरहेको सन्दर्भमा नेपाल टेलिकमजस्तो विशाल सरकारी संस्थान दोस्रो बजारमा कारोबारका लागि प्रवेश गर्नुलाई पूँजी बजारका जानकारहरूले निकै सकारात्मक कदमका रूपमा लिएका छन्। टेलिकमको प्रवेशले दोस्रो बजारमा तरलता (Liquidity) बढाउन, बजारको उतारचढावलाई सन्तुलनमा राख्न र बजारको गहिराइ (Market Depth) फराकिलो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यसका साथै, टेलिकमले आफ्नो कारोबारका लागि पहिलो पटक सञ्चालनमा आएको नबिल स्टक डिलरसहित पुराना र नयाँ पुस्ताका ब्रोकर कम्पनीहरूको मिश्रण रोजेको छ। टेलिकमको पत्रअनुसार सूचीकरण सम्झौताका शर्तहरूका आधारमा कम्पनीले कुनै एक ब्रोकरमा मात्र सीमित नभई सूचीकृत भएका पाँचवटै कम्पनीहरूसँग आफ्नो स्वविवेक र सहजताका आधारमा धितोपत्र कारोबार गर्नेछ।

नेपाल टेलिकमको यो अग्रसरताले बैंक निक्षेपमा मात्र अर्बौँ रुपैयाँ थन्क्याएर राखेका अन्य ठूला सार्वजनिक संस्थान तथा कोषहरूलाई पनि औपचारिक पूँजी बजारमा संस्थागत लगानीकर्ताका रूपमा आकर्षित गर्न उत्प्रेरकको भूमिका खेल्ने देखिन्छ।