एभरेष्ट बैंकको विश्वसनीयतामा सांसदहरूले किन प्रश्न उठाए ?

Mar 13, 2019 Merolagani



बुधबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीसंगको प्रश्नोत्तर सत्रमा बोल्दै सांसदहरुले सिंहदरबार भित्रको एक नीजि बैंकको विश्वसनियतामा प्रश्न उठाएका छन् ।

सरकारी लगानीका बैंकहरुलाई सिंहदरबार प्रवेशमा रोक लगाएर विदेशी लगानीको बैंकलाई सरकारले प्रोत्साहन गरेको भन्दै सांसदहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराए । सिंहदरबार भित्र एभरेष्ट बैंकले मात्रै सेवा प्रदान गरिरहेको छ । बैंकमा पञ्जाब नेशनल बैंकको २० प्रतिशत लगानी छ ।

सांसदहरु विन्दा पाण्डे, प्रेम सुवाल, भीमबहादुर रावल, खगराज अधिकारी, अनिलकुमार झालगायतले अर्थमन्त्रीसँग सिंहदरबार भित्र सरकारी बैंक किन स्थापना नभएको तथा सबै स्थानीय तहमा कहिलेसम्म बैंक सञ्जाल विस्तार हुन्छ भनी प्रश्न गरेका थिए ।

सांसदहरुको तलब भत्ता विदेशी लगानीको बैंक मार्फत वितरण गरिने सन्दर्भ बेठिक भएको भन्दै र गोपनीयता भंग हुनसक्ने भन्दै सांसदहरुले आफ्नो तलब भत्ता सरकारी बैंक मार्फत दिने व्यवस्था मिलाउन अर्थमन्त्रीलाई आग्रह गरे ।

सांसदहरुको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री डा.युवराज खतिवडाले सिंहदरबार भित्र सरकारी बैंक खोल्न पूर्वाधार अभाव भएको बताए । सिंहदरबार परिसर भित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइसकिएको बताउँदै अर्थमन्त्री खतिवडाले पूर्वाधारको खोजी भइरहेको बताए ।

लगानी स्रोत कै कारण बैंकहरुलाई हेर्ने दृष्टीकोण फरक फरक बनाउनु उपयुक्त नभएको खतिवडाको भनाई थियो । नेपाली ऐन र कानुनको परिधिमा रहेर नेपालमा खुलेका सबै बैंक नेपाली भएको र उनीहरुको विश्वसनियतामा शंका गर्नु पर्ने अवस्था नरहेको खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले मुलुकमा सरकारी र निजी क्षेत्रका गरी दुईखाले बैंक रहे पनि ती सबै नेपाली बैंक नै हुन भन्दै सरकारले सबै बैंकलाई समान व्यवहार गर्ने बताए । बैंकमा खाता खोल्दा उपलब्ध गराएको वैयक्तिक विवरण नेपालभित्र नै सुरक्षित रहेको विश्वास दिलाउँदै डा खतिवडाले भने, “कुनै पनि खातावालाको विवरण बाहिर जाँदैन, अदालत र राष्ट्र बैंकले मात्र आवश्यक परेका खण्डमा हेर्न पाउँछ, मुलुकभित्र मात्र विवरण रहन्छ, गोपनीय हुन्छन् ।

सरकारी काम सरकारी बैंकबाटै गर्नुपर्छ भनिरहँदा सरकारी बैंकको पहुँच नपुगेको अवस्थामा निजी क्षेत्रका बैंकमा लगानी हो भन्ने पक्षलाई बुझ्न आवश्यक रहेको अर्थमन्त्रीको भनाई थियो ।

सांसदहरुले कुनै खास निकाय वा संस्थाका पदाधिकारीले आफ्नो खाता सम्बन्धित बैंकबाट सञ्चालन गर्न चाहेमा त्यहाँबाट सञ्चालन गर्न अस्पष्ट र अन्योल हुनुपर्ने अवस्था नभएको पनि प्रष्ट्याएका थिए ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।