सरकारी सेवा उपलब्ध गराउने गरी सरकारले सार्वजनिक गर्यो नागरिक एप

Jan 15, 2021 04:18 PM Merolagani

सरकारले सम्पूर्ण सरकारी सेवा उपलब्ध गराउन नागरिक एप सार्वजनिक गरेको छ। साे एपमार्फत खासगरी सम्भव भएसम्मका सरकारी सेवाहरु घर मै बसि-बसि लिन सकिने जनाइएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नियमित पत्रकार सम्मेलन मार्फन उक्त नागरिक एप सार्वजनिक गरेका हुन्।

सरकारी सेवामा सेवाग्राहीले झन्झट व्यहोर्ने गरेको भन्दै सेवा सहजिकरणको लागी सरकारी सबै सेवालाई समेट्ने गरी नागरिक एप ल्याएको हो ।

नागरिक एपले जनताको हातहातमा सरकारी सेवा पुर्याउने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले जानकारी दिए। उनले यो एप मार्फत सरकारले लिएको डिजिटल नेपाल अवधारणलाई समेत सहयोग पुग्ने बताए।

नागरिक एपमा हाल ९ वटा सेवा समेटिएको बताइएको छ। नागरिक एपले सरकारी सेवा लिन नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट अन्त्य गर्ने बताइएको छ।

खासगरी, यो एपमा एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न सकिने भएको छ।

त्यसैगरी, नागरिक एप मार्फत आफ्नो शैक्षिक विवरण, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगाएको सेवा लिन सकिने सञ्चार मन्त्रालयले जनाएको छ।

नागरिक एपले सार्वजनिक सेवाका लागि सकेसम्म सरकारी कार्यालय जानै नपर्ने अवस्था ल्याउने सरकारले जनाएको छ । यसबाट नागरिकको समय बचत हुनुका साथै झन्झट हट्ने, खर्च जोगिने र पारदर्शिता बढाएर भ्रष्टाचार न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ।

केन्द्रदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमशः यो एपबाटै प्रदान गरिने मन्त्रालयले जनाएको छ।  एप प्रयोग गर्न आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट भने आवश्यक पर्नेछ।

comments powered by Disqus