नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको नेतृत्वमा गएको टोलीले सिन्धुपाल्चोक जिल्लाको राम्चे र मांखा गा.वि.स. क्षेत्रमा गएको विनासकारी पहिरोबाट भएको क्षतिको निरीक्षण गरेको छ । पहिरोको स्थलगत निरीक्षण पछि सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली सहित स्थानीय पदाधिकारीहरु तथा संचारकर्मीहरुसंग पनि महासंघले छलफल गरेको छ ।
सो अवसरमा अध्यक्ष पाण्डेले विनासकारी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुहुंदै पहिरो प्रभावितहरुको उद्धार तथा उनीहरुको उचित प्रवन्धका लागि सरकारसंग आग्रह गर्नुभयो । उहाँले पहिरो प्रभावितहरुका लागि निजी क्षेत्रका तर्फबाट उचित सहयोग हुने आश्वासन पनि दिनुभएको छ । राजमार्ग बन्द हुंदा नेपालीहरुको महान चाड वडादशैंलाई समेत ध्यानमा राखी आयात गरिएका कतिपय उपभोग्य वस्तुहरु बीच बाटोमै अड्किदा निकै ठूलो नोक्सानी भएकाले चीनसंग जोडिएको एकमात्र नाका तत्काल खुलाउन आग्रह समेत महासंघले गरेको छ ।
दैनिक २ करोड राजश्व सरकारले गुमाइरहेको, चिनिया पर्यटकहरु नेपाल भित्रने प्रमुख नाका समेत भएका कारण यसबाट पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष पाण्डेले पहिरोबाट नदी थुनिन जांदा त्यस क्षेत्रमा परेका जलविद्युत संरचना समेत क्षतिग्रस्त भई विद्युत उत्पादनमा कमी आएको र त्यसले मुलुकमा विद्युत कटौतीको मात्रा बढ्न गएको तर्फ समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष पाण्डेले अर्थतन्त्रमा पर्ने प्रभाव सकेसम्म कम गर्न सवैभन्दा पहिले त्यहा जम्मा भएको पानी घटाएर आवागमन सुचारु गर्न सरकारसंग आग्रह समेत गर्नुभयो ।
गत १६ गते आएको पहिरोबाट ठूलो जनधनको क्षति भएको र कयौं मानिसहरु अझैपनि हराई रहेका छन् । सुनकोशी नदी थुनिन गई ताल बन्न जांदा सो क्षेत्र र तल्लो तटीय क्षेत्रका बासिन्दा त्रसिद बनेका छन् । पहिरोबाट अरनिको राजमार्गको केही भाग समेत बग्न गई अहिले उक्त क्षेत्र सडक सम्पर्कबाट पूर्णरुपमा विच्छेद भएको र पहिरोका कारण विद्युत सेवा समेत अवरुद्ध भएको छ । निरीक्षण टोलीमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समिति सदस्यहरु राजेन्द्र कुमार श्रेष्ठ, रामकृष्ण प्रसाईं र महासघका महानिर्देशक डा. हेमन्त दवाडीको पनि सहभागिता रहेको महासंघले जनाएको छ ।