मेची भन्सारको मुद्दा फछ्र्योटबाट तीन करोड बढी राजश्व

Jul 23, 2019 05:39 PM Merolagani

मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका मुद्दा पछ्र्यौटबाट मात्रै तीन करोड बढी राजश्व सङ्कलन गरेको छ।

कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ बाट सरी आएका १७ तथा गत आव २०७५/०७६ मा दर्ता भएका ५३२ गरी कूल ५४९ मुद्दामध्ये ५३० फछ्र्योट भएका थिए।

झापाका विभिन्न नाकाबाट अवैधरूपमा हुने चोरीका मुद्दामा निकासी भन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायवसुब्बा छत्रबहादुर आलेमगरले बताए। चोरी पैठारीमा यातायातका साधनदेखि मोटरपार्ट्स, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान रहेका छन्।

अवैध रूपमा हुने चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए।

comments powered by Disqus